सम्बन्धनको विषयले सरकार र डा.केसी पक्षबीचको वार्ता लम्बियो

0
34

काठमाडौँ — मेडिकल कलेज सञ्चालन अनुमतिको विषयमा कुरा नमिलेपछि सरकार र डा.गोविन्द केसी पक्षबीचको वार्ता लम्बिएको छ । सरकारी पक्षले उपत्यकामा १० वर्षसम्म मेडिकल कलेजलाई नयाँ सम्बन्धन दिन नहुने बुँदा खारेज गर्न भनेपछि वार्ता सहमतिमा पुग्न ढिलाई भइरहेको डा. केसी पक्षका वार्ताकार डा. सुरेन्द्र भण्डारीले जानकारी दिए ।

 

सिंहदरबारको वार्तापछि पत्रकारहरुसँग भण्डारीले १० वर्षसम्म आशय पत्र नदिन दुवै पक्ष सहमत भए पनि सम्बन्धन दिने कि नदिनेबारेमा छलफल जारी रहेको बताए। उनले भने, ‘सरकारले नयाँ सम्बन्धन नदिने बुँदा खारेज गर्न भनेको छ, हामीले त्यसलाई मानेका छैनौं। आशा गरौं, यो विषयमा ‘ब्रेक थ्रु’ गर्ने प्रयास गरिरहेका छौं ।’ सिंहदरबार दिउँसो करिब साढे दुईदेखि वार्ता सुरु भएको थियो ।
सरकारले मानेन भने कसरी अगाडि बढ्नुहुन्छ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘हामी मान्दैनौं, डा. केसीले सम्बन्धनको विषयमा सहमति नबने अनशन जारी राख्ने भन्नुभएको छ।’
सिंहदरबारको वार्तापछि दुवै टोलीलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाइएकोले आफूहरु त्यसतर्फ जान लागेको उनले जानकारी दिए। सम्बन्धनलगायत चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. केसीले अनशन थालेको आज २७ औं दिन हो।
सरकारी वार्ता टोलीको नेतृत्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बराल र केसीको तर्फबाट डा.अभिषेकराज सिंहले नेतृत्व गरेका छन् ।

तपाईको प्रतिक्रिया: