४०औँ प्रधानमन्त्री शेरबहादुर देउवा

0
70

झापा । व्यवस्थापिका–संसद्ले मंगलबार नेपालको ४०औँ प्रधानमन्त्रीमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई निर्वाचित गरेको छ ।

संसद्को दोस्रो बैठकमा भएको नयाँ प्रधानमन्त्री चयनको निर्वाचनमा सो पदका एक मात्र उम्मेदवार देउवाले ३८८ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनको विपक्षमा १७० मत परेको थियो । एक मात्र उम्मेदवार भए पनि प्रधानमन्त्री चयनका लागि हाल कायम सांसदको ५० प्रतिशतभन्दा बढी मत ल्याउन आवश्यक भएकाले मत विभाजन भएको हो ।

हाल संसदमा कायम कुल ५९३ सांसद रहेकामा मतदानमा ५५८ ले भाग लिएका थिए ।

माओवादी केन्द्र र नेपाली काँग्रेसका साथै राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, नेपाल लोकतान्त्रिक फोरम, सङ्घीय समाजवादी फोरम, समाजवादी जनता दल, अखण्ड नेपाल पार्टी र नेकपा संयुक्तलगायतका दलले देउवाको पक्षमा मतदान गरेका थिए । देउवाको विपक्षमा नेकपा एमाले, नेकपा माले, राष्ट्रिय जनमोर्चा, परिवार दललगायतले मतदान गरेका थिए ।

को हो हुन् शेरबहादुर देउवा ?

२००३ जेठ ३१ गते आसिग्राम–५ रुवाखोला डडेल्धुरामा जन्मिएका देउवा कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको प्रेरणाबाट राजनीतिमा  हामिएका थिए । खासगरी विसं २०१७ को राजनीतिक घटनाक्रमपछि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर रुपमा सक्रिय उनी नेपाल विद्यार्थी संघका प्रथम निर्वाचित सभापति एवम् संस्थापक सदस्य हुन् ।

त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक प्रधानमन्त्री देउवा लन्डन स्कुल अफ इकोनमिक्सका रिसर्च फेलो हुन् । उनीकी पत्नी डा आरजु राणा देउवा सांसद छिन् भने छोरा लण्डनमा अध्ययनरत छन् ।

विसं २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा डडेल्धुराबाट निर्वाचित उनी २०६४ र २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर र कैलालीबाट समेत विजयी भएका थिए ।

विसं २०४८ मा गृहमन्त्री बनेका देउवाले त्यसपछि पटकपटक गरी तीन पटकसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हाले । उनी पहिलोपटक २०५२ भदौ २६ देखि २०५३ फागुन २६ गतेसम्म प्रधानमन्त्री भए । त्यसपछि २०५८ साउन ७ गतेदेखि २०५९ असोज १८ सम्म दोस्रोपटक प्रधानमन्त्री रहे । असोज १८ मा उहाँलाई तत्कालीन राजा ज्ञानेन्द्रले उनलार्इ पदबाट बर्खास्त गरेका थिए ।

प्रधानमन्त्री देउवा २०६१ जेठ २१ गते तेस्रोपटक प्रधानमन्त्री भए । तर, राजा ज्ञानेन्द्रले प्रधानमन्त्री देउवालाई असक्षम भन्दै २०६१ माघ १९ गते पुनः पदबाट बर्खास्त गरे ।

प्रधानमन्त्री हुँदा उनले पिछडिएको भूभाग, सीमान्तकृत वर्ग, महिला, दलित, जनजाति र मधेसलाई राष्ट्रिय विकास प्रक्रियाको मूलधारमा ल्याउन कर्णाली–दलित–महिला–जनजाति–मधेस (कदमजम) को अवधारणा ल्याएका थिए । त्यस्तै उनकै पालामा विशेष वर्ग एवम् समुदायको उत्थानका लागि राष्ट्रिय महिला आयोग, आदिवासी जनजाति आयोग, दलित आयोगजस्ता विभिन्न आयोगहरू गठन भएका हुन् ।

पार्टीभित्रको कलह बढ्दै गएपछि २०५९ सालमा कांग्रेस विभाजन भई गठन भएको नेपाली कांग्रेस (प्रजातान्त्रिक)को सभापति बने । ०६४ मा कांग्रेस र कांग्रेस (प्रजातान्त्रिक)को एकतापछि उनी वरिष्ठ नेता भए ।

सन् २००८ देखि २०१२ सम्म सोसलिस्ट इन्टरनेसनलका उपाध्यक्ष रहेका उनी २०१३ देखि अन्तर्राष्ट्रिय उपाध्यक्ष छन् । प्रजातान्त्रिक आन्दोलनका क्रममा उनले पटक–पटक गरी नौ वर्ष जेलमा जीवन विताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here