सामुदायिक मेलमिलाप सम्बन्धी तालिम सम्पन्न

0
57

भद्रपुर । सामुदायिक मेलमिलापसम्बन्धी आवश्यक जनशक्ति तयार गर्न झापामा स्थानीय तहमा परिचालित वडा नागरिक मञ्चका संयोजक तथा नागरिक सचेतना केन्द्रका पदाधिकारीहरुलाई सामुदायिक मेलमिलापसम्बन्धी आधारभूत तालिम प्रदान गरिएको छ ।

आठदिनसम्म चलेको तालिम भद्रपुरको सामुदायिक विकास केन्द्रमा बिहीबार सम्पन्न भएको । स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजीसीडीपी)– मार्फत प्राप्त बजेटअन्तर्गत जिल्ला समन्वय समितिले आयोजना गरेको तालिमको स्थानीय विकास अधिकारी खेमराज ओझाले उद्घाटन गरेका थिए ।

अघिल्लो शुक्रबार तालिम उद्घाटन गर्दै एलडीओ ओझाले तालिमबाट समुदायमा उत्पन्न विवाद समुदायमै मिलाउन सहयोग पुग्ने बताए । कार्यक्रमको औचित्यमाथि प्रष्ट पार्दै जिससका सूचना अधिकृत प्रकाशचन्द्र चौधरीले गाउँ, समाज र स्थानीय तहमा हुने सानातिना झैझगडा, विवाद त्यही समुदायमा रहेका तालिमप्राप्त मेलमिलापकर्ताहरुको सहजीकरणको माध्यमबाट दीगो समाधान गर्न सघाउ पुर्याउने कार्यक्रमको उद्देश्य रहेको बताए ।

तालिममा सहभागीहरुलाई समापनको अवसरमा प्रमाणपत्र प्रदान गरिएको थियो । तालिममा सूचना अधिकारी चौधरी, जिससका कार्यक्रम अधिकृत जय तिम्सिना, कानून व्यवसायी अर्मत बुढाथोकी र सामाजिक कार्यकर्ता महेन्द्र कार्कीले सहजीकरण गरेको जिससको सामाजिक शाखाका श्याम गुरागाईंले जानकारी दिए ।

तालिममा द्वन्द्व र विवादको विकास र अवधारणा, विवाद समाधानका संयन्त्रहरु, मेलमिलापको अन्तर्राष्ट्रिय अभ्यास, मेलमिलापसम्बन्धी कानूनी व्यवस्था, मेलमिलाप एृन तथा नियमावली, सामुदायिक मेलमिलाप कार्यान्वयन निर्देशिका, मेलमिलापका ७ चरणहरु, नमूना भूमिका अभिनय, प्रशंसनीय दष्टिकोण प्रयोग गर्ने शीप, सामाजिक न्याय, लैंगिकता, मानवअधिकार र न्यायोचित समाधान, मेलमिलापपश्चातको प्रक्रिया, समन्वय र अनुगमनलगायतका विषयमा छलफल गरिएको चौधरीले जानकारी दिए ।

सहभागीहरुले यो तालिमबाट समुदायमा उत्पन्न वादविवाद, झै–झगडा मिलाउन अभ्यासहरुका बारे उल्लेखनीय जानकारी प्राप्त भएको प्रतिक्रिया दिएका छन् ।

तपाईको प्रतिक्रिया: