दोस्रो चरण अन्तर्गतको स्थानीय तहको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न

0
41

झापा | दोस्रो चरण अन्तर्गतको स्थानीय तहको निर्वाचन बुधबार प्रदेश नम्बर १, ५ र ७ अन्तर्गत झापासहित ३५ वटा जिल्लाका ३ सय ३४ स्थानीय तहमा शान्तिपूर्णरुपमा सम्पन्न भएको छ ।

झण्डै २० वर्षपछि भएको दोस्रो चरणको निर्वाचनका लागि तीनवटा प्रदेशमा ६४ लाख ३२ हजार ७ सय ६५ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता सुर्यनाथ शर्माका अनुसार दोस्रो चरणमा एउटा महानगर पालिका, सातवटा उपमहानगर पालिका, १ सय ११ वटा नगरपालिका र २ सय १५ वटा गाउँपालिकामा निर्वाचन भएको हो । मतदाताले स्थानीय तह सरकार निर्माणका लागि नगरपालिकामा नगर प्रमुख/उपप्रमुख, वडाध्यक्ष प्रत्येक वडामा ४ जना सदस्य तथा गाउँपालिकामा अध्यक्ष/उपाध्यक्ष वडाध्यक्ष प्रत्येक वडामा ४ जना सदस्यका मतदान गरेका हुन् ।

प्रदेश नम्बर १ अन्तर्गत झापाका ८ नगरपालिका र ७ गाउँपालिकासहित १५ वटा स्थानीय तहका लागि
जिल्लाका कुल २ सय ८३ वटा मतदान स्थलका ६ सय ३७ मतदान केन्द्रमा निर्वाचन सफलतापूर्वक सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाले जनाएको छ । झापामा दोस्रो चरणको निर्वाचनमा ६ सय ८५पदका लागि ३ हजार ३ सय ४० जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन् ।

५ लाख १० हजार २ सय १६ जना मतदाता रहेको जिल्लामा करिव ७० प्रतिशत मत खसेको मुख्यःनिर्वाचन अधिकृत सुदर्शनराज पाण्डेले बताए । उनका अनुसार जिल्लाका सवै ठाउँका मतपेटिका सम्बन्धित स्थानीय तहसम्म ल्याइपुर्याउन समय लाग्ने भएकाले कुन—कुन नगर तथा गाउँपालिकामा कति मत खस्यो भन्ने आधिकारीक तथ्याङ्क भन्ने सक्ने अवस्था छैन् । निर्वाचन आयोगले बिहान ७ देखि अपरान्ह ५ बजेसम्म मतदानको समय तोकेको भएपनि विहानैदेखि मतदाताहरु आ—आफ्नो मतदान स्थल पुगेर लाम लागेका थिए । मतदान शुरु हुनु अघि झरी परेका कारण केही छाता ओढेर त कोही रेनकोट लगाएर मतदान गर्न आएका थिए ।

विहानैदेखि बर्षाभएपनि मतदाताहरु निक्कै उत्साहित भएर मतदान स्थल पुगेका कारण उनीहरुको २० वर्षअघिदेखि आफ्नो जनप्रतिनिधि चुन्ने धोकोलाई विहानको झरीले नरोक्न सक्यो न त दिउसोको गर्मीले । जिल्लामा पुरुष मतदाताको तुलनामा मतदान गर्नेमा महिलाको संख्या बढी छ । मतदानमा ५ दिनका सुत्केरीदेखि काजक्रियामा बसेका क्रियापुत्रीसमेत सहभागी भए । जिल्लाका विभिन्न मतदान स्थलमा ठूलो संख्यामा ज्येष्ठ नागरिकले समेत मतदान गरेका थिए । झापाको बुद्धशान्ति गाउँपालिकाको वडा नम्बर—१ को नमुना केन्द्रबाट एक सय ४ वर्षीय हरिप्रसाद वाग्लेले मतदान गरे । राणा शासनको ३७ वर्षे अनुभव लिएका उनले प्रजातन्त्र, राजतन्त्र र गणतन्त्रको समेत राम्रै अनुभव लिएका छन् । संघीयय लोकतान्त्रिक गणतन्त्रात्मक मूलक नेपालमा उनले २ वटै संविधान सभाको निर्वाचनमा पनि मताधिकारको प्रयोग गरेका थिए । यसैगरी हल्दीवारी गाउँपालिकाको सरस्वती आधारभूत विद्यालय पाराखोपी मतदान स्थलको मतदान केन्द्र ‘क’ मा ९९ वर्षीय इन्द्रबहादुर कार्कीले मतदान गरेका थिए । मेचीनगरको काँकरभिट्टा क्याम्पस मतदान स्थलमा ६ दिन र एक महिनाकी सुत्केरीसहित श्रीमानको काजक्रियामा बसेकी गुडिया थापा मगर तथा दाजुको काममा बसेका श्याम थापा, आमाको काजक्रियामा बसेका राजवंशी परिवार तथा दुर्घटनामा परी घाइते भएका देवीप्रसाद ओलीले मतदान गरेका थिए ।

मेचीनगर—४ स्थित सरस्वती मावि बाहुनडाँगी मतदान स्थलको मतदान केन्द्र ‘घ’ मा ८० वर्षीय भिक्षुले मतदान गरेकी थिइन् । मेचीनगरमा कुल ७३ दशमलव ८८ प्रतिशत मत खसेको निर्वाचन अधिकृत इन्दिरा शर्माले बताइन् । मेचीनगरमा ७२ हजार ७ सय ९४ जना मतदाता रहेपनि ५३ हजार ८ सय ८२ जनामात्र मतदानमा सहभागी भएको शर्माको भनाई थियो । मेचीनगरको मतगणना विहीबार विहानदेखि हुने बताइएको छ । २१ हजार ६ सय ८१ जना पुरुष र २२ हजार ३ सय ८० महिला तथा एकजना तेस्रो लिङ्गी सहित कुल ४४ हजार ६२ जना मतदाता रहेको शिवसताक्षी नगरपालिकामा ७० प्रतिशत मत खसेको निर्वाचन अधिकृत पंकज भुर्तेलले बताए । यो समाचार तयारपार्दासम्म सवै मतदान स्थलका मतपेटिका संकलन गर्ने क्रम जारी रहेकाले मतगणना कहिलेदेखि गर्ने भन्ने कुराको निर्णय भइ नसकेको उनले बताए । गौरादह नगरपालिकामा ७१ दशमलव ७२ प्रतिशत मत खसेको छ । निर्वाचन अधिकृत सकुन्तला कार्कीका अनुसार कुल ३५ हजार ८ सय ८८ मध्ये २६ हजार ९७ जनाले मात्र मतदान गरे । गौरादहमा विहानैदेखि निक्कै उत्साहका साथ मतदाता मतदान स्थल आइपुगेका थिए । गौरादहको मतगणना कार्य बुधबार रातिदेखि शुरु गरीने उनले बताइन् । ४६ हजार ५ सय २३ मतदाता रहेको दमक नगरपालिकामा ७० प्रतिशत मत खसेको निर्वाचन अधिकृत वेदराज फूयाँलले बताए । फूयाँलका अनुसार विहीबार बिहानदेखि मात्र मतगणना हुने छ । अर्जुनधारामा ७० देखि ७३ प्रतिशतसम्म मत खसेको छ । निर्वाचन अधिकृत राधाकृष्ण खतिवडाका अनुसार क्रियापुत्रीदेखि तेस्रो लिङ्गीसम्मले अर्जुनधाराका विभिन्न मतदान स्थलमा मतदान गरेका थिए । विहीबार विहान ८ बजेदेखि मतगणना गरीने तयारी भएको निर्वाचन अधिकृत खतिवडाले बताए ।

कचनकवल गाउँपालिकामा ७५, गौरीगञ्जमा ७६ प्रतिशत मत खसेको छ सम्बन्धित निर्वाचन अधिकृतहरुले बताएका छन् । कमल गाउँपालिकामा २० हजार ७ सय ४० मत खसेको छ । त्यहाँ कुल २९ हजार ४ सय २ मतदाता रहेका छन् । झापामा कुनै पनि अप्रिय घण्टा नभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कुनै बेला त्यस्ता घटना हुन सक्ने भन्दै जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको थियो । निर्वाचनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, तथा सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएको थियो ।

लोकतान्त्रिक जनआन्दोलनमार्फत गणतन्त्र स्थापना, संविधानसभाबाट संविधान बनेपछि नेपालकै इतिहासमा दोस्रो पटक स्थानीय तहको निर्वाचन हुन लागेको हो । पहिलो पटक बैशाख ३१ मा पहिलो चरण अन्तर्गत प्रदेश नम्बर ३, ४ र ६ का ३४ वटा जिल्लाका २ सय ८३ स्थानीय तहमा निर्वाचन सम्पन्न भएको थियो । जेठ ३१ मा दोस्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नम्बर १, २, ५ र ७ अन्तर्गत ४ सय ६१ स्थानीय तहको निर्वाचन हुने भनिएपनि २ नम्बर प्रदेशका पर्सा, बारा, रौतहट, सर्लाहि, महोत्तरी, धनुषा, सिरहा, सप्तरी आठवटा जिल्लाको स्थानीय तहको निर्वाचन तेस्रो चरणमा असोज २ गते हुने भएको छ । यसअघि २०५४ जेठ ४ र १३ गते दुई चरणमा स्थानीय निकायअन्तर्गत गाविस ,नगरपालिका र जिविसको निर्वाचन भएको थियो । त्यो बेला सम्पन्न निर्वाचनबाट निर्वाचित पदाधिकारीहरुको ५ बर्से पदावधि २०५९ असार मसान्तमा सकिएपछि स्थानीय निकाय जनप्रतिनिधिविहिन भएका थिए । जिल्ला निर्वाचन कार्यालय झापाले स्थानीय तह निर्वाचन ऐतिहासिक भएको बताएको छ ।

 

तपाईको प्रतिक्रिया: