दुई चरणमा सम्पन्न निर्वाचनमा २८ हजार ५ सय ८२ जना जनप्रतिनिधि निर्वाचित, एमाले बन्यो पहिलो शक्ति

0
30

काठमाडौं– दोस्रो चरणमा भएको स्थानीय तह निर्वाचनको सवै परिणाम सार्वजनिक भएसँगै मुलुकका ६७ जिल्लाका ६१६ स्थानीय तहले स्थानीय जनप्रतिनिधि पाएका छन् ।

असार १४ मा सम्पन्न निर्वाचनअन्र्तगत सुनसरीको धरान उपमहानगरको परिणाम सवैभन्दा ढिला असार २६ मा आएको हो । पहिलो चरण बैशाख ३१ र दोस्रो चरण असार १४ मा भएको स्थानीय निर्वाचनमा संसदको ठुलो दल नेपाली कांग्रेस दोस्रो स्थानमा सीमित भएको छ भने संसदको दोस्रो ठूलो दल स्थानीय तहमा धेरै तह जितेर पहिलो बनेको छ । त्यस्तै संसदमा तेस्रो ठुलो स्थानमा रहेको माओवादी केन्द्र स्थानीय तहमा पनि तेस्रो स्थानमै सिमित बनेको छ ।

एमालेले पहिलो चरणमा १२५ र दोस्रो चरणमा १५१ स्थानीय तह जित्दा जम्मा २७६ स्थान जितेर पहिलो शक्ति बन्न सफल भएको हो । त्यस्तै नेपाली कांग्रेसले पहिलो चरणमा १०५ र दोस्रो चरणमा १२२ स्थान जित्दै जम्मा २२७ स्थानमात्र हात पार्न सफल भएको छ । यो निर्वाचनमा नेपाली कांग्रेसभन्दा एमालेले ४९ तह बढि जित्न सफल भएको छ ।

त्यस्तै माओवादी केन्द्रले भने कांग्रेस एमालेको तुलनामा धेरै कम अर्थात सय स्थानीय तहमा पनि जित्न सकेन । उसले पहिलो निर्वाचनमा ४६ स्थानीय तहको प्रमुख जित्न सफल भएकोमा दोस्रो स्थानीय तहमा ३८ तहमात्र आफ्नो पारेको छ । दुवै चरणको परिणाम जोड्दा माओवादीको जम्मा ८४ स्थानीय तहमामात्र उसको पक्षमा गएको छ ।

त्यस्तै पहिलो चरणको चुनावमा सहभागि नभएको फोरम लोकतान्त्रिकले दोस्रो चरणमा ६ स्थानीय तह जितेको छ भने नयाँशक्ति र संघीय समाजवादी फोरम एउटै चुनाव चिन्हबाट चुनाव लड्दा ९ स्थानमा जित हाँसिल गर्न सफल भएका छन् ।  त्यस्तै संसदमा चौथो ठुलो दलका रुपमा रहेको राप्रपाले दुवै चरणको निर्वाचनमा ५ स्थानीय तहमा मात्रै जितेको छ । राप्रपा पहिलो चरणमा एक र दोस्रो चरणमा चार स्थानीय तहको प्रमुखको पद हत्याउन सफल भएको हो ।

त्यस्तै स्थानीय चुनावमा राष्ट्रिय जनमोर्चा, नेमकिपा र स्वतन्त्र उम्मेदवारले ११ स्थान तित्न सफल भएका छन् ।

पहिलो र दोस्रो गरी मुलुकका ७४४ मध्ये ६१६ स्थानीय तहमा भएको स्थानीय तह निर्वाचनमार्फत प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र सदस्यसहित २८ हजार ५ सय ९४ जना जनप्रतिनिधि निर्वाचित हुनुपर्ने हुन्छ ।

तर पहिलो चरणमा चितनवनको भरतपुर महानगरपालिकाका दुई वडाका अध्यक्ष सहित १० जनप्रतिनिधि र  मेयर तथा  उपमेयर निर्वाचित हुन बाँकी रहँदा अहिलेसम्म २८ हजार ५ सय ८२ जना जनप्रतिनिधि निर्वाचित भएका छन् ।

तपाईको प्रतिक्रिया: