राष्ट्रिय सरसफाई सप्ताह तथा वातावरण दिवस मनाउने तयारी

0
49

भद्रपुर | तीन दिनपछि शुरु हुने १८ औं राष्ट्रिय सरसफाई सप्ताह तथा ४५ औं विश्व वातावरण दिवस झापामा रचनात्मक एवम् चेतनामूलक कार्यक्रम गरी मनाइने भएको छ ।

झापा जिल्ला समन्वय समितिको सभाहलमा शुक्रबार भएको जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिको बैठकले सप्ताहभरि जिल्लाका विभिन्न स्थानमा सरसफाईलगायत खुला दिसामुक्त अभियानसम्बन्धी रचनात्मक एवम् जनचेतनामूलक कार्यक्रम गर्ने निर्णय गरेको हो । समितिका अध्यक्ष स्थानीय विकास अधिकारी खेमराज ओझाको अध्यक्षतामा सम्पन्न बैठकमा समितिमा रहेका सरोकारवाला निकायहरु र सरोकारवाला संघ–संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

समितिमा स्थानीय विकास अधिकारी अध्यक्ष, जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सदस्य सचिव र सरोकारवाला निकाय, संघ–संस्था सदस्य रहने प्रावधान छ । बैठकमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका सरसफाई एवम् खुला दिसामुक्त अभियानका सहजकर्ता रुद्रबहादुर न्यौपानेले सप्ताह अवधिभर गरिने सरसफाईका क्रियाकलापका बारे जानकारी दिएका थिए । कार्यालय प्रमुख सीताराम काफ्लेसमेतको उपस्थिति रहेको बैठकमा झापामा खुला दिसा अभियानलाई सहयोग पुर्याइरहेको अन्तराष्ट्रिय संस्था युएन ह्याविटेयाटका जिल्ला सहजकर्ता विनोदप्रसाद शर्माले अभियानको प्रगति, सरसफाईको अवस्था र अब गरिने क्रियाकलापका बारे जानकारी दिएका थिए ।

खानेपानीका सहजकर्ता न्यौपानेका अनुसार यही जेठ २२ गते सबै निकाय, संघ–संस्था, नागरिक समाजसमेतको सहभागितामा सदरमुकाम चन्द्रगढीको लेखनाथचोकदेखि ट्रेड युनियन चोक हुँदै जिल्ला प्रशासन कार्यालयसम्म सडक तथा बजार सरसफाई गर्ने र प्रशासन परिसरमा विभन्न जातका फलफूलका विरुवा रोपण गरी सरसफाई सप्ताह शुभारम्भ गरिनेछ भने २८ गते साविक लखनपुर गाविसलाई खुला दिसामुक्त गाउँ घोषण गर्दै सप्ताह कार्यक्रम समापन हुनेछ । यसबीचमा, युनएन ह्याविट्याटले आर्थिक सहयोग गरेपछि खुला दिसामुक्त अभियानमा जुटेका विराट सामुदायिक अध्ययन केन्द्र, सहारा नेपाल, मानव विकास केन्द्र र सगरमाथा सामुदायिक अध्ययन केन्द्रले विद्यालयस्तरमा, समुदायस्तरमा सरसफाई तथा खुला दिसामुक्त अभियानसम्बन्धी रचनात्मक कार्यक्रमहरु गर्ने युएन ह्याविट्याटका जिल्ला सहजकर्ता शर्माले जानकारी दिए ।

यस वर्षको राष्ट्रिय सरसफाई दिवसको नारा ‘खुला दिसामुक्त गर्नुछ २०१७ भित्र, सक्षम र जिम्मेवार छ हाम्रो नेतृत्व’ तथा विश्व वातावरण दिवसको नारा ‘प्रकृतिसँग हाम्रो सम्बन्ध, रहिरहोस् अनन्त’ भन्ने रहेको न्यौपानेले बताए ।

तपाईको प्रतिक्रिया: