विर्तामोडमा रिगल फर्निचर, अब नेपाली बजारमा बंगलादेशका उत्पादन

0
61

विर्तामोड । छिमेकी मुलुक बंगलादेशमा उत्पादन गरिएका फर्निचरका सामग्रीको नेपाली बजारमा बिक्री–वितरण शुरु भएको छ ।

नेपालको सुदूरपूर्वी झापा जिल्लाको व्यापारिक केन्द्र विर्तामोडमा स्थानीय व्यवसायीहरुको लगानीमा रिगल फर्निचर प्रा. लि. सञ्चालनमा आएसँगै नेपाली बजारमा बंगलादेशी फर्निचरका सामग्री बिक्री शुरु भएको हो ।

बुधबार विर्तामोडको शनिश्चरे रोडमा वैदिक मन्त्रोच्चारण गरी रिगल फर्निचरको सोरुम उद्घाटन गरियो । सञ्चालक अरबिन्दका पिता शंकरलाल अग्रवाल र नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाले संयुक्त रुपमा रिवन काटेर सोरुमको उद्घाटन गरेका हुन् ।

प्लाईउड उत्पादनमा सफलता हासिल गरिसकेका सफल उद्योगी तथा व्यवसायी अरविन्द अग्रवाल, निशान्त अग्रवाल र सुभम अग्रवालको संयुक्त लगानीमा सञ्चालनमा आएको रिगल फर्निचर प्रा. लि.ले उद्घाटनसँगै फर्निचरको थोक तथा खुद्रा बिक्री शुरु गरेको बताइएको छ ।

पहिलो पटक नेपालमा भित्र्याइएको यी फर्निचर सामग्री बंगलादेशमा स्थापित ख्यातीप्राप्त औद्योगिक प्रतिष्ठान प्रान–आरएफएल (एच्ब्ल्(च्ँी) समूहको उत्पादन हो । सन् १९८१ मा त्यहाँका उद्योगपति अमजद खान चौधरीले स्थापना गरेको प्रान–आरएफलले उत्पादन गरेका धेरै उत्पादनमध्ये फर्निचर पनि एक भएको समूहको आरएफएल निर्यातका कन्ट्री इञ्चार्ज सेख तेहरुज्जमन बताउँछन् । विश्वका १०२ देशमा रिगल फर्निचर निर्यात भइरहेको र उपभोक्ताले यी उत्पादन मन पराइरहेको उनको भनाइ छ । वुडन, एलबी र मेटल गरी तीन विधाका फर्निचर सामग्री उत्पादन भइरहेको बताउँदै उनले २१ औं शताब्दीका उपभोक्ताको चाहनालाई ध्यानमा राख्दै विभिन्न १५० किसिमका आकर्षक डिजाइनका फर्निचर उत्पादन भइरहेको जानकारी दिए ।

प्रान–आरएफएलले उत्पादन गरेका घरायसी, कार्यालयीय, हस्पिटल, रेष्टुरेन्ट, विद्यालय, आयोजनाका लागि आवश्यक सबै किसिमका फर्निचर अब विर्तामोडमै सहज रुपमा सरल मूल्यमा उपलब्ध हुने विर्तामोडस्थित रिगल फर्निचर प्रा.लि.का सञ्चालक निशान्त अग्रवालले जानकारी दिए । ‘विश्वका धेरै मुलुकमा अत्यधिक रुचाइएको बंगलादेशी फर्निचर अब नेपाली बजारमा पनि आएको छ’, निशान्त भन्छन्– ‘मध्यमवर्गीय उपभोक्तादेखि धनाढ्य वर्गसम्मका उपभोक्ताका लागि सही मूल्यमा फर्निचर उपलब्ध हुनेछ ।’ उनले फर्निचरमा एक वर्षको वारेन्टी रहनुका साथै उद्घाटनका अवसरमा साउन महिनाभरिका लागि प्रत्येक सामग्रीको मूल्यमा ५ प्रतिशत छुटको व्यवस्था गरिएको बताए ।

झापाको विर्तामोडमा विदेशी उत्पादनको आधिकारिक विक्रेताको रुपमा रिगल फर्निचर प्रालि.को स्थापनाले झापाको व्यावसायिकताको विकासमा एउटा इँटा थपिएको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाले प्रतिक्रिया दिएका छन् । ‘यो खुशीको कुरा हो’, उनले भने– ‘विस्तारै विर्तामोड प्रदेश १ कै प्रमुख व्यापारिक केन्द्र बन्ने दिशामा अघि बढेको छ ।’

तपाईको प्रतिक्रिया: