जथाभावी बाटो काट्ने ३ हजार बढी यात्रु कारबाहीमा, ४ लाख २४ हजार राजस्व जम्मा

0
29

काठमाडौं | काठमाडौं उपत्यकामा मंगलबारदेखि पैदल यात्रीले जेब्राक्रसबाट मात्र बाटो काट्नुपर्ने नियम कडाइका साथ लागू भएको छ । ट्राफिक नियमविपरीत बाटो काट्ने तीन हजार ३ सय ४८ जना पैदल यात्रु एक दिनमै कारबाहीमा परेका छन् ।

जथाभावी बाटो काट्नेलाई कारबाही गर्ने पूर्वघोषणा गरेअनुरुप उनीहरुलाई कारबाही गरिएको ट्राफिक प्रहरी महाशाखाका प्रमुख नायब महानिरीक्षक मिङ्मार लामाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘कारबाहीमा परेकामध्ये दुई हजार १ सय २० जनाले दुई सय रुपैयाँका दरले जरिवाना तिरे भने बाँकी १ हजार २ सय २८ जनाले ट्राफिक प्रहरीले दिने जनचेतना कक्षामा सहभागी भए ।’

यसरी कारबाहीमा परेकाबाट ४ लाख २४ हजार रुपैयाँभन्दा बढी रकम राजस्वमा जम्मा भएको छ । जरिवाना रकम नतिर्नेलाई तीन घन्टा नियन्त्रणमा लिएर आधा घन्टाको सचेतना कक्षा दिइएको थियो ।

सडक दुर्घटनामा मृत्यु हुनेमध्ये ४२ प्रतिशत पैदल यात्रु रहेको विवरणका आधारमा त्यसलाई व्यवस्थित गर्न अभियान सुरु गरिएको उहाँको भनाइ छ ।

प्रहरीले भोलिबाट नियमित रुपमा यसलाई कार्यान्वयन गर्ने भएको छ । उहाँले भन्नुभयो, ‘सडक दुर्घटनमा मृत्यु हुने ४२ प्रतिशत पैदल यात्रु रहेका छन्, उनीहरुका कारण सवारीमा रहेका थप चालक र यात्रुको समेत मृत्यु हुन्छ । यसरी ५० प्रतिशतभन्दा बढीको मृत्युका कारण पैदल यात्रु रहेकाले त्यो घटाउने हाम्रो उद्देश्य हो ।’

ट्राफिक प्रहरीले गएको वैशाख १ गतेदेखि राजधानीमा सवारीको ‘हर्न’ बजाउन निषेध गरेको छ । राजधानीमा मात्रै वर्षेनी १ सय ५० जनाभन्दा बढीको सडक दुर्घटनामा ज्यान जान्छ । ट्राफिक प्रहरीले जेब्राक्रसबाट बाटो काट्न लागेका पैदलयात्रुलाई प्राथमिकता दिन सवारी चालकलाई पनि अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया: