अझै पनि निर्वाचनबारे बेखबर छन् झापाका सीमान्तकृत समुदाय

0
42

मेचीनगर | दोस्रो चरणको निर्वाचनका लागि पटकपटक मिति परिवर्तन गर्दा झन्डै २ दशकको अन्तरालमा हुन लागेको स्थानीय तहको चुनावले गाउँबस्तीलाई खासै छुन सकेको छैन । निर्वाचन होला कि नहोला भन्ने आशड्ढा बढ्नु, उम्मेदवार चयन प्रक्रियामा गुटगत रडाको बढ्नाले उम्मेदवारको टुङ्गो लाग्न ढिलाइ हुनु, चुनावी प्रचारप्रसार सहरकेन्द्रित बन्नु लगायत कारणले गाउँका मतदाता खिन्न छन् ।

मुलुक चुनावमय बनिरहँदा झापामा मात्र बसोबास रहेको किसान र मेचे जातिलाई भने चुनावले खासै प्रभाव पार्न सकेको छैन । जनप्रतिनिधिविहीन अवस्थामा रहेको स्थानीय तहमा चुनावमार्फत कस्ता व्यक्तिलाई जिताउने भन्ने कुरो त परै जाओस् मत कसरी हाल्ने भन्ने पत्तोसम्म नै छैन अल्पसङ्ख्यक मेचे अनि सीमान्तकृत किसान समुदायका मतदातालाई । स्थानीय तह निर्वाचनका लागि मतदाता शिक्षा प्रभावकारी बनाइएको निर्वाचन आयोगले दाबी गरिरहँदा सुगम, शिक्षित अनि विकसित जिल्लाका रुपमा हेरिने झापाका मतदाता नै चुनावका मुखमा निर्वाचनबारे बेखबर छन् ।

यकिन तथ्याड्ढ नभए पनि अन्य जातिको तुलनामा न्यून जनसङ्ख्या रहेको गाउँमा बसोबास गर्दै आएका मेचे समुदाय र करिब १२ सयको हाराहारी जनसङ्ख्या ओगटेको किसान समुदायका अधिकांश मतदाता निर्वाचनबारे अनविज्ञता प्रकट गर्दैछन् । आफूहरुलाई कस्तो उम्मेदवारलाई भोट दिने र कसरी दिने भन्नेबारेमा थाहा नभएको बताउँछन् झापा धाइजनका बाबुलाल मेचे ।

मेचे समुदायको बाहुल्यता मानिने झापा मेचीनगरको धाइजन अनि किसान जातिको उल्लेख्य बसोबास रहेको धुलाबारीनजिकैको मागुरमाडीका किसानहरुमध्ये कतिपयलाई त चुनाव आउँदैछ, भोट हाल्नुपर्छ भन्ने नै थाहा छैन । जुनै जोगी आए पनि कानै चिरेको भनेझ जसलाई भोट दिए पनि नदिए पनि उस्तै हो, हाम्रा लागि कसैले केही गरेको छैन । गर्छ भन्ने आशा पनि छैन भन्छन् उनीहरु । चुनाव प्रचारका लागि आउने दलका नेता कार्यकर्ताहरुले आफो पार्टीलाई भोट नदिए पाउँदै गरेको भत्ता काटिने लगायतका डर, त्रास देखाउँदै भोट माग्ने गरेको बताउँछिन् धाइजनकी निर्मला मेचे ।

किसान समुदायमा आइलाग्ने हरेक समस्या अनि मुद्दा मामिला फर्स्याउँदै आफ्नो समुदायको नेतृत्व गर्दै आएका किसानका राजा भनेर चिनिने सुन्दर किसान किसानहरुका समस्या धेरै भए पनि गुणस्तरीय शिक्षा, स्वच्छ पिउने पानी लगायतका पक्षमा उभिने व्यक्तिलाई भोट हाल्ने बताउँछन् । तर, मतदाता शिक्षा नहुँदा भोट चाहिँ कसरी हाल्ने भन्ने विषयमा उनलाई पनि थाहा छैन ।

देश निर्वाचनमय बनिरहँदा समेत कतिपयलाई त चुनाव हुँदैछ, भोट हाल्नुपर्छ भन्ने नै जानकारी छैन । उनीहरुको बस्तीमा अहिलेसम्म न कोही भोट माग्न गएका छन् न त भोट हाल्न सिकाउन नै त्यहाँसम्म पुगेका छन् । यो समुदायका व्यक्तिले अरुले चोक, बजार, चिया गफमा मात्र चुनावको हल्लाखल्ला सुने पनि कहिले भोट दिने, कहाँ र कसरी दिनेसम्म थाहा पाएका छैनन् । भोट किन, कस्तो व्यक्तिलाई अनि कसरी हाल्ने भन्ने कुरा आफूलाई थाहा नभएको र साथीहरुले जता भोट हाल्छन् उतै हाल्ने सोचाइ बनाएकी छन् मागुरमाडीकी जिम्नी किसानले ।

देशभर चुनावलाई उत्सवका रुपमा लिइरहँदा अल्पसङ्ख्यक, पिछडावर्ग, लोपोन्मुख जातिमा सूचीकृत समुदायलाई चुनावका विषयमा सामान्य जानकारीसम्म नुहुनु विडम्बना भएको बबुलालले बताए ।

तपाईको प्रतिक्रिया: