भरतपुर महानगरपालिका १९ मा पुनःमतदान गराउन निर्देशन, एमालेद्वारा आयोगको निर्णयविरुद्ध प्रदर्शन

0
27

काठमाण्डौ | निर्वाचन आयोगले चितवको भरतपुर महानगरपालिका १९ मा पुनःमतदान गराउन निर्देशन दिएको छ । आज बसेको निर्वाचन आयोगको बैठकले भरतपुरको वडा नम्बर १९ मा पुन: मतदान गर्ने निर्णय गरेको निर्वाचन आयुक्त नरेन्द्र दाहालले जानकारी दिनुभयो । मतगणना स्थल अनाधिकृत रुपमा कब्जा भएको पुष्टि भएको भन्दै आयोगले वडा नं. १९ को मतदान केन्द्रको सम्पूर्ण मत अवैध घोषित गरेको छ । मुख्य निर्वाचन अधिकृतले मतपत्र च्यातिएको र मतगणना स्थल रणभूमितुल्य भएको प्रतिवेदन पठाएको भन्दै आयोगले मतदानका लागि नयाँ मिति तोक्न भरतपुरका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । जेठ १४ गते मध्यरातमा माओवादी प्रतिनिधिले मतपत्र च्यातेका थिए ।यो घटनापछि मतगणना रोकिएको थियो ।

पुनः मतदानको निर्णय एमालेलाई अमान्य 

नेकपा एमालेले भरतपुर महानगरपालिकाको वडा नं– १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध काठमाडौंमा एमाले निकट युवा संघ, नेपाल र अनेरास्ववियुले प्रदर्शन गरेका छन् ।

एमाले संसदीय दलको कार्यालय, सिंहदरबारमा आज बसेको एमाले स्थायी कमिटीको बैठकले आयोगको निर्णयलाई अस्वीकार गर्दै प्रतिवाद गर्ने र यसका लागि कानुनीलगायत सबै प्रकारको उपचारमा जाने निर्णय गरेको हो ।

महानगरपालिकाको वडा नं– १९ को मतगणना जारी हुँदा केही मतपत्र च्यातिएको घटनाको छानबिनपछि आयोगले वडामा पुनः मतदानमा जाने निर्णय गरेको थियो । यही विषयमा पुनःमतगणना हुनुपर्ने माग राखी एमालेले संसद् बैठक अवरोध गर्दै आएको छ । बैठकपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीले आयोगले मुलुकमा निर्वाचन गराउने दायित्वभन्दा सत्तारुढ दलको दबाब र प्रभावमा परेर यस्तो निर्णय गरिएको आरोप लगाउँदै यो प्रकरण यत्तिकै सकियो भन्ने नसोच्न आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया: