स्थानीय तहः दोस्रो चरणको निर्वाचन आज

0
82

झापा | झण्डै २० वर्षपछि प्रदेश नम्बर १, ५ र ७ अन्तर्गत ३५ वटा जिल्लाका ३ सय ३४ स्थानीय तहमा बुधबार दोस्रो चरणको मतदान हुँदैछ । दोस्रो चरणमा हुने तीनवटा प्रदेशमा ६४ लाख ३२ हजार ७ सय ६५ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता सुर्यनाथ शर्माका अनुसार दोस्रो चरणमा एउटा महानगर पालिका, सातवटा उपमहानगर पालिका, १ सय ११ वटा नगरपालिका र २ सय १५ वटा गाउँपालिकामा निर्वाचन हुन लागेको हो ।

लोकतान्त्रिक जनआन्दोलनमार्फत गणतन्त्र स्थापना, संविधानसभाबाट संविधान बनेपछि नेपालकै इतिहासमा दोस्रो पटक स्थानीय तहको निर्वाचन हुन लागेको हो । पहिलो पटक बैशाख ३१ मा पहिलो चरण अन्तर्गत प्रदेश नम्बर ३, ४ र ६ का ३४ वटा जिल्लाका २ सय ८३ स्थानीय तहमा निर्वाचन सम्पन्न भएको थियो । जेठ ३१ मा दोस्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नम्बर १, २, ५ र ७ अन्तर्गत ४ सय ६१ स्थानीय तहको निर्वाचन हुने भनिएपनि २ नम्बर प्रदेशका पर्सा, बारा, रौतहट, सर्लाहि, महोत्तरी, धनुषा, सिरहा, सप्तरी आठवटा जिल्लाको स्थानीय तहको निर्वाचन तेस्रो चरणमा असोज २ गते हुने भएको छ ।

यसअघि २०५४ जेठ ४ र १३ गते दुई चरणमा स्थानीय निकायअन्तर्गत गाविस ,नगरपालिका र जिविसको निर्वाचन भएको थियो । त्यो बेला सम्पन्न निर्वाचनबाट निर्वाचित पदाधिकारीहरुको ५ बर्से पदावधि २०५९ असार मसान्तमा सकिएपछि स्थानीय निकाय जनप्रतिनिधिविहिन भएका थिए । जिल्ला निर्वाचन कार्यालय झापाले स्थानीय तह निर्वाचन ऐतिहासिक भएको बताएको छ ।

प्रदेश नम्बर १ अन्तर्गत झापामा निर्वाचनको तयारी पुरा भएको छ । शान्ति सुरक्षासहित निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको र मतपेटिकासहित निर्वाचन सामाग्री लिएर मतदान अधिकृतलगायत सवै कर्मचारी मतदान केन्द्र पुगिसकेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख गोपाल आचार्यले बताए । ११ असारदेखि सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचय पत्र वितरण कार्य शुरु गरिएको मुख्यः निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेले बताए । १३ गतेसम्म मतदाता परिचय पत्र वितरण हुने छ । अहिले धमाधम मतदानका लागि घेरावारा भइरहेको छ । पाण्डेका अनुसार मतदाताले बिहान ७ देखि अपरान्ह ५ बजेसम्म आ आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्नेछन् । मतदाताले स्थानीय तह सरकार निर्माणका लागि नगरपालिकामा नगर प्रमुख÷ उपप्रमुख, वडाध्यक्ष प्रत्येक वडामा ४ जना सदस्य तथा गाउँपालिकामा अध्यक्ष÷ उपाध्यक्ष वडाध्यक्ष प्रत्येक वडामा ४ जना सदस्य चुन्न सक्ने निर्वाचन कार्यालय झापाका प्रमुख आचार्यले बताए । जिल्लामा कुल २ सय ८३ वटा मतदान स्थल, ६ सय ३७ मतदान केन्द्र रहेका छन् ।

झापामा दोस्रो चरणको निर्वाचनमा ७ सय २३ पदका लागि ३ हजार ३ सय ४० जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचन कार्यालय झापामा कुल ३१ वटा पार्टी दर्ता भएपनि १७ वटा दलले मात्र आधिकारीक चुनाव चिन्ह पाएका छन् । बाकीले स्वतन्त्ररुपमा चुनाव लडेका छन् । पहिलो चरणको निर्वाचनमा १३ हजार ५ सय ५६ पदका लागि ४९ हजार ३ सय ३७ उम्मेद्वार प्रतिस्पर्धामा थिए । पहिलो चरणमा ४९ लाख ५६ हजार ९ सय २५ मतदाता रहेका थिए ।
८ नगरपालिका र ७ वटा गाउँपालिका गरी कुल १५ वटा स्थानीय तह रहेको झापामा ५ लाख १० हजार २ सय १६ जना मतदाता रहेका छन् । निर्वाचन कार्यालयले जिल्लाका प्रत्येक मतदातालाई भयरहित वाताबरणमा आफुले चाहेको र खोजेको जनप्रतिनिधिलाई मतदान गर्न भनेको छ । कार्यालयले प्रत्येक राजनीतिक दल, तिनका उम्मेद्वार तथा स्वतन्त्र उम्मेद्वारलाई निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय झापाले बुधबार हुने निर्वाचनमा ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरेको छ । निर्वाचनमा सुरक्षाको भरपर्दाे व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक शैलेस थापा क्षेत्रीले बताए । सुरक्षाकर्मीसहित जिल्लामा ८ हजार ८ सय २७ जना जनशक्ति परिचालन गरिएको छ । प्रहरी उपरीक्षक क्षेत्रीका अनुसार झापाका सवै मतदान स्थलमा १ हजार ९ सय नेपाल प्रहरी, २ हजार एकसय म्यादी प्रहरी परिचालन गरिएको छ । यस वाहेक सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान, तथा सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएको छ । झापामा स्थानीय तह निर्वाचनमा शान्ति सुरक्षाको व्यवस्था मजवुत भएको भन्दैं प्रहरी उपरीक्षक क्षेत्रीले प्रत्येक मतदातालाई आफ्नो अमूल्य मत कसैको लोभ, डर,त्रास र धम्कीमा नपरी आफुले चाहेको जनप्रतिनिधिलाई गोप्यरुपमा मतदान गर्न आग्रह गरेका छन् । सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा कार्यालय झापाले एकहजार बढी प्रहरी परिचालनको गरेको सशस्त्र प्रहरी उपरीक्षक आनन्द नेम्वाङ्गले बताए ।

निर्वाचन स्थल, मतदान अधिकृतको कार्यालय, कर्मचारी मतदातालगायतको सुरक्षाका लागि झापाका १५ वटा स्थानीय तहमा १५ वटा सशस्त्र प्रहरीको अस्थायी पोस्ट समेत खडा गरिएको छ । जिल्लामा तीनवटा घेरामा सुरक्षाको व्यवस्था मिलाईएको छ । पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र तथा तेस्रो घेरामा नेपाली सेना रहने छ ।

 

तपाईको प्रतिक्रिया: