झापामा दूध उत्पादन बढ्यो

0
47

झापा | झापामा दूधको उत्पादन बढेको छ । जिल्लाका झण्डै दुई दर्जन नगरपालिका र गाउँपालिकाका बासीन्दाले व्यवसायिक रुपमा गाईभैसी पालेर दूध उत्पादन गर्न थालेपछि दुधको उत्पादन बढेको हो ।

विहीबार विश्व दुध दिवसको अवसरमा महारानी साना किसान सहकारी संस्था लिमिटेड झापाले महारानीझोडाममा आयोजना गरेको कार्यक्रममा झापामा बार्षिक ९३ हजार नौ मेट्रिक टन दुध उत्पादन भइरहेकोमा यसवर्ष ३ दशमलव ८ प्रतिशतले उत्पादन बढेको जिल्ला पशु सेवा कार्यालय भद्रपुरका चिकित्सक कुमारसिंह खत्रीले जानकारी दिए ।

खत्रीले मानव जीवनमा पहिलो आहारको रुपमा रहेको दुधको अव ब्याबसायिक उत्पादन हुनु पर्ने, एक जनालाई बार्षिक रुपमा ९० लिटर दुग्ध आवश्यक पर्ने तर अहिले जनही ६४ लिटर दुग्ध मात्र उपलब्ध हुने गरेको बताए ।
प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले गाईलाई घांस खुवाएर उद्घाटन गरेको कार्यक्रममा प्रजिअ खत्रीले मानव जीवनको सर्वोत्कृष्ट आहार दुधको उत्पादन बढाउनुको बिकल्प नरहेको वताए ।

कार्यक्रममा पूर्वाञ्चल क्षेत्रीय पशु निर्देशनालय विराटनगरका निर्देशक डाक्टर तेजबहादुर रिजालले दुग्धको उत्पादनसंगै गुणस्तर र मूल्यमा पनि किसानले ध्यान दिनु पर्ने कुरामा जोड दिए ।
महारानी साना किसान सहकारी संस्था लिमिटेडकी अध्यक्ष मीना ढकालको सभापतित्वमा भएको सो कार्यक्रममा जिल्ला पशु सेवा कार्यालय भद्रपुरका बरिष्ठ पशु चिकित्सक डाक्टर माधव दाहाल, एनएमसी डेरी उदोगका प्रवन्ध निर्देशक श्याम मिश्र, सहकारीकर्मी बेदनिधी चापागाईँलगायतले बोलेका थिए ।

जिल्ला पशु सेवा कार्यालय झापाको सहयोगमा जिल्लाका अधिकाँश गाउँपालिका र नगरपालिकालाई गाई तथा भैसी पकेटक्षेत्र घोषणा गरी दूध उत्पादन गरिदैं आएपछि आम्दानीमा बृद्घि भएको किसानको भनाई छ । जिल्ला दूग्ध व्यवसायीले दूग्धबाट मात्रै वार्षिक एक करोड रुपैयाँ बढी आम्दानी गर्ने गरेको जिल्ला पशु सेवा कार्यालय झापाले जनाएको छ ।
सहकारीमार्फत किसानले दूध उत्पादन गरी विक्री गरेर वार्षिक करोडौं रुपैयाँ आम्दानी गर्ने गरेका छन् । दूध उत्पादन गरेर विक्री नै नगरी घरमै प्रयोग गरे पनि दूध उत्पादनका लागि व्यावसायिक पशुपालन गर्न जिल्लामा लहरै चलेको कार्यालयको भनाई छ ।

पूर्व नेपाल बहुउद्देश्यीय सहकारी संस्था तोपगाछीले अलगै विभाग गठन गरी किसानकको दूध संङ्कलन गर्ने गरेको छ । धरमपु तोपगाछीलगायत अन्य गाविसका किसानबाट संकलित दैनिक ४ सय लिटर दूध धाइजनको ऋतिका डेरी उद्योगलाई विक्री गर्ने गरेको छ । पूर्व नेपाल कृषि तथा दूग्ध विकास केन्द्रका सदस्य यामबहादुर कट्टेलका अनुसार संस्थाले खुद्रा प्रति लिटर ५० रुपैयाँ र डेरीमा दिदाँ फ्याटका हिसावमा विक्री गर्ने गरेको छ ।

पशुसेवा कार्यालयका सूचना अधिकृत कुमारसिहं खत्रीका अनुसार शान्तिनगर, बाहुनडाँगी, बुधबारे, दुहागढी, लखनपुर , तोपगाछी गाविस र मेचीनगर, विर्तामोड, शनिअर्जुन, कनकाई, शिवसताक्षी दमकनगरपालिका गौरादहमा व्यवसायिकरुपमा पशुपालन सञ्चालन गरिएको छ । खत्रीका अनुसार बाहुनडाँगी, शनिश्चरे, बुधबारे, गरामनी, लखनपुर गाविस र विर्तामोड तथा मेचीनगरपालिकाका विभिन्न क्षेत्रलाई गाई पकेटक्षेत्र घोषणा गरेर किसानलाई दूग्ध उत्पादनका लागि कार्यालयले सहयोग गरेको छ । दूग्ध व्यवसायमा किसान आर्कषित भएपछि कार्यालयले गाइभैसी ढुवानी, घाँस औषधि, विमा, नश्ल सुधारलगायत विभिन्न कार्यक्रमहरु दिदैं आएको खत्रीको भनाई छ ।

जिल्लामा पशुसेवा कार्यालयका अनुसार जिल्लामा उत्पादन हुने दूध ८० प्रतिशत नेपाली बजार र बाकी भारतलगायतका बजारमा खपत हुने गरेको छ ।

जिल्लामा २१ वटा दूग्ध चिस्यान केन्द्र स्थापना गरेर किसानले उत्पादन गरेको दूध संकलन गरीएको अधिकृत खत्रीले बताए । जिल्लामा अहिले एनएमसी र ऋतिका २ ठुला डेरी उद्योग सञ्चालनमा रहेको खत्रीले बताए । ती डेरीले गाउँ–गाउँबाट दुध संकलन गरी बजारमा लैजाने गरेका छन् ।

किसानले शुरु शुरुमा दूधको मूल्य नपाएको र गाउँबाटै दुध लैजाने यातायातका साधन नहँुदा पर्याप्तमात्रामा दुध पठाउन नसकेको बताएका छन् । मूल्य पाएपछि किसान उत्साहित भएपनि गाउँ गाउँबाट दूध ढूवानी गर्न साधन भरपर्दा नहँुदा केहि समस्या भएको छ । दूग्ध व्यवसायी सफल देखिएपछि जिल्लाका राजनीतिक दलका नेता सञ्चारकर्मीपनि गाईभैसी पालनमा लागेका छन् ।

तपाईको प्रतिक्रिया: