कप्तान सन्दिप म्यान अफ द म्याच; क्लार्कले गरे प्रशंसा

0
24

काठमाडौँ | आइसीसी यू१९ विश्वकप छनोट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले आयोजक सिंगापुरलाई ४ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ। टस जितेर फिल्डीङ रोजेको नेपालले सिंगापुरलाई २९ ओभरमा ७३ रनको सानो योगफलमा अलआउट गर्न सफल रहेको थियो। जवाफी ब्याटिङमा उत्रेको नेपालले ७४ रनको लक्ष्य ६ विकेटको क्षतिमा १७.३ ओभर खेल्दै पुरा गरेको थियो।

 

सिंगापुरलाई ७३ रनमा अलआउट पार्ने क्रममा ५ विकेट लिएका नेपालका कप्तान सन्दिप लामिछाने खेलको म्यान अफ द म्याच भए। उनले ८ ओभर बलिङ गर्दै २ मेडनसहित २१ रन खर्चेका थिए।

खेलको १२औं तथा व्यक्तिगत तेश्रो ओभरमा उनले ओपनर सन् अग्रवाललाई सन्दिप सुनारको हातबाट क्याच गराउँदै पहिलो विकेट हात पारेका थिए। त्यसपछिको ओभरमा उनले सिधान्तलाई एलबीडब्लु धरापमा पारेका थिए। खेलको १६औं ओभरमा उनले हन्सुल दिपलाई कट-बिहाईन्ड र आर्यमन सुनिललाई बोल्ड गर्दै पेभेलियन फर्काए। सन्दिपले  १८औं ओभरमा कप्तान जनक प्रकाशको विकेट लिंदै सिंगापुरलाई २६/७को स्थितिमा पुर्याएका थिए।

खेलको म्यान अफ द म्याच घोषित सन्दिपको अष्ट्रेलियाका पूर्व-कप्तान माइकल क्लार्कले पनि प्रशंसा गरेका छन्। खेलका दौरान नेपाली समर्थकले क्लार्कलाई मेन्सन गर्दै सन्दिपले राम्रो प्रदर्शन गरिरहेको बताएका थिए। खेल सकिएलगत्तै क्लार्कले ट्वीटरमार्फत नै आफु सन्दिपको प्रदर्शन देखेर आश्चर्य मान्नुपर्ने विषय नरहेको र उनले सन्दिप स्टार खेलाडी भएको बताए।

 

तपाईको प्रतिक्रिया: