ग्लोबल र आदर्शलाई सफलता, इष्ट होराजन फाइनल प्रवेश

0
37

काँकरभिट्टा |झापा जिल्लास्तरीय अन्तर मावि छात्र/छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा आदर्श मावि फाइनलमा प्रवेश गरेको छ ।

जिल्ला खेलकुद विकास समितिको आयोजना तथा झापा जिल्ला समन्वय समितिको सहयोगमा काँकरभिट्टाको तुर्केनी खेल मैदानमा जारी प्रतियोगिताकोे छात्रतर्फको खेलमा आदर्शले काँकरभिट्टा माविलाई ३५ रनले पराजित गरेको छ ।

टस जितेर ब्याटिङ रोजेको आदर्शले निधारित १५ ओभरमा ९८ रनको योगफल खडा गरेको थियो । जसमा जयदेव राजवंशीले २५ रन जोडेका थिए । बलिङतर्फ काँकरभिट्टाका अञ्जन गुरुङले ३ विकेट लिए ।

प्रत्युत्तरमा ९८ रनको विजय लक्ष्य लिएर मैदान ओर्लिएको काँकरभिट्टाले सबै विकेट गुमाउँदै ६३ रन मात्र जोड्न सफल भयो । जसमा सुरज गुरुङले ३५ रन बनाएका थिए । बलिङतर्फ जयदेव राजवंशीले ३ विकेट लिए ।

आइतबारको दोस्रो सेमीफाइनल खेल ग्लोबल एकाडेमी र नवोदय माविबीच हुने झापा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख टहलदाश मैनालीले बताए ।

यसैगरी, झापा जिल्लास्तरीय अन्तर मावि छात्र/छात्रा फुटबल प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा इष्ट होराजन अंग्रेजी मावि फाइनल प्रवेश गरेको छ । काँकरभिट्टा माविको खेल मैदानमा जारी प्रतियोगिताको छात्रतर्फको पहिलो सेमीफाइनल खेलमा इष्ट होराइजनले चुलाचुली माविलाई १ शुन्य गोलको अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।

अन्तिम क्वाटर फाइनल खेलमा पशुपति माविले दुर्गापुर माविलाई २–१ गोल अन्तरले पाखा लगाएको थियो । पशुपतिका सन्दीप लिम्बु र तारानाथ राजवंशीले १/१ गोल गरेका थिए भने दुर्गा माविका उज्वल राईले सान्त्वना स्वरुप १ गोल फर्काएका थिए ।

छात्रातर्फको अन्तिम क्वाटर फाइनल खेलमा लालिमा माविले क्याम्ब्रिजलाई २– शुन्य गोल अन्तरले पराजित गरेको छ । आइतबार हुने पहिलो सेमीफाइनल खेलमा मुनाल एकाडेमी र पशुपति माविबीच प्रतिष्पर्धा हुने छ । छात्रातर्फको खेलमा ज्यामिरगढी मावि र गणेश मावि तथा कन्काई मावि र लालिमा माविबीच खेल हुने झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया: