‘काँग्रेस हार्न तयार छ तर देशले जित्नु पर्छ ।’ – गगन थापा

0
85

काँकरभिट्टा | स्थानीय निर्वाचन नजिकिँदै गएपछि नेपाली काँग्रेस मेचीनगरले प्रचार प्रसार अभियानलाई तिव्रता दिएको छ ।

पार्टीले शुक्रवार एकै दिन ३ जना केन्द्रीय सदस्यलाई मेचीनगरमा उतारेर चुनावी सभालाई सम्बोधन गराएको छ ।
काँकरभिट्टास्थित मिनी मार्केटमा आयोजित सभालाई केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापा र युवा नेता विश्वप्रकाश शर्माले सम्बोधन गरे ।यसैगरी धुलावारी मोेडमा आयोजित सभालाई पूर्व केन्द्रीय सदस्य एवम् पूर्व अर्थ मन्त्री डाक्टर रामशरण महतले सम्बोधन गरे ।

काँकरभिट्टामा सम्बोधन गर्दै केन्द्रीय सदस्य गगन थापाले प्रदेश नम्बर २ को निर्वाचन सारेर काँग्रेसले राष्ट्रिलाई एकिकृत बनाउने प्रयास गरेको बताए । निर्वाचन सारेको विषयलाई प्रतिपक्षि दल एमालेले गलत भ्रम फैलाएको प्रति कटाक्ष गर्दै थापाले एमालेको मधेश विरोधी उग्रवादले राष्ट्रियता बलियो नुहने बताउँदै मधेशी जनतालाई समेत स्थानीय शासन सत्तामा पहुँच पुर्याउन २ नम्बर प्रदेशको निर्वाचन पछि सारिएको दावि गरे ।

‘हामी चुनावको गणितीय हिसावमा हार्न तयार छौँ’ नेता थापाले भने–‘काँग्रेसले आफ्नो हित मात्र हेरेर अहिलेकै अवस्थामा निर्वाचन गरेको भए काँग्रेस पहिलो पार्टी बन्थ्यो । हामीले राष्ट्रिय हितलाई सर्वाेपरि ठानेर चुनाव सारेका हौँ । यसमा हाम्रो कुनै स्वार्थ लुकेको छैन ।’

निर्वाचनको प्रचारप्रसारमा झापा आइपुगेका थापाले राजपा तराई केन्द्रीत पार्टी भएको र नेकपा एमाले पहाड केन्द्रीत पार्टी भएकाले यी दुबैलाई मिलाएर अघि बड्न सकेमा मात्र देशले निकास पाउने बताउँदै उनले भने–‘काँग्रेस हार्न तयार छ तर देशले जित्नु पर्छ ।’

पूर्व स्वास्थ्य मन्त्रि समेत रहेका थापाले चाहे जुन सुकै पार्टी भए पनि सर्वप्रथम आफ्नो मतको मताधिकारको प्रयोग गर्न सम्पूर्ण मेचीनगरबासीलाई आग्रह गरे । थापाले संविधान कार्यान्वयनसँग जोडिएको स्थानीय चुनावमा मेचीननगर नगरपालिकाबाट काङ्ग्रेसलाई जिताउन आग्रह समेत गरे । उनले विभिन्न अफ्ठ्यारा परिस्थितिमा काँग्रेसले आफु हारेर पनि देशलाई जिताएको स्मरण गर्दै अबको यो चुनावमा समृद्ध नगर निर्माणका लागि काङ्ग्रेसलाई नेतृत्व प्रदान गर्न अवसर दिन जनता उर्लिएको बताए ।

मेचीनगरको चुनावमा काँग्रेसले जित हासिल गरिसकेको बताउँदै उनले अब असार १५ गतेका दिन फुल माला लिएर बस्न कार्यकर्तालाई आग्रह गरे ।

यसैगरी केन्द्रीय सदस्य तथा युवा नेता विश्वप्रकाश शर्माले मेचीनगर नगरपालिका २० वर्ष अघि जन्मिएको भए पनि अझै एसएलसी फेल गरेर बसेको विद्यार्थी जस्तै गालामा हात हालेर बसरिहेको बताए । उनले एउटा विषयमा फेल गरे त मौका परीक्षा दिलाउन पाइन्थ्यो तर भएका सबै विषय फेल गरेपछि त्यो मौका पनि छैन् । आज पनि मेचीनगर विकासको गतिमा सुस्त रहेको बताउँदै अबको नृतेत्व काङ्ग्रेसले लिने र ५ वर्षमा समृद्ध नगर बनाएरै छाड्ने प्रतिबद्धता जनाए । उनले पहिले के भयो भन्दा पनि अब कसरी आफ्नो नगरलाई राम्रो बनाउन सकिन्छ भन्नेतर्फ लाग्न मेचीनगरबासीलाई आग्रह गरे ।

सांसद उषा गुरुङले प्रमुख तथा उप प्रमुख पदमा भएका पार्टीका उम्मेदवारलाई मत दिएर आफ्नो भविष्य आफै कोर्न आग्रह गरिन् । उनले मेचीनगरका हरेक विकास निर्माणमा काङ्ग्रेसले महत्वपूर्ण योगदान गरेको बताउँदै अझ गर्न काम गर्ने मौका दिन पार्टीलाई जिताउन आग्रह गरिन् ।

चुनावी सभालाई काङ्ग्रेस जिल्ला सभापति उद्धव थापा, मेयर पदका उम्मेदवार विमल आचार्य, उपमेयरका दुर्गादेवी खतिवडा र मेचीनगर ६ का वडा अध्यक्ष ललित तामाङले सम्बोधन गरेका थिए ।

यसैगरी, धुलाबारीमा आयोजित चुनावीसभालाई पार्टीका केन्द्रीय सदस्य तथा पूर्व अर्थ मन्त्री डाक्टर रामशरण महतले सम्बोधन गर्दै देशभर काङ्ग्रेसको पक्षमा जनलहर आइरहेकाले मेचीनगरमा पनि स्थानीय निर्वाचनमा जित्ने कुरामा आफु विश्वस्त रहेको बताए । उनले देशलाई सहि दिशा दिने पार्टी काङ्ग्रेस नै भएकाले सबै जनता काङ्ग्रेसको पक्षमा मत दिनका लागि असार १४ कुरेर बसेको बताए । उनले २००७ सालदेखि हरेक आन्दोलनको नेतृत्व गर्दै देशमा शान्ति स्थापना गर्दै संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको पार्टी भएकाले जनताको भविष्य काँग्रेस भित्र रहेको बताए ।

कार्यक्रमलाई मेयरका उम्मेदवार बिमल आचार्य, उपमेयरकी उम्मेदवार दुर्गादेवी खतिवडा, वडा अध्यक्षका उम्मेदवार सुदय पनेरुलगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा केनद्रीय सदस्य विश्वप्रकाश शर्मा, सा्रसद उषा गुरुङ, पार्टीका जिल्ला उपसभापति राम कट्टेल, सचिव प्रेम सम्बाहाम्फे, कोषाध्यक्ष केशव पाण्डे, जिल्ला सदस्य भरत लिम्बू, नेता पङ्कज बिक्रम नेम्बाङ लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया: