अर्जेन्टिनी फुटबल संकटको भित्री कुराः मेस्सीलाई किन विश्वकप जित्ने दबाव छ ?

0
43

अर्जेन्टिनाको एक टीभी च्यानलले किन विश्वकपमा बिहीबार क्रोएसियासँगको लज्जास्पद हारपछि एक मिनेट मौनधारण गर्‍याे ?

किन डियगो म्यारोडोनाले आइसल्याण्डसँगको बराबरी पछि जर्ज साम्पाओलीलाई अर्जेन्टिना प्रवेश गर्न दिन हुँदैन भने ?

किन अर्जेन्टिनामा फुटबललाई लिएर मानिसहरु यतिधेरै गम्भीर हुन्छन् ?

‘अहिले संकट धेरै ठूलो छ, विश्वकप नै जिते पनि त्यसलाई ठीक गर्न सकिँदैन’ सिजर लुईस मेनोट्टीले प्रतियोगिता पहिले विश्वकप जित्ने सपना सम्भव जस्तै देखिँदैन भनेका थिए ।

मेनोट्टीका अनुसार अर्जेन्टिनी फुटबलका केही कुरा आधारभूत रुपमै गलत छन् र अझै विस्तृत रुपमा भन्नुपर्दा अर्जेन्टिनी समाजसँगै यो जोडिन्छ ।

अर्जेन्टिनाको राष्ट्रिय फुटबल टिमलाई सधैँ जित्नैपर्ने दबाव हुन्छ । मेनोट्टी आफैले पनि एक क्रुर तानाशाहको कडा नजरबीच देशलाई नेतृत्व गरेर सन् १९७८ को विश्वकप जिताएका थिए । र, चार वर्षपछिको विश्वकपमा दोस्रो चरणमा बाहिरिएपछि उनी बर्खास्तीमा परेका थिए ।

सन् १९८२ को स्पेन विश्वकपमा अर्जेन्टिना बाहिरिएपछि त्यसलाई धेरै ठूलो असफलताको रुपमा हेरिएको थियो । त्यसपछि देशका नीति निर्माताहरुले मेनोट्टीको ‘फ्रि फ्लो’ शैली बिदाइ गर्दै कार्लोस बिलार्डोको अनुदार फुटबल शैलीलाई जिम्मा दिए ।

मेनोट्टी आफैले पनि साम्पाओलीको टोलीको नराम्रो हारलाई त्यस्तै बाटोमा गएको देखेका छन्, जहाँ उनी सन् १९८६ को विश्वकप अगाडि थिए । त्यतिखेर फुटबल फेडेरेसनको अध्यक्षले होइन पूरै देशको राष्ट्रपतिले खेलमन्त्रीलाई बिलार्डोलाई बर्खास्त गर्न लगाएका थिए किनभने नतिजा राम्रो थिएन ।

बिलार्डोको म्याराडोना प्रेरित साइडले ट्रफी जित्यो र केही हदसम्म दबावलाई मत्थर गर्‍याे । तर, त्यसपछि अहिलेसम्म पनि दबाव कायमै छ ।

अर्जेन्टिनाले पछिल्लो महत्पूर्ण उपाधि आजभन्दा २५ वर्ष अगाडि सन् १९९३ मा जितेको थियो । अहिलेको टिमले सन् २०१४ देखि २०१६ बीच तीन वर्षमा तीन ठूला प्रतियोगिताको फाइनलमा हार बेहोरेको छ र अहिले इतिहासको समेत भारले उनीहरुलाई थिचिरहेको छ ।

उनीहरुलाई राम्रोसँग माइक्रोस्कोपले हेरेर एक एक समस्या पत्ता लगाएर जसले सहयोग गर्नुपर्ने हो उनीहरुले गरेका छैनन् । म्याराडोनाले अहिलेसम्म उनको उत्तराधिकारीहरुलाई मैदान भित्र र बाहिर आलोचना गरिरहेका हुन्छन् र पछिल्लो महिना बिलार्डो आफैले मेस्सीलाई उनको कतव्र्यको बारेमा सम्झाएका थिए ।

‘तपाईंले उनीहरुलाई प्रेसर दिनुपर्छ’ उनले भने, ‘कहिलेसम्म उनीहरुले पर्खेर बस्न सक्छन् । यी खेलाडीहरुसँग मुस्किलले चार वा पाँच वर्षमात्रै बाँकी छ, पर्खिने बेला सकिसकेको छ ।’

अर्जेन्टिनीहरुको विश्वकप पूर्वको मनस्थितिलाई क्विमेस बियरको एक विज्ञापनले राम्रोसँग उतारेको छ । उक्त भावुक विज्ञापनमा रंगशाला दर्शकले भरिएको छ, दर्शकहरुले एक प्रशिक्षक जस्तो पात्रलाई आफ्नो निराशा पोख्दैछन् र प्रशिक्षकले छाता बोकेर उभिँदै सबैको प्रश्नहरु जवाफ दिइरहेका छन् ।

‘हामीले तीन फाइनल हारिसकेका छौं’ एक समर्थक भन्छन्, ‘कहिलेकाँही यस्तो लाग्छ उनीहरु यहाँ आउन चाँहदैनन् ।’ त्यस्तै अर्कोले भन्छन्, ‘हामी उनीहरुले केही बल देखाएको हेर्न चाहन्छौं ।’

‘कहिलेकाँही हामी उनीहरुसँग धेरैथोक माग्ने गर्छौं,’ एक आवाज सुनिन्छ, ‘हामीले उनीहरुलाई हाम्रो जीवनमा खुसी भरिदिन भन्छौं र हामी बिरामी भएको बेलामा ठिक बनाइदिन भन्छौं, हामीले बरु भगवानसँग कम माग्छौं उनीहरुसँग धेरै ।’

एल पेससँग विश्वकप पूर्वको एक अन्तवार्तामा मेनोट्टी आफैंले किन अर्जेन्टिनी फुटबल यो अवस्थामा पुगेको छ भनेर बताएका छन् ।

‘९० को दशकमा राष्ट्रिय टिम र अर्जेन्टिनी फुटबल विश्वको सबैभन्दा ठूलो व्यापारको हिस्सा भयो’ उनले भने, ‘यसले कुनै पनि गतिलो प्रदर्शन गर्न छोड्यो ।’

‘मेनोट्टीले अझै पनि बच्चाहरुले खेल्ने खेल फुटबलमा विश्वास गर्छन्’ उनका अनुसार ‘यो सँधै सँस्कृतिसँग जोडिएको हुन्छ र सामाजिक सिकाइ हुन्छ’ तर, ती बच्चाहरु व्यावसायिक प्रणालीमा गएपछि प्रशिक्षकहरुले जित्नको लागि प्राथमिकता दिन्छन्, क्लबहरुले पैसालाई महत्व दिन्छन् र सबैकुरा बिग्रन थाल्छन् । खेलको आधारभूत सिद्धान्तहरु हराउँछन् र अन्तिममा पूरै देशको प्राथमिकता नै फरक हुन्छ ।

‘व्यावसायिक फुटबलमा सबैकुरा फरक हुन्छ, जब साँस्कृतिक सङ्कट हुन्छ समर्थकहरु रंगशाला जान छोड्छन् । तपाईंले समर्थकहरु र दर्शकमा फरक छुट्याउन पर्छ ।’

गोलसँगको एक अन्तवार्तामा मेनोट्टीको विचारहरुलाई लामो समयसम्म उनका सहायक रहेका फर्नान्डो सिग्नोरिनीले अझै विस्तृत रुपमा खुलाएका छन् ।

आज पनि पहिलेजस्तै दवाव छ, यहाँ मानिसहरुले आफूले गर्न नसक्ने कुरा अरुसँग माग गर्छन्’ सिग्नोरिनीले भने, जो सन् २०१० को विश्वकपमा म्यारोडोनाको कोचिङ स्टाफ पनि थिए ।

‘त्यसकारण यहाँ अर्जेन्टिनामा केही वर्षयता नकरात्मक वातावरण छ, सबैभन्दा माथि फुटबल छ, तर यो मानिसको अरु कुराको तनाव घटाउने राम्रो औजार बन्न भने छोडेको छ । त्यस्तो देशमा जहाँ फुटबलको एक खेलले देशकै भविष्य निर्धारण गर्छ’ उनले भने ।

उनी भन्छन् ‘फुटबल खुसी हुनको लागि राम्रो कारण बन्नुपर्छ, आमाबुबाहरु र शिक्षकहरुले बच्चालाई राम्रो बनाउन प्रेरित गर्ने हतियार पनि हो ।’

‘परिवर्तन आवश्यक भएको समाजमा यदि फुटबलले शिक्षित बनाउँदैन र यसको साँस्कृतिक तत्वहरुले मानिसलाई र समाज परिवर्तन गराउँदैन भने फुटबलले थोरैलाई मात्रै ठूला ब्यापारमा सहयोग गर्छ ।’

मेनोट्टी र सिग्नोरिनी दुवै अर्जेन्टिनी फुटबल भ्रष्ट भएको विश्वास गर्छन् र सिधा रुपमा भन्नुपर्दा केही हदसम्म समाजले पछ्याएको छ ।

‘र यो देशको अर्को अस्थिरताको पृष्ठभूमिमा देखिएको छ । पछिल्लो वर्ष पेसोको भाउ एक चौथाइले घट्यो र उनीहरुले अहिले रुसमा झुर विश्वकप खेल्दैछन् । यता अर्जेन्टिनालाई अन्तर्राष्ट्रिय मुद्रा कोषले ५० अर्ब डलर जमानीमा छोड्ने अवस्थामा छ ।

तर, अर्जेन्टिनाको लागि सामाजिक, साँस्कृतिक र आर्थिक संकट नयाँ होइन । १७ वर्षअघि देशको नीतिहरुले आर्थिक सङ्कट आएर धेरै मानिसहरुलाई गरिबीको रेखामुनि धकेलेपछि उसले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग सहकार्य गरेको थियो ।

त्यस समय देशले सन् १९९८ को फ्रान्स र सन् २००२ को जापान/कोरिया विश्वकप खेलेको थियो र अर्जेन्टिनामा मन्दि थियो । त्यो फुटबलमा उपाधि नचुमेको कारणले भने भएको थिएन ।

सन् २००२ को एक वर्ष अगाडि र सन् १९९० मा विश्वकपमा मानिसहरुले सडकमा दंगा गरेका थिए । सन् १९७६ मा जब अर्जेन्टिनाले आफ्नै माटोमा विश्वकप जितेको थियो त्यतिखेर हजारौं मानिसहरुले मौन रुपमा टिमको विरोध गरेका थिए । उनीहरुका अनुसार टिमले अधिनायकवादलाई प्रतिनिधित्व गरेको थियो ।

बैंक, विद्यालय र संसदका संकटले नै फुटबल मैदानको संकट देखाउँछ तर, सिग्नोरिनीका अनुसार अहिले नै अवस्था धेरै नै गाह्रो छ ।

अर्जेन्टिनामा हामी यस्तो प्राचिन युगमा छौं जहाँ फुटबल सँस्कृति, कला र समाज भन्दा धेरै महत्वपूर्ण छ । आज पहिले भन्दा पनि बढी अर्जेन्टिनाको फुटबलले क्रुर चाहनादेखि कडा अभिव्यक्तिसम्म सुनिरहेको छ ।

उनका अनुसार मिडियाले फुटबललाई धेरै कभरेज गरेको छ, ‘राष्ट्रिय टिम अहिलेको क्षणमा धेरै बढाइचढाइ रुपमा गरिने कभरेजले घेरिएको छ । यसले मिडियाको स्क्रिन भरिएको छ रेडियो र प्रेसको पाना भरिएको छ । बाहिरबाट यसले टिमलाई धेरै नै प्रेसर दिन्छ ।’

यसले टिमका खेलाडीहरुलाई सहयोग गर्दैन । टिमलाई पहिलेदेखि नै भन्ने जितमात्रै मुख्य हो भन्ने कुरा नै सिकाइन्छ । मेनोट्टी भन्छन्, ‘यहाँ सफलताको लागि आकस्मिक आवश्यकता छ ।’

यो मेस्सीले सुरुवातबाटै अनुभव गरेको कुरा होइन । उनले अर्जेन्टिना सानै उमेरमा छोडेका थिए र पाँच वर्षपछि सन् २००६ मा मात्रै अर्जेन्टिनी फुटबल हेर्ने तरिका र जीवनसँग जोडिएका हुन् ।

‘तपाईंले बुझ्नुपर्ने कुरा के हो भने हामीले उनी अहिले जहाँ छन् त्यहाँ आइपुग्न उनलाई आकार दियौँ र शिक्षा दियौं’ जोसे पेकरम्यानका स्टाफ जेरार्डो सोलारियोले भने, ‘त्यो सबैभन्दा उपयोगी कुरा हो किनभने अर्जेन्टिनाको फुटबलमा नकरात्मकता रहेको छ । मेस्सी हल्का भावनासँग आएका थिए, बार्सीलोनामा उनले जे सिकेका थिए हामीले उनलाई त्यो भन्दा अरु सिकाएनौँ । उनले अर्जेन्टिनामा त्यस्तै खेल्न खोजे ।’

सोलारियोले यसलाई मुख्य दोषी देख्छन्, ‘नकरात्मकता धेरै नै क्रुर हुन्छ, मेरो फुटबलमा यस्तो छैन, मेरो प्रतिद्वन्द्वी मेरो साथी हो तर यहाँ अर्जेन्टिनामा प्रतिद्वन्द्वी भनेको दुश्मन हो ।’

‘यो फुटबललाई बुझ्ने एक तरिका हो हामी फुटबललाई भिन्न तरिकाले बुझ्छौं । यहाँ फुटबल नै जीवन हो । हामी जसरी बाँच्छौं त्यसरी नै खेल्छौं ।

यदि तपाईं जीवनमा दयालु हुनुहुन्छ भने तपाईं मैदानमा पनि दयालु नै हुनुहुन्छ । यदि तपाई मैदानमा दुुःखी हुनुहुन्छ भने वास्तविक जीवनमा पनि दुःखी हुनुहुन्छ । हाम्रो लागि जित जीन्दगीको सबैभन्दा महत्वपूर्ण कुरा हो’ सोलारियोले भने ।

‘मेस्सीले यसलाई बुझ्नुपथ्र्यो, हामीले उनमा भोक जगायौं । तिमी कि मैदानमा मर्नुपर्छ कि मैदान बाहिर । यदि तिमीले यो कुरा बुझ्यौ भने महसुस गर्न सक्छौ ।’

यसले मेस्सीले किन क्रोएसियाको खेलअघि आफ्नो हातले टाउको मुसारिरहेका थिए भन्ने वर्णन गर्छ । त्यस्तै सर्जियो अग्युरोलाई जब क्याबलेरोको गल्ती पछि निकालिएको थियो त्यतिखेर किन भूत देखेजस्तो भएका थिए भन्ने बुझाउँछ ।

त्यसैले वयस्क मानिस र व्यावसायिक पत्रकारहरुले टेलिभिजनको प्रत्यक्ष प्रशारणमा एक मिनेट मौनधारण गरे । त्यस्तै दर्जनौं आक्रोशित समर्थकहरुले एक्लो क्रोएयसियनलाई भेटेर मैदानमा पिट्ने एक कारण पनि यही हो ।

यी सबै निराशाबीच पनि अर्जेन्टिना अझै समूह चरण पार गर्न सक्छ । यदि उनीहरुले नाइजेरियालाई मंगलबार जिते भने उनीहरु अर्को चरणमा पुग्न सक्छन् । उनीहरुले अझै पनि विश्वकप जित्न सक्ने सम्भावना बाँकी नै छ ।

तर, यसले केही फरक पार्छ त ?

साम लीले गोलडटकममा लेखेको लेखमा आधारीत

तपाईको प्रतिक्रिया: