वैदेशिक रोजगारीका नाममा बेचिन्छन् महिला

0
28

झापा | तीन दिनअघि उदयपुरका दुई जना महिला भारतीय भूमितिर जानलाई काँकरभिट्टामा रिक्सा चढे । शंका लागेर माइती नेपालको टोलीले रोक्यो । शुरुमा आफन्त भेट्न जान लागेको बताउने उनीहरुले विस्तारै कुरा खोले , ‘हामी काम गर्न लेवनान जान लागेका हौं ।’

Illustration: Ratna Sagar Shrestha/THT

लेवानान जान भनेर हिँडेका उनीहरुसँग झोलामा आफ्नो फेरफारे कपडाबाहेक केही थिएन । कागजात त धेरै परको कुरा, नागरिकताधरी थिएन । ‘हामीलाई विदेश पठाउने मान्छेले कागजात बोकेको छ’, उनीहरुको जवाफ हुन्थ्यो । यसरी शंकास्पद रुपमा हिँडेका उनीहरुलाई माइती नेपालले अघि बढ्न दिएन । परिवारमा बुझ्दा थाहा भयो, उनीहरु परिवारको स्वीकृतिबेगरै हिँडेका रहेछन् ।

परिवारलाई जानकारी नदिई र कुनै कागजपत्र बेगरै अवैध बाटो हुँदै हिँडेका उनीहरु साँच्चै लेवनान पुग्थे त ? उत्तर सहज छैन । किनभने, पछिल्लो समयमा मानव बेचबिखनको मुख्य माध्यम नै वैदेशिक रोजगारी नै बनेको छ । वैदेशिक रोजागरीप्रति युवायुवतीको अकर्षणबढेसंगै मानव तस्करको ठूलो गिरोह वैदेशिक रोजगारलाई आधार बनाएर त्यसैका आडमा बेचबिखनमा सक्रिय रहेको छ ।

मानव तथा चेलीबेटी बेचबिखन विरुद्घ लामो समयदेखि सक्रिय सम्बद्घ संघ सस्थाहरुका अनुसार दलालले वैदेशिक रोजगारका नाममा शुरु गरेको विदेश यात्रा पछि मानव बेचबिखनमा रुपान्तरण हुने गरेको छ । केही दिनअघि राजधानीमा श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीमा घरेलु महिला कामदार पठाउने निर्देशिकाउपर छलफल गर्न आयोजना गरेको कार्यक्रममा सहभागी वक्ताहरुले समेत वैदेशिक रोजगारमा गएकाहरु मानवबेचबिखनमा रुपान्तरण हुने घटना बढिरहेको भन्दै चिन्ता व्यक्त गरेका थिए । लामो समयदेखि मानव तथा चेलीवेटी बेचबिखन विरुद्घ काम गरिरहेको माइती नेपालका अनुसार विशेषगरि वैदेशिक रोजगारीमा जान सरकारले प्रतिबन्ध लगाएका नाकाबाट अबैध बाटो हुँदै दलालको झुठो प्रलोभनमा परी रोजगारीका लागि विदेशिएकाहरु बेचबिखनमा पर्ने गरेका छन् ।

माइती नेपाल पूर्वाञ्चल क्षेत्रीय कार्यालयका अनुसार सन् २०१६ को जनवरीदेखि नोभेम्बर ८ तारिखसम्म पूर्वी काँकरभिट्टा नाका हुँदै विदेशिन लागेका २ सय ६३ जनालाई नाकामा रोकेर आफन्तको जिम्मा लगाइएको छ । ‘यसमध्ये ६० देखि ७५ प्रतिशतलाई वैदेशिक रोजागरीका लागि भन्दै दलालले लिएर हिँडेका थिए’ कार्यालयका परामर्शदाता हेमन्ता बुढाथोकी भन्छिन्—र्‘ काँकरभिट्टा नाका भएर दलालले भारतीय भूमि हुँदै विदेश लैजाने गरेका छन् । तर, सरकारले भारतीय भूमि हुँदै महिलालाई वैदेशिक रोजगारका लागि खाडी लैजान प्रतिबन्ध गरेको छ ।’ कार्यालयले यस अवधिमा रोजगारका लागि भन्दै बेचिन पुगेका ५ जनालाई उद्घार गरेको जनाएको छ । घटनामा संलग्न धेरैलाई कानुनी कठघरामा उभ्याएको कार्यालयको भनाई छ ।

काँकरभिट्टा नाकालाई दलालले ट्रान्जिट प्वाइन्ट बनाएका छन् । त्यस्तो गतिविधिलाई नियन्त्रण र निस्तेज पार्न स्थानीय प्रहरी प्रशासन, माइती नेपाल, साना हात, विश्व सेवा विस्तार संस्थालगायतका आधा दर्जन संघ संस्था नाकामा क्रियाशील छन् । प्रहरी प्रशासन र मानव तथा चेलीबेटी बेचबिखनविरुद्घ लामो समयदेखि सक्रिय संघ संस्थाले गतिविधि निगरानी गर्नाले धेरैलाई उद्घार गर्न सफल भएको माइती नेपालका पूर्वाञ्चल क्षेत्रीय संयोजक गोविन्द घिमिरे बताउँछन् । नेपालमा बढ्दो वेरोजगारी तथा अशिक्षा र जनचेतनाको कमिलगायतका कारण दलालहरुको आर्थिक प्रलोभनमा परेर विदेशिने गरेको उनको भनाई छ । शुरुमा वैदेशिक रोजागारीका लागि भने पनि पछि दलालले विक्री गरेर हिडेँपछिमात्र धेरैजनाले आफू बेचिएको थाहा पाउने गरेको घिमिरे बताउँछन् । वैदेशिक रोजगारीको आडमा मानव तस्करी फस्टाउँदा समस्या बढ्ने गरेको छ । वैदेशिक रोजगारीमा गएका महिला जोखिममा पर्ने गरेको उनी बताउँछन् ।

घरेलु कामदारको रुपमा जाने महिलालाई रोकेर अहिलेको समस्या समाधान नहँुने बताउँदै घिमिरेले भने—‘यसले विकराल रुप लिन्छ जवसम्म महिलालाई आत्मनिर्भर र व्यवसायिक बनाइदैन तवसम्म अवैधानिक बाटो बन्द हुँदैन । यस्ता घटना भइरहन्छन् ।’ आठ महिना अघिदेखि नाकमा रहेर मानव तथा चेलीवेटी बेचबिखन विरुद्घ काम गरिरहेको विश्व सेवा विस्तार संस्थाले स्थापना भएदेखि अहिलेसम्म २ सय ९५ जनालाई नाकामा रोकेर आफन्तको जिम्मा लगाएको छ । त्यसमा ९५ प्रतिशत वैदेशिक रोजागरका लागि हिँडेका थिए । ‘अधिकाँश वैदेशिक राजगारका लागि हिँडेका बेचिएका छन् ’ संस्थाका वोर्डर इञ्चार्ज उमेश लामाले भने—‘घरेलु कामदारका लागि भन्दै विहार पुरयाएर वेचिएकी एक महिलाको भारतमा रहेका यस्तै संघ संस्था प्रहरीसंग समन्वय गरी उद्घार गरिएको घटना ताजै छ ।’

वैदेशिक रोजगारका लागि भन्दै सिन्धुपाल्चोकका दुई महिलालाई दिल्ली लिएर हिँडेकी एक महिला एजेण्टलाई संस्थाले तत्काल पक्राउ गरेको थियो । अझ घरेलु कामदारका लागि भन्दै महिलालाई खाडी मुलुक पठाउँदा धेरै ठुलो जोखिम रहेको लामाको भनाई छ । अनुसन्धानका क्रममा एजेण्ट दोषीदेखिएपछि उनी अहिले जिल्ला कारागार झापामा बन्दी जीवन विताइरहेकी लामाले बताए ।

वैदेशिक रोजगारीका नाममा मानव तस्करी बढेको तथा यसले पारिवारिक विखण्डन र बालबालिकाको भविष्यको कुनै टुङ्गो नहुने बताउँछन् मानवअधिकारकर्मी हेमकुमार खड्का । पछिल्लो समय वैदेशिक रोजगारी ऐनको दुरुपयोग भएको उनको भनाई छ । घरेलु कामदारको रुपमा जाने महिलालाई सुरक्षा प्रदान गर्न नसकेका कारण पनि यस्तो समस्या आउने गरेको छ । वैदेशिक रोजगार ऐन २०६४ मा कुनै इजाजतवाला संस्थाले कुनै कामदारसँग एउटा कम्पनिमा काम गर्न भनी करार गरी सो भन्दा कम पारिश्रमिक र सुविधा पाउने गरी वा कामको प्रकृति नै फरक पारी अर्काे कम्पनिमा काम लगाएमा वा जुन कामको लागि वैदेशिक रोजगारमा पठाएको हो सो काममा नलगाई अर्काे काममा एकलाख रुपैयाँ जरिवाना गर्ने र जति पारिश्रमिक र सुविधा कम दिएको हो सो रकम विभागले इजाजतवालाबाट कामदारलाई भराई दिने व्यवस्था गरिएको छ । तर, श्रम तथा रोजगार मन्त्रालयले दुई वर्षदेखि घरेलु कामदारको रुपमा महिलालाई वैदेशिक रोजगारीमा पठाउन रोक लगाएको छ । तर, दलालले वैदेशिक रोजगारका नाममा पठाउन भने छाडेका छैनन् ।

तपाईको प्रतिक्रिया: