झापामा ४८ मतदानस्थल ‘अति संवेदनशील’

0
41

झापा | स्थानीय तह चुनावका लागि झापामा निर्धारण भएका २ सय ८३ मतदानस्थलमध्ये ४८ वटा केन्द्रलाई सुरक्षा निकायले ‘अति संवेदनशील’ क्षेत्रको सूचीमा राखेको छ । सुरक्षा चुनौतिको दृष्टिले जिल्लाका ती मतदानस्थलहरु ज्यादै संवेदनशील रहेको निष्कर्षमा सुरक्षा निकाय पुगेका हुन् ।

झापा प्रहरीले मतदानस्थलको संवेदनशीलताको अध्ययन गरेर मतदानस्थललाई तीन प्रकारमा वर्गीकरण गरेको छ । प्रहरीका अनुसार अति संवेदनशील, संवेदनशील र सामान्य मतदानस्थलका रुपमा वर्गीकरण गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डिएसपी हरिप्रसाद शर्माका अनुसार जिल्लामा थप ९६ वटा मतदानस्थल संवेदनशील र १ सय ३९ वटा सामान्य अवस्थाका छन् । चुनाव विरोधी गतिविधि बढी हुने र निर्वाचन बहिष्कारवादी दलको बाहुल्य रहेका क्षेत्रमा रहेका मतदानस्थललाई प्रहरीले अति संवेदनशील मतदानस्थलको रुपमा राखेको छ ।

यस्ता केन्द्र जिल्लाका उत्तरी भूभाग र सुदुर दक्षिणमा बढी छन् । खुला सीमानाका कारण आपारधिक पृष्ठभूमिका मानिसहरुको बढी जमघट र आवत जावत हुने, अनावश्यक रुपमा भीडभाड हुने क्षेत्र संवेदनशील मतदान स्थलका रुपमा राखिएको शर्माले बताए । सामान्य मतदानस्थल जिल्लामा १ सय ३९ छन् । प्रहरीले स्थानीय तह निर्वाचनको विरोधमा रहेका विभिन्न राजनीतिक दल, संघ संस्थाप्रति बढी निगरानी बढाउने जनाएको छ ।

जिल्लामा अहिले निर्वाचन विरोधी गतिविधि नभए पनि उम्मेद्वारको मनोनयन कार्यक्रमपछि यस्ता पार्टी, संघ संस्था बढी सक्रिय हुने प्रहरीको अनुमान छ । त्यस्तो समूहले उम्मेद्वार दर्ता गरेकालाई उम्मेद्वारी फिर्ता गराउन लगाउने, मौका मिले अपहरणसमेत गर्ने, डर त्रास देखाएर मानसिक दबाब दिने रणनीति बनाउने गरेको एक उच्च प्रहरी अधिकृतले बताए । त्यस्तो समूहले मौन समय शुरुभएपछि उम्मेद्वार लक्षित कार्यक्रमका गतिविधि गर्ने रणनीति बनाउन सक्ने सुरक्षा अधिकारीहरु बताउँछन् ।

स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर झापा प्रशासनले सर्वसाधारणलाई आफुसँग भएका हतियार प्रहरीलाई बुझाउन आग्रह गरे पनि धेरैले हतियार बुझाएनन् । अनि चुनावका लागि हतियार निक्कै ठुलो चुनौती भइरहेका बेला निर्वाचन बहिष्कारबादी दल थप चुनौतीका रुपमा देखिएका छन् । झापा प्रहरीले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै जिल्लाको सुरक्षा व्यवस्था पछिल्लो चरणमा कडा बनाएको छ । प्रहरीले सुरक्षा चुनौतीको पूर्व आंकलन गरेर जिल्लामा पर्याप्त सुरक्षा प्रबन्ध मिलाइसकेको, उम्मेद्वार र मतदातालाई ढुक्क भएर मत हाल्ने व्यवस्था सिर्जना गर्ने झापा प्रहरीको भनाई छ ।
प्रहरीले सुरक्षा चुनौति विश्लेषणको आधारमा सुरक्षा रणनीति कार्यान्वयनमा ल्याउने जनाएको छ ।

झापा प्रहरीले सुरक्षा चुनौतिको पूर्व आंकलन गरेर पर्याप्त सुरक्षा प्रवन्ध मिलाउने प्रहरी नायव उपरीक्षक शर्माले बताए । चुनाव विथोल्ने गतिविधिमा संलग्नलाई प्रहरीले तत्काल नियन्त्रणमा लिने छ । निर्वाचनका लागि जिल्लामा १ हजार ९ सय ५० नेपाल प्रहरी, २ हजार १ सय १४ जना म्यादी प्रहरी परिचालन हुने छन् । त्यसपछि सशस्त्र, राष्ट्रिय अनुसन्धानलगायत सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन हुने छन् । ‘जिल्लामा सुरक्षा व्यवस्था मजवुत छ ’ जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक शैलेस थापा क्षेत्रीले भने—‘चुनावका दिन आएर हरेक मतदाताले ढुक्कले मतदान गरे हुन्छ ।’
निर्वाचनमा तीन वटा सुरक्षा घेरा रहने छ ।

पहिलो रिङमा नेपाल प्रहरी बस्ने र उसले सामान्य सुरक्षा व्यवस्था प्रदान गर्ने, बुथ, मतदान स्थल, मतदातालगायत वरिपरीको सुरक्षा व्यवस्थामा निगरानी गर्ने प्रहरी उपरीक्षक क्षेत्रीले बताए । दोस्रो घेरामा सशस्त्र प्रहरी रहने छ । सशस्त्र प्रहरीले मोवाइल गस्तीलगायत विभिन्न खाले गस्ती गर्नेछ । तेस्रो घेरामा नेपाली सेना रहने बताइएको छ । निर्वाचनका बखत कुनै पनि अप्रिय घटना नहोस, मतदाताहरुलाई कसैले पनि आतंकित पार्ने कुनै पनि गतिविधि नगरुन भनेर सीमा क्षेत्रमा बढी निगरानी बढाइने प्रहरीले जनाएको छ । सीमा क्षेत्रका समकक्षीहरुसंग समेत बसेर छलफल र विभिन्न चरणमा बैठक गरिने प्रहरीले जनाएको छ । निर्वाचनका बखत बोडर क्षेत्र सील हुनेछ ।

तपाईको प्रतिक्रिया: