भेट्रान फुटबलको उद्घाटन खेलमा दार्जिलिङ युनाइटेड भेट्रान फुटबल क्लव विजयी

0
87

काँकरभिट्टा | सर्वाधिक पुरस्कार राशीको नेपाल इण्डो भेट्रान फुटबल प्रतियोगिताको दोस्रो संस्करण अन्र्तगत शनिबार भएको उद्घाटन खेलमा दार्जिलिङ युनाइटेड भेट्रान फुटबल क्लव क्वाटर फाइनल प्रवेश गरेको छ ।

काँकरभिट्टा भेट्रान फुटबल क्लवद्धारा काँकरभिट्टा माविको खेल मैदानमा सुरु प्रतियोगिताको उद्घाटन खेलमा धरमपुर भेट्रान फुटबल क्लवलाई २–१ गोल अन्तरले पाखा लगाउँदै दार्जिलिङ क्वाटर फाइनलको यात्रा तय गरेको हो ।

खेलको पहिलो हाफको १० औं मिनेटमा दार्जिलिङका गौतम थापाले प्रहार गरेको फ्रि किक गोलमा परिणत भएको थियो ।
त्यसैगरी दोस्रो हाफको ३ औं मिनेटमा दार्जिलिङकै दिप घिमिरेले एकल प्रयासमा थप एक गोल गरेका थिए । खेलको अन्त्यतिर धरमपुरका लिलाबहादुर जोशीले सान्त्वना स्वरुप एक गोल फर्काएका थिए । खेलको म्यान अफ दी म्याच दार्जिलिङका दिप घिमिरे घोषित भए । उनलाई स्थानीय युवा व्यवसायी सजित तामाङले नगद २१ सय रुपैयाँ प्रदान गरेका थिए ।

आइतबारको खेल विर्तामोड भेट्रान फुटबल क्लव र सिबिसि चन्द्रगढी तथा एभरेष्ट भेट्रान फुटबल क्लव मोरङ र राई न्युज डुवर्स भारतबीच हुने आयोजक क्लवका सचिव कर्ण थापा मगरले जानकारी दिए ।

प्रतियोगिताका विजेता टिमले नगदराशी १ लाख २५ हजार तथा उप विजेता टिमले नगदराशी ५१ हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, विशेष अतिथि नगर उपप्रमुख मीना उप्रेतीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

आयोजक क्लवका अध्यक्ष गङ्गालाल गुरुङको अध्यक्षतामा आयोजित प्रतियोगिता उद्घाटन कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष खगेन्द्रप्रसाद उप्रेती र सञ्चालन महासचिव शेरबहादुर बस्नेत(सुन्दर) ले गरेका थिए ।

तपाईको प्रतिक्रिया: