सबै दलहरु उम्मेद्वार चयनको अन्तिम तयारी

0
69

झापा | जेठ ३१ गते हुने स्थानीय तहको दोस्रो चरणको चुनावका लागि झापामा दलहरु उम्मेद्वार चयनको अन्तिम तयारीमा जुटेका छन् । दोस्रो चरणको चुनावका लागि जेठ १९ मा उम्मेद्वारको मनोनयन दर्ताको कार्यक्रम छ । आठ नगरपालिका, सात गाउँपालिका गरी १५ वटा स्थानीय तह रहेको जिल्लामा ५ लाख १० हजार २ सय १६ जना मतदाता छन् । जिल्लामा ६ सय ३७ मतदान केन्द्र र २ सय ८३ वटा मतदानस्थल रहने छन् । सबै तहमा प्राविधिक तयारीमा जिल्ला निर्वाचन कार्यालय जुटेको बेला दलहरु उम्मेद्वार चयनको अन्तिम क्षणमा पुगेका छन् ।

कांग्रेस अन्तिम कसरतमा

नेपाली काँग्रेसले केन्द्रमा सम्भावित उम्मेद्वारको नाम पठाउने तयारी अन्तिम चरणमा पुर्याएको छ । जेठ १० गतेभित्र नाम पठाइसक्ने काँग्रेसले जनाएको छ ।

जेठ १६ गतेभित्रमा झापाका सवै  स्थानीय तहमा उम्मेद्वार टुंगो लाग्ने काँग्रेसले जनाएको छ । सकेसम्म चाँडो उम्मेद्वारी घोषणा गर्न पार्टी पंक्ति तयारीमा लागेको काँग्रेसले जनाएको छ । काँग्रेस झापा सभापति उद्घव थापाका अनुसार जिल्ला समितिले जेठ १० गतेसम्ममा सवै तहका उम्मेद्वारको नाम निर्णय गरेर सिफारिश केन्द्रमा पठाउने तयारी गरेको छ । आकांक्षीहरुको नाम  जिल्लाबाट केन्द्रमा पुगेलगत्तै जेठ १६ गतेभित्रमा सवै उम्मेद्वारको नाम सार्वजनिक गर्ने सभापति थापाको भनाई  छ ।

जिल्लाले सिफारिश  गरेको नाम केन्द्रले अनुमोदन गरेर पठाएपछि निर्वाचन कार्यतालिका अनुसार १९ गते उम्मेद्वारी मनोनयन दर्ता गरेर मात्र सम्पूर्ण उम्मेद्वारको नाम सार्वजनिक गर्ने उनको भनाई छ । पार्टीको क्रियाशील सदस्य भएको, जनतासामु चिरपरिचत भएका र जित्न सक्नेलाई प्राथमिकता दिने उनले बताए । ‘झापामा काँग्रेसले उम्मेद्वार घोषणा गर्ने कुरामा जिल्लाका कुनै पनि स्थानीय तहमा विवाद र समस्या छैन’, थापाको दाबी छ ।

ऐमालेको १३ गते घोषणा

झापाका स्थानीय तहमा १३ गते भित्रमा उम्मेद्वार घोषणा गने तयारीमा नेकपा एमाले तीव्र गतिमा लागेको छ । उम्मेद्वार चयनकै विषयलाई लिएर पार्टीमको प्रदेश कमिटीको बैठक चलिरहेका बेला एमालेले १३ गते भित्र उम्मेद्वार टुंगो लाग्ने जनाएको हो ।

‘नगर र गाउँपालिकाका वडा अध्यक्ष, सदस्य, दलित सदस्य चयन गर्ने काम ९२ प्रतिशत सकिएको छ’ नेकपा एमाले झापा जिल्ला इञ्चार्ज रविन कोइरालाले भने— ‘अब बाकी ठाउँमा तत्काल सक्छौ, गाउँपालिकाका अध्यक्ष उपाध्यक्षको मंगलबारभित्र टुङ्गो लगाउँछौ र नगर प्रमुख तथा उपप्रमुख १० गते भित्रमा चयन गरिसक्छौ ।’

पार्टीले आन्तरिक तयारीबाट १० गतेभित्र टुंगो लगाएपछि १३ गते भित्रमा  वृहद घोषणा सभा गरेर उम्मेद्वार सार्वजनिक गर्ने कोइरालाले बताए ।

पार्टीले अन्य पार्टीहरुसंग तालमेल गर्ने कि नगर्ने भन्नेमा अन्य शक्तिको गतिविधी हेरेर मात्र निर्णय लिने उनले बताए ।

माओवादीको १५ गते भित्र टुंगो लाग्ने

माओवादी केन्द्रले जिल्लाका ८ वटा नगरपालिकामध्ये दमक, मेचीनगर र अर्जुनधारा नगरपालिकामा मात्र प्रमुखर उपप्रमुखसहित अधिकांश वडामा उम्मेद्वारको टुङ्गो लगाइसकेको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् झापा जिल्ला इञ्चार्ज झलकसिहं दर्लामीका अनुसार  पार्टीले जेठ १५ गतेभित्रमा जिल्लाका सवै स्थानीय तहमा उम्मेद्वार चयन गरिसक्नेछ ।

सोमबार मात्र झापा गाउँपालिकामा अध्यक्ष÷उपाध्यक्षसहित सवै वडामा वडाअध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य पदमा उम्मेद्वारको टुङ्गो लागेको छ । वडा अध्यक्ष र वडा सदस्यका लागि सम्बन्धित वडा समितिले नगर तथा गाउँपालिकालाई सिफारीस गर्ने र जिल्ला नेतृत्वले प्रदेश कमिटीमा पठाउने उनको भनाई छ । माआवादी केन्द्रले कमल, कचनकवल, र गौरीगञ्ज गाउँपालिकामा यसअघि नै उम्मेद्वारको टुङ्गो लगाइसकेको छ । पार्टीमा उम्मेद्वारका लागि धेरै आकांक्षी भए पनि पार्टीको केन्द्रीय तहको निर्देशिका अनुसार उम्मेद्वार चयन गरिएको र बाँकी स्थानीय तहमा गर्ने तयारीमा रहेको उनले बताए ।

राप्रपा को गाउँमा बाँकी

झापामा उम्मेद्वारी घोषणामा सबैलाई उछिनेको राप्रपाले जिल्लाका आठै नगरमा उम्मेद्वारी घोषणा गरे पनि गाउँपालिकामा भने बाँकी नै छ ।  राप्रपले गाउँपालिकाहरुमा पनि चाँडै घोषणा हुने जनाएको छ ।

राप्रपाले  भद्रपुर नगरपालिकाको मेयरमा नवराज पनेरु र उपमेयरमा राधा कार्की, मेचीनगर मेयरमा अशोक सुब्बा र उपमेयरमा सविना बजगाईं, कन्काई मेयरमा केदार गिरी र उपमेयरमा चित्रा श्रेष्ठ, शिवसत्ताक्षी मेयरमा उमानाथ दाहाल र उपमेयरमा रोजी लुइँटेल छन् । त्यस्तै दमक नगर पालिकाको मेयरमा राम थापा र उपमेयरमा रीता श्रेष्ठ, अर्जुनधारा मेयरमा छविलाल लम्साललाई छनौट गरिएको छ । उपमेयरमा भने छनोट हुन बाँकी रहेको जनाएको छ । गौरादह प्रमुखमा अमरबहादुर विष्ट र उपप्रमुखमा उम्मेदवार छनोट हुन बाँकी रहेको राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले जानकारी दिए । अब चाडै सबै नगर र गाँउपालिकामा उम्मेद्वार घोषणा हुने उनले वताए ।

तपाईको प्रतिक्रिया: