झापामा १७ वटा दलले मात्र चुनाव चिन्ह पाउने

0
71

झापा | दोस्रो चरणमा जेठ ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा झापाका १७ वटा राजनीतिक दलले मात्र चुनाव चिन्ह पाउने भएका छन् । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार जिल्लामा ३१ वटा राजनीतिक दल दर्ता भएका छन् । कार्यालय प्रमुख गोपाल आचार्यका अनुसार झापा जिल्ला निर्वाचन कार्यालयमा सूचीकृत तथा व्यवस्थापिका संसद्मा प्रतिनिधित्व गरेका दलले मात्र दलको चुनाव चिन्ह प्राप्त गर्ने भएका हुन । १४ वटा दलले स्वतन्त्र उम्मेद्वारका रुपमा चिन्ह पाउने छन् ।

निर्वाचनका लागि अहिले कार्यालयले तीब्ररुपमा काम अघि बढाएको छ । ‘अहिले निर्वाचन आयोगले पठाएका मतपत्रहरु रुचुगर्ने काम भइरहेको छ ’ कार्यालय प्रमुख आचार्यले भने—‘झापाका लागि ५ लाख ८० हजार मतपत्र आएको र मुख्यः निर्वाचन अधिकृतको कार्यालयमा सम्पूर्ण मतपत्र रुजु तथा सामग्री व्यवस्थापन गर्ने काम भइरहेको छ ।’

दशवटा नगरपालिका र पाँचवटा गाउँपालिका गरी १५ वटा स्थानीय तह रहेको जिल्लामा ५ लाख १० हजार २ सय १६ जना मतदाता छन् । जिल्लामा ६ सय ३७ मतदान केन्द्र र २ सय ८३ वटा मतदानस्थल रहने छन् । सबै तहमा प्राविधिक तयारीमा जिल्ला निर्वाचन कार्यालय जुटेको आचार्यले जानकारी दिए ।

मुख्य निर्वाचन अधिकृत सुदर्शनराज पण्डेको कार्यालय जिल्ला समन्वय समिति झापा परिसरमा रहेको छ । जेठ १५ गते सम्बन्धित निर्वाचन अधिकृतहरुको कार्यालय सम्बन्धित नगर तथा गाउँपालिकामा स्थापना गरिने छ । आचार्यका अनुसार निर्वाचन अधिकृतको जिम्मेवारी यसअघि जस जस्लाई तोकिएको थियो उनीहरुले नै सम्हाल्ने तयारी छ । प्रमुख आचार्यका अनुसार निर्वाचन कार्यातालिका अनुसार जेठ १९ गते सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारी दर्ता हुने छ ।

निर्वाचन कार्यालयले २२ गते उम्मेद्वारलाई चुनाव चिन्ह वितरण गर्ने छ । ३१ गते विहान ७ देखि बेलुका ५ बजेसम्म मतदान कार्य हुने र मतदान सकिएपछि सम्बन्धित निर्वाचन अधिकृतले सोहि स्थानीय तहमा मतगणना गर्ने व्यवस्था मिलाइएको छ । जिल्लामा सवैभन्दा बढी मतदाता मेचीनगर नगरपालिकामा रहेका कारण त्यहाँको मतदान, मतगणनालगायतका कार्यमा विशेष व्यवस्था मिलाईने तयारी कार्यालयले गरेको छ । मेचीनगरमा ३६ हजार ८ सय ५७ पुरुष र ३५ हजार ९ सय ३७ महिला गरी कुल ७२ हजार ७ सय ९४ जना मतदाता रहेका छन् ।

राजनीतिक दलले चुनाव प्रचार प्रसारका क्रममा आचारसंहिता उल्लंघन गरे निर्वाचन कसुर सजाय ऐन—२०७३ अनुसार कारवाही हुने निर्वाचन कार्यालय झापाले जनाएको छ । आचारसंहिता उल्लंघन गरे २५ हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना गराउन सक्ने ऐनमा प्रष्ट रहेको कार्यालयले जनाएको छ । कार्यालयले दलले निर्वाचन अचारसंहिता उल्लंघन गरे नगरेको अनुगमनका लागि मुख्य निर्वाचन अधिकृतकै कार्यालयमा निर्वाचन आचारसंहिता अनुगमन अधिकृतको व्यवस्थासहित गोप्यरुपमा आचारसंहिता अनुगमन संयन्त्र तयार गरेको छ ।

संयन्त्र बाहेक निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालयलगायतले समेत यसको मुल्याकंन गर्ने छन् । ‘अहिले जिल्लामा राजनीतिक दलले निर्वाचन आचारसंहिता उल्लंघन गरेका निक्कै उजुरी परेका छन्’ कार्यालय प्रमुख आचार्यले भने—‘अब आचारसंहिता उल्लंघन भए नभएको हेर्नकै लागि कार्यालय बडो सक्रियतापुर्वक लाग्छ ।’ निर्वाचन आयोगले तोके अनुसारका साइजभन्दा दलले बनाएका पर्चा, पम्प्लेट, झण्डा, व्यानर फरक परे वा सार्वजनिक स्थलमा चुनाव सम्बन्धि तुल व्यानर राखे कार्यालयले आफै हटाउने छ ।

सरकारले सोमबारमात्र घोषणा गरेको कमल र बुद्घ शान्ति नगरपालिकामा वडा फेरवदल नभए चुनाव गराउन कुनै समस्या नहुने निर्वाचन कार्यालयले जनाएको छ । ‘सरकारले आयोगलाई यसबारेमा कुनै जानकारी गराएको छैन्’ कार्यालय प्रमुख आचार्यले भने—‘हामीलाई जानकारी नआएसम्म गाउँपलिकाकै ठेगानामा उनीहरुले मतदान गर्नेछन । ’

यदि आयोगले नगरपालिका घोषणा भएको जानकारी गराए पनि पुरानै मतदाता परिचय पत्र, नागरिकता वा आफ्नो परिचय खुल्ने कुनै सरकारी प्रमाणपत्रका आधारमा उनीहरुले मतदान गर्ने उनले बताए । तर, वडा विभाजन भए समस्या हुने छ । मतदाताको ठेगानामा गाउँपालिका लेखिए पनि निर्वाचित हुने पदाधिकारी चाहिँ नगरपालिकाका हुने आचार्यले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here