दमकमा चीनले इन्डस्ट्रियल पार्क बनाइदिने

0
48

दमकमा चीन सरकारले क्लिन इन्डस्ट्रियल पार्क बनाइदिने भएको छ । चीनले ‘वान बेल्ट वान रोड’ (ओबर) अन्तर्गत पार्क निर्माण गर्ने भएको हो । चीन भ्रमणमा रहेका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार पार्क निर्माणबारे चिनियाँ पक्षसँगको सम्झौतामा हस्ताक्षर गरेका छन् ।

दमक १० मा ५ सय बिघामा पार्क निर्माण हुने नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले जानकारी दिए । पार्कमा ओबरअन्तर्गत चीनले ३ सय अर्ब रुपैयाँ लगानी गर्ने भएको छ ।

पार्कका लागि नेपाल औद्योगिक क्षेत्र विकास लिमिटेडअन्तर्गतको दमक क्लिन इन्डस्ट्रियल पार्क प्रालिले जमिनको व्यवस्था गर्नेछ । सम्झौतामा ओबरलाई जमिन ४० वर्षका लागि लिजमा दिने उल्लेख छ । पार्कमा इलेक्ट्रोनिक, अटो मोबाइल्स, गार्मेन्ट, खाद्यान्नलगायत अन्तर्राष्ट्रिय मापदण्डका ९० उद्योग स्थापना हुने अधिकृत दाहालले बताए । पार्कभित्रै ४० प्रतिशत खुला क्षेत्र, स्कुल, बैंक, हस्पिटल, सपिङ मल, मजदुर आवाससमेत निर्माण हुनेछन् ।

पार्क निर्माणबारे आगामी साउनदेखि विस्तृत अध्ययन सुरु गर्ने चिनियाँ पक्षले जनाएको छ । चीनले विशेष गरी नेपाल, भारत, बंगलादेश र म्यानमारको बजारमा आफ्नो पहुँच विस्तार गर्न दमकमा इन्डस्ट्रियल पार्क निर्माण गर्न लागेको अधिकृत दाहालले बताए । उनका अनुसार पार्क निर्माण भए करिब एक लाखले रोजगारी पाउनेछन् । दाहालले पार्कका लागि करिब दुई सय बिघा जमिन प्राप्त भइसकेको र बाँकी तीन सय बिघा जमिन अधिग्रहण गर्नुपर्ने बताए ।

औद्योगिक पार्कका लागि हाल रतुवा खोलामा पुल निर्माणको काम भइरहेको छ । विस्तृत अध्ययनलगत्तै रतुवा खोलामा तटबन्धको काम सुरु गर्ने अधिकृत दाहालले बताए ।

साभार:ekantipur.com

तपाईको प्रतिक्रिया: