जन्मदिनमा वृक्षारोपण

0
86

धुलाबारी | जन्मदिन मनाउने पनि सबैका आ–आफ्नै शैली हुने गर्छन् । तपाईं आफ्नो वा परिवारका सदस्यको जन्मदिन मनाउँदै आउनुभएको छ ? अथवा अरु कसैले मनाएको देख्नुभएकै होला ।

त्यो पनि नभए फलाना/ढिस्कानाले त यसरी, उसरी पो जन्मदिन मनाए अरे भनेको त पक्कै पनि सुन्नुभएको होला ।
सामान्यतया नेपाली समाजमा कसै–कसैले परिवारका सदस्यहरु भेला भई केक काट्ने, दियो बाल्ने, मिठो मसिनो खाने, अक्षता लगाई गच्छे अनुसारको दक्षिणा दिएर आर्शिवाद दिने अनि रमाइलो गरी जन्मदिन मनाउँदै आएका छन् ।
त्यस्तै कसैले जन्मदिनको उपलक्ष्यमा नातेदार, नजिकका साथीभाई, छर छिमेकी भेला गरेर विशेष पार्टी नै आयोजना गर्ने, खानपिन गर्ने, नाचगान गरेर भव्य उत्सवकै रुपमा पनि जन्मदिन मनाउने गरेका छन् ।

तर, झापा मेचीनगरका एक दम्पत्तीले भने सोमबार नितान्त फरक विधि अनुसार आफ्नी छोरीको जन्मदिन मनाएका छन् ।
यसरी समाजमा मनाउँदै आइएको चलन चल्तीको जन्मदिन मनाउने परम्परा भन्दा पृथक ढङ्गले उदाहरणिय शैलीमा छोरीको जन्मदिन मनाउने दम्पत्ती हुन्–मेचीनगर १० खयरडाँगी निवासी साङ्गे शेर्पा(गोविन) अनि रेणुका कँडेल शेर्पा ।

गत वर्ष छोरी रिनछिनले पहिलो वर्षमा पाइला टेक्दा स्थानीय टिमाई नदीको कल्भर्टमा रङ्रोगन गरी आसपासको क्षेत्रमा सरसफाई गरेर जन्मदिन मनाएको शेर्पा परिवारले यस वर्ष भने छोरी दोस्रो वर्षमा प्रवेश गर्दा छोरीका नाममा बौद्ध धार्मिक परम्परा अनुरुप पूजापाठ गरी वृक्षारोपण गरेका छन् ।

छोरीको जन्मदिनका दिन हरेक वर्ष समाजका लागि एउटा उदाहरणिय कर्म गर्ने प्रण गरेको यो परिवार यस वर्ष एका बिहानै मेचीनगर ८ स्थित नेपाल अहिँसावादी बौद्ध धर्म विश्व शान्ति चक्र संघ गुम्बा पुग्यो  र गुम्बाका सह प्रमुख लामा ज्योमो फुर्साङ डोल्मासहित गुम्बामा लामा अध्ययनरत् ५ जना विद्यार्थीले बौद्ध धार्मिक विधि अनुसार रिनछिनको सु स्वास्थ्य अनि दीर्घायुको कामनासहित मन्त्रोच्चारण गरी केहीबेर पूजापाठ गरे ।पूजापाठ सकेर प्रसाद वितरणपछि शेर्पा दम्पत्तीले गुम्बा परिसरमा अशोक जातका केही विरुवा रोपे ।

“तडक भडकरहित जन्मदिन मनाउने परम्पराको सुरुवात गरेका हौं,” गुम्बा वरिपरी आफ्नै पहलमा १ सय वटा विभिन्न जातका विरुवा रोप्ने बचन दिएका साङ्गेले भने–“बर्थडेका नाममा फजुल पैसा खर्च गर्नु भन्दा समाजका लागि केही रचनात्मक काम गर्ने धोको पूरा गर्न खोजेका मात्र हौं । ”

शेर्पा दम्पत्तीलाई विरुवा रोप्न सघाउँदै गरेका छिमेकी सन्तोष कट्टेल अनि उक्त गुम्बाका व्यवस्थापन समिति अध्यक्ष ताकेन्द्र तामाङले एउटै लयमा भने–“उहाँहरुले समाज रुपान्तरणका लागि चाल्नु भएको कदम अरुका लागि पनि मार्गदर्शक बन्नसक्छ । ”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here