निर्वाचन अधिकृतका कार्यालय सञ्चालनमा आए

0
94

झापा | दोस्रो चरणको स्थानीय तहको निर्वाचन असार ९ गते गर्न सरकारले मिति पछि सारेपनि निर्वाचन कार्यालय झापाले भने जेठ ३१ गते नै निर्वाचन गर्ने गरी तयारी तीव्र पारेको छ । निर्वाचन कार्यतालिका अनुसार सोमबार झापाका ८ वटा नगर र ७ वटा गाउँपालिकामध्ये १४ वटा स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा ल्याएको छ । जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख गोपाल आचार्यका अनुसार जिल्लामा मुख्य निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेको कार्यालय जेठ ६ गते नै झापा जिल्ला समन्वय समितिको परिसरमा स्थापना गरिसकिएको छ ।

पाण्डे जिल्ला अदालत झापाका प्रमुख न्यायाधीस हुन् । भद्रपुर नगरपालिकाको निर्वाचनको जिम्मेवारी समेत मुख्य निर्वाचन अधिकृत पाण्डेले नै सम्हाल्ने छन् । निर्वाचन सम्बन्धि दैनिक कार्य सम्पादन गर्नका लागि निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित नगर तथा गाउँपालिकामा परिसरमा स्थापना गरिएको हो । जिल्लाका सवै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेपछि निर्वाचनका लागि सवै प्रक्रिया अघि बढाउने कार्यालयले जनाएको छ । पुर्व निर्धारित कार्यक्रम अनुसार दोस्रो चरणमा चुनाव हुने स्थानीय तहमा जेठ १९ गते उम्मेद्वारी दर्ता गर्ने कार्यक्रम रहेको छ ।

कार्यालयले निर्वाचनका लागि झापाका सवै स्थानीय तहमा निर्वाचन अधिकृत खटाइसकेको बताएको छ । प्रमुख आचार्यका अनुसार मेचीनगर नगरपालिकाको निर्वाचन अधिकृतको जिम्मेवारी इन्दिरा शर्मालाई दिइएको छ । विर्तामोड नगरपालिकामा भोजराज श्रेष्ठ, कनकाई नगरपालिकामा रोशनकुमार भट्टराई, शिवसताक्षी नगरपालिकामा पंकज भुर्तेल, अर्जुनधार नगरपालिकामा राधाकृष्ण खतिवडा, गौरादह नगरपालिकामा सकुन्तला कार्की र दमक नगरपालिकामा बेदराज फूयाँललाई निर्वाचन अधिकृतको जिम्मेवारी प्रदान गरिएको कार्यालय प्रमुख आचार्यले जानकारी दिए ।

७ वटा गाउँपालिकामा प्रेमप्रसाद लुईँटेललाई कमल गाउँपालिकाको निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ भने, गौरीगञ्ज गाउँपालिकाको निर्वाचन अधिकृतको नेतृत्व भीमप्रसाद तिवारीले सम्हाल्ने छन् । बाबुराम राईले बाह्दशी गाउँपालिका, रोशनशंकर घिमिरेले झापा गाउँपालिका, इन्द्रकमल प्रधानले बुद्घ शान्ति गाउँपालिका, पदमबहादुर कार्कीले हल्दीवारी गाउँपालिका र देवीबहादुर भण्डारीले कचनकवल गाउँपालिकाको निर्वाचन अधिकृतको जिम्मेवारी पुरा गर्ने छन् ।
मुख्य निर्वाचन अधिकृतले अन्य निर्वाचन केन्द्रमा खटिएका अधिकृतसंग समेत समन्वय गर्ने छन् । निर्वाचन अधिकृतसंगै सहायक निर्वाचन अधिकृत, कम्प्युटर प्राविधिक, नायव सुब्बा, खरिदार, चालक र लेखापाल समेत गरी ६ जना कर्मचारी रहने छन् । दोस्रो चरणमा हुने निर्वाचनका लागि देशभरका जिल्लाका ४ सय ६१ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here