राष्ट्रिय सरसफाई सप्ताह तथा वातावरण दिवस मनाउने तयारी

0
50

भद्रपुर | तीन दिनपछि शुरु हुने १८ औं राष्ट्रिय सरसफाई सप्ताह तथा ४५ औं विश्व वातावरण दिवस झापामा रचनात्मक एवम् चेतनामूलक कार्यक्रम गरी मनाइने भएको छ ।

झापा जिल्ला समन्वय समितिको सभाहलमा शुक्रबार भएको जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिको बैठकले सप्ताहभरि जिल्लाका विभिन्न स्थानमा सरसफाईलगायत खुला दिसामुक्त अभियानसम्बन्धी रचनात्मक एवम् जनचेतनामूलक कार्यक्रम गर्ने निर्णय गरेको हो । समितिका अध्यक्ष स्थानीय विकास अधिकारी खेमराज ओझाको अध्यक्षतामा सम्पन्न बैठकमा समितिमा रहेका सरोकारवाला निकायहरु र सरोकारवाला संघ–संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

समितिमा स्थानीय विकास अधिकारी अध्यक्ष, जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सदस्य सचिव र सरोकारवाला निकाय, संघ–संस्था सदस्य रहने प्रावधान छ । बैठकमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका सरसफाई एवम् खुला दिसामुक्त अभियानका सहजकर्ता रुद्रबहादुर न्यौपानेले सप्ताह अवधिभर गरिने सरसफाईका क्रियाकलापका बारे जानकारी दिएका थिए । कार्यालय प्रमुख सीताराम काफ्लेसमेतको उपस्थिति रहेको बैठकमा झापामा खुला दिसा अभियानलाई सहयोग पुर्याइरहेको अन्तराष्ट्रिय संस्था युएन ह्याविटेयाटका जिल्ला सहजकर्ता विनोदप्रसाद शर्माले अभियानको प्रगति, सरसफाईको अवस्था र अब गरिने क्रियाकलापका बारे जानकारी दिएका थिए ।

खानेपानीका सहजकर्ता न्यौपानेका अनुसार यही जेठ २२ गते सबै निकाय, संघ–संस्था, नागरिक समाजसमेतको सहभागितामा सदरमुकाम चन्द्रगढीको लेखनाथचोकदेखि ट्रेड युनियन चोक हुँदै जिल्ला प्रशासन कार्यालयसम्म सडक तथा बजार सरसफाई गर्ने र प्रशासन परिसरमा विभन्न जातका फलफूलका विरुवा रोपण गरी सरसफाई सप्ताह शुभारम्भ गरिनेछ भने २८ गते साविक लखनपुर गाविसलाई खुला दिसामुक्त गाउँ घोषण गर्दै सप्ताह कार्यक्रम समापन हुनेछ । यसबीचमा, युनएन ह्याविट्याटले आर्थिक सहयोग गरेपछि खुला दिसामुक्त अभियानमा जुटेका विराट सामुदायिक अध्ययन केन्द्र, सहारा नेपाल, मानव विकास केन्द्र र सगरमाथा सामुदायिक अध्ययन केन्द्रले विद्यालयस्तरमा, समुदायस्तरमा सरसफाई तथा खुला दिसामुक्त अभियानसम्बन्धी रचनात्मक कार्यक्रमहरु गर्ने युएन ह्याविट्याटका जिल्ला सहजकर्ता शर्माले जानकारी दिए ।

यस वर्षको राष्ट्रिय सरसफाई दिवसको नारा ‘खुला दिसामुक्त गर्नुछ २०१७ भित्र, सक्षम र जिम्मेवार छ हाम्रो नेतृत्व’ तथा विश्व वातावरण दिवसको नारा ‘प्रकृतिसँग हाम्रो सम्बन्ध, रहिरहोस् अनन्त’ भन्ने रहेको न्यौपानेले बताए ।

हात्तीको आक्रमणबाट मृत्यु

जलथल, १९ जेठ ÷ विहीबार दिउसो जंगलमा च्याउ खोज्न गएकी एक वृद्धा महिलाको हात्तीको आक्रमणबाट ज्यान गएको छ ।

हल्दीबारी—४ जलथलकी ६० वर्षीया रथि मेचे स्थानीय चौकी विरान हरियाली सामुदायिक वनमा च्याउ खोज्न गएको बेला साँझ हात्तीको आक्रमणमा परेकी थिईन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विहान ११ बजे घरबाट नजीकैको वनमा च्याउ खोज्न गएकी मेचेलाई साँझ ६ बजे हात्तीले आक्रमण गरेको हो ।

मेचेको कम्मरदेखि तलको सवै हात्तीले कुल्चिएको थियो । गाउँले उनलाई मृतदेखि पछि जलथल प्रहरी चौकीलाई खबर गरेका थिए ।

विहीबार राती नै मेचेको शव मेची अञ्चल अस्पताल भद्रपुरमा पोस्टमार्टम गरिएको थियो । शुक्रबार विहान शव आफन्तले बुझेर लगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डिएसपी हरिप्रसाद शर्माले जानकारी दिए ।
होलीबेलको बार्षिकोत्सव

धुलाबारी , १९ जेठ ÷ होलीबेल अंग्रेजी मावि धुलाबारीको १७ औ बार्षिकोत्सव शुक्रवार सम्पन्न भएको छ । पासाङ्ग ल्हामू स्मृति जेसीज भवनमा सम्पन्न कार्यक्रमको उद्घाटन जिल्ला शिक्षा कार्यलय झापाका सहायक शिक्षा जिल्ला अधिकारी उद्धव बिष्टले गरेका थिए ।

कार्यक्रममा साँस्कृतिक कार्यक्रम, चेतनामुलक नाटक , फेसन सो विभिन्न जातजातिको पहिचान झल्किने नृत्य समेत प्रस्तुत गरिएको थियो । विद्यालयका संस्थापक प्रिन्सीपल अणु प्रधानको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रम बिष्ट , मेचीनगर लेडी जेसीजकी सस्थापक अध्यक्ष कविता शर्मा, प्याप्सन जिल्ला सचिव गौरीमान फागोलगायतले बोलेका थिए । विद्यार्थीद्वय सञ्जिला श्रेष्ठ,अर्सन राउतले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक कमल नेपालले गरेका थिए ।

गोल्डकपको हिसाव सार्वजनिक

सुरुङ्गा,१९ जेठ ÷ सुरुङ्गा जेसीजले सहारा सुरुङ्गा गोल्डकप २०७३ को चौथो संस्करणको आय—व्यय विवरण सार्वजनिक गरेको छ ।
शुक्रवार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी आय—व्ययसार्वजनिक गरेको हो । गोल्ड कप आर्थिक समितिका संयोजक कुमारमणि पोखरेलले ३१ लाख ५३ हजार ९ सय ९५ वरावरको आय—व्यय विवरण सार्वजनिक गरेका थिए । प्रतियोगिता मंसिर ४ गतेदेखी ११ गते सम्म सञ्चालन भएको थियो ।

दुई वर्षदेखी आर्थिक व्ययभार वेहोर्दै आएको गोल्ड कपलाई झापा गोल्डकपसँग समन्वय गरी पर्यटनसँग जोडेर अवको पाँचौ संस्करणदेखी आर्थिक रुपले समेत सम्पन्न वनाउँने योजना रहेको जेसीजका अध्यक्ष जविन तिम्सिनाले वताए । अध्यक्ष तिम्सिनाको सभापतित्वमा भएको कार्यक्रममा शिव कडेलले धन्यवाद र महासचिव रामप्रसाद निरौलाले सञ्चालन गरेका थिए ।

एनएमसीद्वारा राहत वितरण
बिर्तामोड, १९ जेठ ÷क्यान्सरका कारण मृत्यु भएकी रामप्यारी तामाङको परिवारलाई
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) ले २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

विगत सात महिनादेखि क्यान्सरले पिडीत एनएमसी बिर्तामोड कार्यालयका सदस्य तामाङको जेठ ११ गते उनको मृत्यु भएको थियो ।

संस्थाको राहत नीति बमोजिम सदस्यको मृत्यु भएपछि निजका परिवारलाई शुक्रबार नवौँ दिनको पुण्य तिथिमा उक्त रकम उपलब्ध गराइएको थियो । एनएमसी बिर्तामोड कार्यालयगत समिति संयोजक हरिप्रसाद आचार्य, एकाइ नम्बर १० का संयोजक निलबहादुर अधिकारी, एनएमसी बिर्तामोडका कार्यालय प्रमुख कमलप्रसाद कट्टेललगायतले समवेदनासहित राहत वितरण गरेका थिए ।
दुर्घटनामा उप्रेतीको मृत्यु

शिवसताक्षी, १९ जेठ ÷ पुर्वपश्चिम राजमार्गको दुधे सडक खण्डमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

शिवसताक्षी—११ स्थित पद्मा पेट्रोलपम्पको छेउमा पूर्वबाट पश्चिम जाँदै गरेको मे ४ प ८६३२ नम्बरको मोटरसाइकललाई सोही दिसाबाट आईरहेको को १ ख ४२७७ नम्बरको बसले ठक्कर दिएको थियो । बसको ठक्करबाट मोटरसाइकल चालक स्थानीय ६२ वर्षीय शान्तिराम उप्रेतीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
बसको ठक्करबाट गम्भीर घाइते भएका उप्रेतीलाई उपचारका लागि बिर्तामोडको बीएण्डसी अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचार कै क्रममा शुक्रबार राती ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । बस , चालक र मोटरसाईकल इलाका प्रहरी र्कायालय झिलझिलेको नियन्त्रणमा छ ।
जलथलमा कानुनी परामर्श

जलथल, १९ जेठ ÷ कानुनी सहयोग तथा परामर्श केन्द्र (ल्याक) झापाले नागरिकहरुको कानुनी पहिचान सुनिश्चित गर्नकालागि ‘पहिचान सुनिश्चितताका लागि कानुनी सचेतना कार्यक्रम’ जलथलमा सम्पन्न भएको छ ।
ल्याक झापाको संयोजन र हल्दिबारी गाउँपालिकाको सहयोगमा भएको कार्यक्रममा ब्यक्तिगत घटना दर्ताको महत्व, ब्यक्तिगत घटना दर्ता तथा नागरिकताको सिफारिस सम्बन्धमा मौजुदा कानुनमा भएका व्यवस्था, घटना दर्ताको प्रक्रिया, नागरिकता सम्बन्धि मौजुदा कानुन, नागरिकताको सिफारिस लिनका लागि चाहिने आवश्यक कागजातहरु र हालसम्म ल्याक झापाले दिदै आएको सेवाका सम्बन्धमा सहभागीहरुलाई जानकारी गराईएको थियो ।

घरेलु हिंसा, जवरजस्ती करणी, मानब बेचबिखन जस्ता गम्भिर प्रकृतिका फौज्दारी अपराधमा कानुनमा भएको व्यवस्था र दोषीलाई हुने सजायका बिषयमा ल्याक झापाकी संयोजक अधिवक्ता उमा कार्कीले सहजिकरण गरेकी थिइन् । आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी मतदाता शिक्षा र स्थानीय तहको संरचनाका बिषयमा सहभागीहरुलाई संस्थाका कानुन अधिकृत अधिवक्ता दिपेन्द्र भट्टराईले जानकारी गराएका थिए ।

ल्याक झापाले जलथल, बाहुनडाँगी र दमक नगरपालिकमा नागरिकहरुको कानुनी पहिचान स्थापित गर्नका लागि बिगत दुई वर्ष देखि संस्थाद्वारा परिचालित महिला पारालिगलमार्फत ब्याक्तिगत घटना दर्ता तथा नागरिकताको सिफारिस सम्बन्धमा निःशुल्क कानुनी सहायता कार्यक्रम सञ्चालन गर्दैै आएको छ । हाल सम्ममा यस कार्यक्रममार्फत ४ हजार ५ सय जनाले सेवा लिई सकेको संयोजक कार्कीले जानकारी दिईन् ।
पारालिगल समिति जलथल—हल्दिबारीकी संयोजक लक्ष्मी मैनालीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा ८० जना स्थानीयबासीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा गाउँपालिकाका सचिव मुरारी पोखरेललगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया: