काँकरभिट्टा नाका हुँदै आलु र प्याजको आयात बर्सेनि वृद्धि

0
50

मेचीनगर |काँकरभिट्टा नाका हुँदै आलु र प्याजको आयात बर्सेनि बृद्घि भइरहेको छ । पूर्वी नाका काँकरभिट्टाबाट झण्डै चार वर्षयता आलुको निर्यात ठप्प झैँ छ । क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका सूचना अधिकृत विनयकुमार साहका अनुसार चालु आर्थिक वर्ष २०७३/२०७४ को फागुन मसान्तसम्ममा यो नाका भएर ६० करोड ४८ लाख ४० हजार रुपैयाँ मुल्य बराबरको ३० हजार २ सय ४२ मेट्रिक टन आलु आयात भइसकेको छ । बैशाख मसान्तसम्ममा ६२ करोड रुपैयाँभन्दा बढीको आलु आयात भएको छ ।

आर्थिक वर्ष २०७२/ २०७३ मा १ अर्व ११ करोड ९२ लाख रुपैयाँ मुल्य बराबरको ५५ हजार ९ सय ६० मेट्रिक टन आलु भारत, बंगलादेश, भुटानलगायतका मुलुकबाट आयात भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
आर्थिक वर्ष २०७१/२०७२ मा १ अर्व ७७ करोड ६७ लाख ५६ हजार रुपैयाँ मुल्य बराबरको ९२ हजार ७ सय १२ मेट्रिक टन आलु आयात भएको थियो ।

नेपालमा उत्पादित आलुले माग धान्न नसकेकै कारण आलुका लागि नेपाल परनिर्भर बनेको क्वारेन्टाइन अधिकारीहरु बताउँछन् । यहाँबाट भित्रिएका आलु राजधानीसहित भैरहवा, विराटनगर, बीरगञ्ज, नारायणगढ, इटहरी, धरान, दमकसहित स्थानीय बजारसम्म पुग्ने गरेको कार्यालयका प्राविधिक सहायक समेत रहेका साहको भनाई छ ।

देशमा आलु आयात प्रतिस्थापन गरी आलुमा आधारित स्वदेशी उद्योगहरूको विकासमा टेवा पुर्याउने लगायतका उद्देश्यसहित आलु बाली बिकासका लागि सरकारी स्तरबाट विभिन्न कार्यक्रम अघि सारे पनि अहिलेसम्म नेपालले विदेशी आलुमा भर पर्नु परेको छ । यसले विभिन्न बहानामा नेपालबाट बर्सेनि ठूलो रकम भारत जाने गरेको पुष्टि गर्दछ । काँकरभिट्टा नाकाबाट मात्रै एक वर्षमा अर्बौंको आलु आयात हुने गरेको छ । यसले तरकारीमा रहेको भारत निर्भरता उच्च रहेको देखाउँछ ।

यसैगरी, प्याजको आयात घटाउँदै नेपाली प्याजलाई अन्तर्राष्ट्रिय वजारमा पुर्याउनका लागि तराईका झापा, सप्तरी, बारा, रुपन्देही, कपिलवस्तु, बाँके बर्दियालगायतका जिल्लामा सरकारले प्याज विशेष मिसन ल्याएको भए पनि योजना असफल भएपछि नेपाल प्याजका लागि समेत परनिर्भर बनेको छ । वितेको तीन आर्थिक वर्षमा पूर्वी नाका भएर हुने प्याजको निर्याप्त शुन्य छ ।
आर्थिक वर्ष २०७०/७१ मा काँकरभिट्टा नाका हुँदै २६ करोड रुपैयाँभन्दा बढीका ताजा तरकारी नेपाल आयात भएको थियो । २७ प्रकारका ताजा तरकारी सबै भारतबाट आयात भएको क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको छ । आयातित तरकारी मध्ये सबैभन्दा अग्रस्थानमा प्याज नै छ । आर्थिक वर्ष २०७०/०७१ मा ११ करोड ६ लाख ८१ हजार रुपैयाँ मुल्य बराबरको चार हजार ५४ मेट्रिक टन प्याज नेपाल भित्रिएको कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्ष २०७३/२०७४ को यो अवधिमा १३ करोड ५० लाख ५५ हजार रुपैयाँ बराबरको ४ हजार ५ सय ९ मेट्रिक टन प्याज आयात भएको छ । आर्थिक वर्ष २०७२/ २०७३ मा २४ करोड ६६ लाख ६७ हजार रुपैयाँ मुल्य बराबरको ७ हजार ९ सय ५७ मेट्रिक टन प्याज आयात भएको साहले बताए । आर्थिक वर्ष २०७१/२०७२ मा १९ करोड ९९ लाख १ हजार रुपैयाँ बराबरको ६ हजार १ सय ६१ मेट्रिक टन प्याज आयात भएको कार्यालयका प्राविधिक सहायक साहाले बताए ।
प्याज विशेष कार्यक्रम प्रभावकारी बनाउन नसक्दा प्याजका लागि अर्काको भर पर्नु परेको स्थानीय जानकारहरु बताउँछन् । प्याजखेती बृद्धि न्यून रुपमा हुनु, लक्षित जमिनको हेक्टर नपुग्नु र ‘भेन्टीलेटर प्याज’ घर निर्माणका लागि सम्बन्धित सहकारी संस्थाहरुलाई आव्हान गर्दा समेत खासै चासो नदेखाउनुले पनि उत्पादनमा घटेर निर्यात बढाउन नसकिएको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया: