हवल्दार दुर्गावहादुर राना, जसले मतदाता बचाउन बम टिपेर फाले

0
45

दाङ | छाँगामुनीको मतदान केन्द्र। छाँगामाथिबाट एकाएक बम खस्यो। मतदाता लाम लागेकै स्थानमा खसेको उक्त बम त्यहिँ बिष्फोटन भएको भए अवस्था के हुन्थ्यो ? यसै भन्न सकिन्नथ्यो। तर एक ‘हिम्मतवाला’ प्रहरीले उक्त बमबाट मतदाताहरुलाई सुरक्षित पारिदिए। मतदाता जोगाउने ति हिरो हुन् प्रहरी हवल्दार दुर्गावहादुर राना । उनले पुत्ताउँदै खसेको बमलाई हातले टप्प टिपेर फालिदिए , र मतदातालाई सुरक्षित पारे । उनि यो महान साहसलाई भन्छन् ‘मैले बिभागीय जिम्मेवारी पुरा गरेको मात्रै हो।’

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ अम्बास स्थित प्रतापकोट निमावि मतदान केन्द्र। उक्त मतदान केन्द्रको सुरक्षाका लागि सईको कमाण्डमा ६ जना नेपाल प्रहरी र ६ जना म्यादी गरि १२ सुरक्षाकर्मी परिचालित थिए । मतदानको सम्पूर्ण तयारी पश्चात निर्धारित समय बिहान सात बजेदेखिनै मतदान सुरु भयो । झण्डै अढाई घण्टा सम्म त्यहाँको मतदान शान्तिपूर्ण रह्यो । मतदान केन्द्रको पूर्वपट्टिको छाँगो झाडीनै झाडीले भरिएको थियो । त्यसमाथि हुस्सु लागेर डमक्कै थियो, केहि नदेखिने। साढे नौ बजेतिर त्यहि छाँगा माथिबाट ‘डल्लो चिज’ मतदाता लाम लागेकै स्थानमा खस्यो । आगो सहितको उक्त बस्तु नजिकै थिए प्रहरी हवल्दार राना,जहाँ उनले मतदाताहरुको लाईन मिलाईरहेका थिए। उनले भने ‘मैले दुईजना महिलाहरुलाई अगाडी तानेर लाईनमा लगाएको थिएँ, त्यहिबेला आगो बलिरहेको गोलो बस्तु मेरो केही मिटरको दुरीमा आएर रोकियो,ति महिलाहरुलाई त्यहाँबाट भगाएँ।’  उनले त्यो बस्तुलाई बम भन्ने बुझीहाले। तत्कालै हातले टिपेर मतदान केन्द्र भन्दा पर फालिदिए । ‘मैले त्यो बेला मेरो ज्यानको बारेमा केहि सोचेन,’उनले भने ‘आगो बलिरहेको त्यो चिज बम भन्ने थाहा पाएर तत्कालै हातले टिपेर झण्डै २५ मिटर पर फालिदिएँ ।’ उनले फालेको झण्डै पाँचै सेकेण्डमा उक्त बम जोडले पड्कीयो। बिष्फोटनबाट मानवीय तथा भौतिक क्षती केहि हुन पाएन । ‘मैले त्यो चीजलाई अरु पाँच सेकेण्ड जति नफालेको भए मतदान स्थलमै मतदाताकै बिचमा पड्कने थियो,’उनले भने ‘मेरो चलाखीले धन्न मतदाताहरुलाई केहि भएन ।’ उक्त बम सुतली बम थियो । प्रहरीका अनुसार यो बमको बिष्फोट भिडभाडमा खतरनाक रहन्छ।

मतदान स्थलमै आफ्नो नजिक आगो बल्दै खसेको बमलाई उनले आफ्नो पुरानो अभ्यास प्रयोग गरेर फालेको बताउँछन् । ‘म होप्लेस भएर,त्यो बमलाई समातेको हैन,’उनले भने ‘मैले प्रहरी सेवामा रहँदा सिकेको ज्ञानका आधारमा त्यो चिजलाई समातेर फाल्ने साहस मिलेको हो।’ उनलाई आफ्ना गुरुले तालीमका क्रममा सुतली बम केहि तत्कालै नभई केहि समय पछि पड्कने शिक्षा दिएकाले त्यो बमलाई समातेर फाल्ने हिम्मत जुटेको पनि बताए। ‘मलाई मेरो गुरुले तालीमका क्रममा सुतलीबम तत्कालै पड्कन्न,जति सक्यो चाँडो हातले समातेर फाल्न पनि सकिन्छ भन्ने सिकाउनु भएको थियो,’उनले भने ‘त्यो ज्ञानले यहाँ काम गरेको हो ।’ उक्त बम कसले फ्याँकेको एकिन भने हुन सकेको छैन।

आफ्नो ज्यानको बाजी लगाएर मतदाता जोगाएका हवल्दार रानालाई मतदाताहरुले भब्य सम्मान समेत गरे। उनि लगाएत त्यहाँ खटिएका १२ जना सुरक्षाकर्मीहरुलाई मतदाताहरुले फूलमाला, अबिरले अभिनन्दन गरेका थिए। ‘त्यहाँका मतदाताहरुले आफ्नो ज्यानको बाजी लगाएर  ज्यान जोगाईदिएको खुशीयालीमा हामीहरुलाई फूलमाला,अबिरले अभिनन्दनै गर्नुभयो,’उक्त मतदान केन्द्रका सुरक्षाको नेतृत्व लिएका प्रहरी सई गोपाल शर्माले भने ‘हामीहरु ब्यापक सम्मान खाएर फर्किएका छौँ ।’ यसैगरि त्यहाँका मतदाताहरुले गृहमन्त्री जनार्दन शर्मालाई टेलिफोन गरि प्रहरी हवल्दारको साहसका बारेमा जानकारी समेत दिए।  गृहमन्त्रीले टेलिफोनमा प्रहरी हवल्दार रानालाई पुरस्कृत गर्ने बचन समेत दिएका छन्। ‘त्यहिँका मतदाताहरुले गृहमन्त्री ज्यूलाई फोन गरेर जानकारी गराउनु भयो,’सई शर्माले भने ‘हवल्दार सापलाई पुरस्कृत गर्छु भनेर गृहमन्त्री ज्यूले बचन दिनु भएको छ।’

सल्यान शारदा नगरपालिका १ छापडाँडाका प्रहरी हवल्दार राना हाल नेपाल प्रहरी प्रधान कार्यालय काठमाडौँमा कार्यरत छन् । २०५८ सालमा नेपाल प्रहरीमा जवान पदमा भर्ना भएका थिए । प्रहरी प्रधान कार्यालयबाट उनि निर्वाचन सुरक्षाका लागि सुरुमा रौतहटमा खटिएका थिए । तर त्यहाँ निर्वाचन स्थगित भयो । उनलाई रौतहबाटै दाङ पठाईयो । ‘हामीहरु सई सापको कमाण्डमा ६८ जनाको प्रहरी जनशक्ति यहाँ खटिएका छौँ,’रानाले भने ‘रौतहटमा खटिएका हामी त्यहाँ निर्वाचन स्थगित भएपछि दाङ खटाईएका हौँ।’ उनि खटिएको निर्वाचन क्षेत्र तुलसीपुर उपमहानगरपालिकाको केहि बिकट क्षेत्र मानिन्छ।

तपाईको प्रतिक्रिया: