एनसेलले शुरु गर्‍यो फोरजी सेवा, १ जिबी डेटा भोल्युम निःशुल्क

0
90

एनसेलले फोरजी- एलटिई सेवा सुरू गरेको छ। अब एनसेलका ग्राहकले फोरजी लङ टर्म इभोलुसन (एलटिई) सेवाको मज्जा लिन सक्नेछन्।  एनसेलले नवीन प्रविधि भित्राउँदै विश्वस्तरीय सेवा तथा ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिवद्धता बमोजिम उच्च गतिको मोबाइल ब्रोड ब्याण्ड सेवामा पहुँच पुर्‍याउन फोरजी सेवा सुचारु गरेको जनाएको छ।

फोरजी सेवा चल्ने नयाँ सिमकार्ड लिएका तथा फोरजी चल्ने मोवाइल भएका सबै एनसेल ग्राहकले यही बिहीबार (जेठ १८) बाट काठमाडौं उपत्यकालगायत नगरकोट, बनेपा र धुलिखेलमा फोरजी सेवाको लाभ लिन सक्नेछन्।

प्रविधि तटस्थताको अनुमति अन्तर्गत कम्पनीले आफ्ना ग्राहकलाई यो सेवा उपलब्ध गराएको हो, जसले बहुप्रतिक्षित उच्चस्तरीय डेटा सेवामा ग्राहकको पहुँच सुनिश्चित गर्नेछ। ‘हामी प्रविधि तटस्थताले देश र जनतामा ल्याउने वृहत सकारात्मक प्रभावका बारेमा सोचेर उत्साहित छौं। यसले हामीलाई डिजिटल नेपालको निर्माण यात्रामा अघि बढाएको छ। हामीमा विश्वास गर्ने सबैप्रति हामी आभारी छौं। प्रविधि तटस्थताकाको उच्चतम सदुपयोग गर्दै डिजिटल नेपालको राष्ट्रिय लक्ष्य हाशिल गर्नका लागि योगदान पुर्‍याउन हामी कटिबद्ध छौँ,’ एनसेलका प्रबन्ध निर्देशक साइमनपर्किन्स्ले भने।

यसै प्रतिबद्धता बमोजिम एनसेलले आगामी ७ महिनासम्ममा (अर्थात् सन् २०१७ को अन्त्यसम्ममा) कुल जनसंख्याको १५ प्रतिशतमा फोरजी पुर्‍याउने लक्ष्य लिएको छ। यसका लागि कम्पनीले देशका विभिन्न ४० शहरहरुमा फोरजी सेवा सुचारू गर्ने योजनासहित नेटवर्क परीक्षण गरिरहेको छ ।

फोरजी सेवाको लाभ लिन ग्राहकले आफूले प्रयोग गरिरहेको सिमलाई नजिकैको एनसेल सेन्टरमा गई फोरजी चल्ने सिम (युसिम) सँग निःशुल्क साट्न सक्छन्। नयाँ ग्राहकले फोरजी सिम नै प्राप्त गर्नेछन्।

नयाँ प्रविधिमा आधारित सेवा सञ्चालनमा ल्याएको अवसरमा बिहीबार एनसेलको फोरजी सेवा प्रयोग गर्ने ग्राहकलाई ३ दिन समयावधि रहेको १ जिबी डेटा भोल्युम निःशुल्क प्रदान गर्ने जनाएको छ ।

साथै असार १६ गतेसम्म फोरजी सेवा लिने ग्राहकले भर्खरै सार्वजनिक भएको योण्डर म्युजिक एपमा फोरजी सेवा लिएको ३० दिनसम्म निःशुल्क अनलाईन गीत सुन्न सक्नेछन्। यस बाहेक कम्पनीले चाँडै नै डिभाइस सर्भिस बण्डलिङ्गमा आकर्षक अफर तथा निःशुल्क रुपमा अनलिमिटेड फिल्ममा पहुँच हुने जस्ता रोचक योजनाहरु ल्याउने तयारी गरेको छ।

तपाईको प्रतिक्रिया: