काठमाडौं । सधैं बलसँग मैदानमा देखिने फुटबलर यतिबेला घरभित्रै छन् । व्यावसायिक फुटबल खेलेर जीविकोपार्जन गरिरहेका खेलाडी बढ्दो कोरोना संक्रमणका कारण लकडाउनको पालना गर्दै घरभित्र बस्न बाध्य छन् । करिब ६ महिनादेखि खेल्न नपाएका खेलाडी पछिल्लो समय आर्थिक समस्यमा परेका छन् । सँगै लय गुम्ने चिन्तामा उनीहरू छन् ।
राष्ट्रिय फुटबल टोली तथा लिग च्याम्पियन मछिन्द्र क्लबका गोलरक्षक विशाल श्रेष्ठ व्यावसायिक खेल खेल्नेका लागि प्रतियोगिता नहुनु सबैभन्दा ठूलो चुनौती भएको बताउँछन् । उनी चैतदेखि मैदानमा जान नपाएको सुनाउँदै यसको दीर्घकालीन असर पर्न सक्ने बताए ।
“हामीले चैतदेखि फुटबलका लागि मैदानमा प्रवेश गर्न सकेका छैनौं । यसले व्यावसायिक फुटबल खेल्ने खेलाडीलाई आर्थिक समस्या मात्र हैन्, सबै खेलाडीको लय गुम्ने सम्भावना बढाएको छ,” उनले भने । प्रशिक्षण गर्नु नपाउनु खेलाडीका लागि ठूलो पीडा हो । विश्वकप छनोट मात्रै भए केही खेलाडीलाई सहज हुने उनको विश्वास थियो । तर, त्यो पनि २०२१ सम्मका लागि स्थगित भयो ।
“विश्वकप छनोटसँगै नेपालमा पनि फुटबल फर्किने केही आशा थियो । सबैले प्रशिक्षण गर्ने अवसर पाउँथ्यौं । तर, त्यो हुन सकेन । अहिले अवस्था झनै खराब भइरहेको छ,” उनले भने, “प्रायः खेलाडीहरूको फुटबलबाहेक अन्य व्यवसाय छैन । त्यसमा पनि यस वर्षको लिग हुने सम्भावना देखिँदैन । ६ महिनामा त यस्तो अवस्था भयो भने लिग नभए अबको एक वर्षमा खेलेरै परिवार पाल्ने खेलाडीको अवस्था कस्तो होला ?”
चैतदेखि क्लबसँग छैन सम्झौता
क्लबसँगको सम्झौता यतिबेला प्रायः खेलाडीको सकिएको छ । उनीहरू क्लबविहीन छन् । विभागीय टोलीबाहेक अन्य खेलाडीको सम्झौता चैतदेखि सकिएको थियो । तर, कुनै पनि प्रकारको प्रतियोगिता हुने अवस्था नभएपछि क्लबले खेलाडीको सम्झौता नवीकरणप्रति चासो देखाएको छैन । पछिल्लो समय नेपाली खेलकुद व्यावसायिक हुँदै गएको भनिए पनि यसले क्लबलाई आवश्यकताका बेला मात्र खेलाडी बोलाउने प्रवृत्तिलाई झल्काएको छ ।
“विभागीयबाहेक अन्य क्लबका सबैजसो खेलाडीको सम्झौता सकिएको छ । प्रतियोगिता हुने/नहुने टुंगो नभएपछि क्लबले पनि सम्झौताप्रति चासो देखाएको छैन,” गोलरक्षक श्रेष्ठले भने, “अन्य कुनै व्यवसाय गरौं भने त्यो पनि छैन । जीवनको पूर्णकालीन समय फुटबललाई दियौं । पहिला क्लबसँग एक वर्षको सम्झौता हुने गर्थ्यो । तर, अहिले त्यो पनि छैन । क्लबहरूले पनि सम्झौता सकिएपछि कुनै प्रकारको सहयोगको प्रस्ताव गरेको छैन ।”
यता कर्ण लिम्बूले संकटा क्लबसँग लिगका लागि मात्र चार महिनाको सम्झौता गरेको बताए । उनले नेपाली फुटबल अझै पनि व्यावसायिक नभएकाले लिगका लागि मात्र क्लबसँग चार महिनाको सम्झौता गरेको बताए ।
खेलाडीलाई आर्थिक समस्या
गोलरक्षक श्रेष्ठले एन्फाबाट आउने मासिक तलबले केही राहत भइरहेको बताए । आफ्नो पूरै परिवार काठमाडौंमै भएकाले केही सहज भएको उनको भनाइ छ । तर, अन्य धेरै यस्ता खेलाडी छन् जसले लिग र मोफसलका प्रतियोगिता खेलेर मात्र परिवार पालेका छन् । उनीहरू निकै समस्यामा पारेका छन् । पछिल्लो स्थिति हेर्दा अखिल नेपाल फुटबल संघ (एन्फा) ले यस वर्षको लिग पनि नहुन सक्ने बताउँदै आएको छ ।
“हामीलाई फुटबलबाहेक अरु काम आउँदैन । त्यसैले अर्को पेसामा जान पनि गाह्रो छ । अर्को पेसामा ज्ञान भएकाहरू त बेरोजगार छन् भने हामीलाई झनै गाह्रो हुन्छ,” उनले भने, “स्थिति सामान्य भए एन्फाले पनि कुनै न कुनै निर्णय गरेर प्रतियोगिता आयोजना गराओस् । जसले खेलाडी मैदानमा फर्किन सहज होस् र क्लबसँगको सम्झौतामा पुनः नवीकरण होस् । खेलाडीहरूको बाँच्ने आधार नखोसियोस् ।”
ए डिभिजन क्लब संकटा तथा झापा-११ का फरवार्ड कर्ण लिम्बूले पछिल्लो दिनहरू निकै कष्टकर भएको बताए । उनले आर्थिक अवस्थामा मात्र नभई दिन बिताउनै समस्या रहेको बताए ।
“पछिल्लो समय सबैका लागि निकै कष्टकर समय छ । कसैले केही कामै गर्न पाएका छैनन् । आर्थिक समस्याले सबैलाई आक्रान्त पारेको छ । त्यसमा झनै फुटबल मात्र खेलेर परिवार पाल्नेलाई निकै गाह्रो छ,” लिम्बूले भने, “यस्तो अवस्थामा क्लबले मात्र पनि केही गरेन भन्न मिल्दैन । क्लबले सबै खेलाडीलाई नभए पनि समस्यमा परेका केही खेलाडीलाई भए पनि सहयोग गर्नु आवश्यक देखिन्छ ।”
फाइल तस्बिर ।