काँग्रेसले मेचीनगरको प्रमुख पदको उम्मेद्वारहरु टुंगो लगायो

0
76

मेचीनगर । नेपाली काङ्ग्रेसले मेचीनगर नगरपालिकाको मेयर पदमा महाधिवेशन प्रतिनिधि बिमल आचार्यलाई उम्मेद्वार बनाएको छ ।

पार्टीको केन्द्रीय कमिटीले बुधवार दिउँसो आचार्यलाई मेयरको उम्मेद्वार बनाउने औपचारिक निर्णय गरेको हो ।

उपमेयरमा पार्टीकी महाधिवेशन प्रतिनिधि दुर्गा खतिवडा उम्मेद्वार चयन भएकी छन् ।

केन्द्रीय समितिको बैठकले मेयरमा विमल आचार्यलाई टिकट दिने निर्णय गरेको केही घण्टापछि बुधवार साँझ उपमेयरको पनि टुंगो लगाएको हो ।

मेयरका लागि क्षेत्रीय सभापति मणि उप्रेती, जिल्ला कोषाध्यक्ष केशवराज पाण्डे, महाधिवेशन प्रतिनिधि पङ्कजविक्रम नेम्वाङ लगायतविच तीब्र प्रतिष्पर्धा थियो ।

आकांक्षीहरु धेरै भएको र सहमतिको प्रयास असफल भएपछि मेयर र उपमेयर पदको छिनोफानो जिल्लामा हुन सकेको थिएन । अन्तिममा केन्द्रले नै उम्मेद्वारको टुङ्गो लगाएको हो ।

उपमेयरमा दुर्गा खतिवडा, कुसुम कोइराला, राधा कार्की लगायतको नाम आकांक्षीको रुपमा थियो ।

नेपाली काङ्ग्रेस मेचीनगरका प्रवक्ता पुष्पराज पौडेलले उम्मेद्वार बनाउने निर्णय भएको पुष्टि गरे ।
उनले उम्मेद्वार चयनमा भइरहेको ढिलाईप्रति आम कार्यकर्तामा असन्तुष्टि रहेकोमा अब चुनावी प्रचारले नयाँ गति लिने बताए ।

तपाईको प्रतिक्रिया: