मेची नेत्रालय गोल्डकपको अन्तिम चारमा रुपन्देही –११

0
9

काँकरभिट्टा । अग्नि रुपन्देही –११ मेची नेत्रालय काँकरभिट्टा गोल्डकपको तेस्रो संस्करणको सेमीफाइनलमा प्रवेश गरेको छ ।
विहिवार काँकरभिट्टा माविको खेल मैदानमा भएको प्रतियोगितामा गत सालको उपविजेता बिभागीय टिम सशस्त्र प्रहरी बल काठमाडौँलाई ३–१ गोल अन्तरले हराउँदै सेमीफाइनलको यात्रा तय गरेको हो ।
रुपन्देही –११ ले खेलको सुरुवातीदेखि नै एपीएफलाई दवावमा राखेको थियो । बारम्बार विपक्षीमाथि हावी भएको रुपन्देहीले पहिलो गोल गर्न १५ मिनेट खर्चिनु परेको थियो । दिपक राईको पासमा रजिन धिमालले डिबक्स बाहिरको १७ याडबाट गरेको प्रहार गोलरक्षक राजु नगरकोटीले कुनै भेउ नै पाएनन् । त्यसको ३ मिनेट बित्न नपाउँदै खेलको १८ औँ मिनेटमा सेड्रिक आवाले सेन्ट्रल एट्याक बललाई सुन्दर ड्रिब्लिङका साथ जाली चुमाएका थिए ।
दोश्रो हाफको १२ मिनेटमा एपीएफका नविन लामाले ठूलो डिबक्सभित्रबाट प्रहार गरेको बललाई सन्दिप सिक्खकारले जम्पिङ्ग हेडमार्फत सुन्दर गोल गरेका थिए। खेलको ३९ औँ मिनेटमा रुपेश केसीको पासलाई दिपक राईले सहज रुपमा जाली चुमाएका थिए ।
शिवसताक्षी गोल्डकपको क्वाटरफाइनल खेलमा रुपन्देही –११ लाई हराएको एपीएफले मेची नेत्रालय काँकरभिट्टा गोल्डकपमा भने रुपन्देही बाधक बन्यो ।
खेलको म्यान अफ द म्याच रुपन्देही –११ का गोलरक्षक दिलिप क्षेत्री घोषित भए । उनलाई दुर्गा चन्द्र मेमोरियल ट्रष्टले प्रदान गरेको नगद १० हजारसहित पुरस्कृत गरिएको थियो ।
शुक्रवारको खेल साविक विजेता झापा –११ र सुदुरपश्चिम –११ बीच हुने आयोजक क्लबका कोषाध्यक्ष पेमा नर्वु शेर्पाले बताए ।

तपाईको प्रतिक्रिया: