महिनावारीबारे चेतना जगाउन काठमाडौंमा साइकल र्‍याली

0
37

काठमाडौं | ‘मौनता तोडौं र महिनावारीको बिषयमा कुरा गरौं’ भन्ने नाराका साथ एक्सपोज नेपालले साइकल र्‍यालीको आयोजना गरेको छ। मे २८ तारिखका दिन विश्वभर मनाइने अन्तर्राष्ट्रिय महिनावारी दिवसको अवसरमा आयोजित उक्त र्‍यालीमा दुई सय पचासभन्दा बढी साइकल यात्रीको सहभागी थिए।

बसन्तपुरबाट शुरु भएको र्‍याली कान्तिपथ, कमलादी, पुतलीसडक, माइतीघर मण्डला, कुपन्डोल हुँदै मंगलबजार पुगेर टुंगिएको थियो। उक्त र्‍यालीमा ब्यवसायिक र सौखिन साइकल यात्रीदेखि स्टाफ नर्स, ब्यवसायी, विभिन्न संघसंस्थाका प्रतिनिधि पनि सहभागी थिए।

र्‍यालीका सहभागीहरुले ‘हरेक पुरुष बन्छ जिम्मेवारी जब बोल्छ स्वस्थ महिनावारी’, ‘स्वस्थ महिनावारी हामी सबैको कर्तब्य हो’, ‘स्वस्थ महिनावारी हाम्रो अधिकार हो’ भन्ने जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

नेपाल साइकल संघको प्राविधिक सहयोगमा भएको र्‍यालीमा साइक्लिङमा अन्तर्राष्ट्रिय रुपमा ख्याति प्राप्त संस्था कोराको पनि समर्थन रहेको थियो।महिनावारीका बारेमा चेतना जगाउनका लागि विभिन्न खाले कार्यक्रम हुने गरे पनि पुरुषको समेत सहभागितामा अझै बढी जनतामाझ महिनावारी सचेतना फैलाउने उद्देश्यले र्‍याली आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष ज्ञान महर्जनले बताए।

सामाजिक अधिकारकर्मीका रुपमा यस वर्षको ओस्कार अवार्ड विजेता एवं गत वर्ष एनपीस अवार्डको मनोनयनमा परेका महर्जनले नेपाली समाजमा महिनावारीलाई पाप होइन यो एक प्राकृतिक प्रक्रिया हो भन्ने सन्देश प्रवाह गर्न पुरुषले पनि उत्तिकै महत्वपूर्ण भूमिका निर्बाह गर्नुपर्नेमा जोड दिए।

खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालका राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्यालले महिनावारी हुँदा बढी आराम चाहिने बेलामा गाउँका महिलाले घरधन्दा गर्नु हुँदैन भन्दै घाँस दाउरा र खेतिपाती गर्न पठाइने हुनाले यस्ता खालका जनचेतनामुलक अभियान गाउँगाउँसम्म पुर्‍याउनुपर्ने बताए।

महिलामाथि हुने यौन दुर्व्यवहारको क्षेत्रमा काम गर्दै आएको एक्सपोज नेपालले विगत १० वर्षदेखि विशेषगरी शहरी क्षेत्रमा हुने गरेका दुर्व्यवहारलाई कम गराउने उद्देश्यले विभिन्न कार्यक्रम गर्दै आएको छ। संस्थाले उपत्यकाका ४० वटा विद्यालयका विद्यार्थीलाई घरेलु हिंसा र यौन हिंसाका विषयमा सचतेता कार्यक्रम सञ्चालन गर्दै आएको छ।

तपाईको प्रतिक्रिया: