जलथलमा कानुनी परामर्श

0
29

जलथल | कानुनी सहयोग तथा परामर्श केन्द्र (ल्याक) झापाले नागरिकहरुको कानुनी पहिचान सुनिश्चित गर्नकालागि ‘पहिचान सुनिश्चितताका लागि कानुनी सचेतना कार्यक्रम’ जलथलमा सम्पन्न भएको छ ।

ल्याक झापाको संयोजन र हल्दिबारी गाउँपालिकाको सहयोगमा भएको कार्यक्रममा ब्यक्तिगत घटना दर्ताको महत्व, ब्यक्तिगत घटना दर्ता तथा नागरिकताको सिफारिस सम्बन्धमा मौजुदा कानुनमा भएका व्यवस्था, घटना दर्ताको प्रक्रिया, नागरिकता सम्बन्धि मौजुदा कानुन, नागरिकताको सिफारिस लिनका लागि चाहिने आवश्यक कागजातहरु र हालसम्म ल्याक झापाले दिदै आएको सेवाका सम्बन्धमा सहभागीहरुलाई जानकारी गराईएको थियो ।

घरेलु हिंसा, जवरजस्ती करणी, मानब बेचबिखन जस्ता गम्भिर प्रकृतिका फौज्दारी अपराधमा कानुनमा भएको व्यवस्था र दोषीलाई हुने सजायका बिषयमा ल्याक झापाकी संयोजक अधिवक्ता उमा कार्कीले सहजिकरण गरेकी थिइन् । आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी मतदाता शिक्षा र स्थानीय तहको संरचनाका बिषयमा सहभागीहरुलाई संस्थाका कानुन अधिकृत अधिवक्ता दिपेन्द्र भट्टराईले जानकारी गराएका थिए ।

ल्याक झापाले जलथल, बाहुनडाँगी र दमक नगरपालिकमा नागरिकहरुको कानुनी पहिचान स्थापित गर्नका लागि बिगत दुई वर्ष देखि संस्थाद्वारा परिचालित महिला पारालिगलमार्फत ब्याक्तिगत घटना दर्ता तथा नागरिकताको सिफारिस सम्बन्धमा निःशुल्क कानुनी सहायता कार्यक्रम सञ्चालन गर्दैै आएको छ । हाल सम्ममा यस कार्यक्रममार्फत ४ हजार ५ सय जनाले सेवा लिई सकेको संयोजक कार्कीले जानकारी दिईन् ।

पारालिगल समिति जलथल—हल्दिबारीकी संयोजक लक्ष्मी मैनालीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा ८० जना स्थानीयबासीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा गाउँपालिकाका सचिव मुरारी पोखरेललगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया: