उद्घाटन खेलमा कोलकत्तालाई हराउदै पुलिस सेमिफाइनल प्रवेश

0
13

मेचीनगर |  झापाको मेचीनगरमा आजदेखि शुरु भएको मेची नेत्रालय काँकरभिट्टा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपाल प्रहरीको विभागिय टोली नेपाल पुलिस क्लबले विजयी यात्रा शुरु गरेको छ ।

काँकरभिट्टा माविको मैदानमा भएको खेलमा भारत कोलकत्ताको सुवास चन्द्र बोइज क्लबलाई ४ शुन्य गोलको अन्तरले पराजित गर्दै नेपाल पुलिस क्लबले सेमिफाइनलको यात्रा तय गरेको हो ।

जुमानु राईको कप्तानीमा मैदान प्रवेश गरेको पुलिसकालागि खेल शुरु भएको १० औँ मिनेटमा भोला सिलवालको क्रसमा तीर्थ रानाले गोल गरेका थिए ।

१७ मिनेटपछि तीर्थ रानाले पुनः गोल गरेर खेललाई २ शुन्यले अगाडी बढाए । पुलिसकातर्फबाट २४ मिनेटमा रवि पासवानको क्रसमा भोला सिलवालले गोल गर्दै मध्यान्तरअघिसम्म ३ शुन्यमा पुर्याए । खेलको ७९ औँ मिनटमा तेज तामाङले गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच तीर्थ राना घोषित भए । उनलाई मेची नेत्रालय काँकरभिट्टाले उपलब्ध गराएको नगद १० हजार रुपैयाँ जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विष्णुकुमार केसीले प्रदान गरेका थिए ।

भोलिको खेल सशस्त्र प्रहरीको विभागिय टोली एपीएफ काठमाडौंं र रुपन्देही –११ बीच हुने आयोजक क्लबका अध्यक्ष मिनबहादुर बस्नेतले बताउँनुभयो ।

तपाईको प्रतिक्रिया: