क्रिकेटमा इष्ट होराइजन र मेची मोडल विजयी

0
47

काँकरभिट्टा |मेचीनगरमा जारी १९ औँ अन्तर मावि झापा जिल्ला स्तरीयछात्र—छात्रा क्रिकेट प्रतियोगिताको सोमबार भएको छात्रातर्फ इष्ट होराइजन र छात्रतर्फ मेची मोडेल एकाडेमी विजयी भएको छ ।

मिलन क्रिकेट क्लबको आयोजनामा मेचीनगर–६ स्थित बर्मेली टोलको तुर्केनी खेल मैदानमा भएको छात्रातर्फको खेलमा काँकरभिट्टालाई १६ रनले हराउँदै इष्ट होराइजन मावि विजयी भएको हो ।

पहिले ब्याटिङको निम्तो पाएको इष्ट होराइजनले ५ विकेटको क्षति ७१ बनाएको थियो । होराइजनका लागि नविना प्रसाईले १३ र अञ्जली सुमन १२ रन बटुलेकी थिइन् । काँकरभिट्टाकी प्रतिभा राई र लक्ष्मी रसाइलीले समान १—१ विकेट लिएकी थिइन् ।

७२ रनको लक्ष्यसहित मैदान प्रवेश गरेको काँकरभिट्टाले १० ओभर खेल्दै ८ विकेटको क्षतिमा ५५ रन मात्र बनाउन सक्यो । उसका लागि रोमा बन्जारा र प्रतिभा राईले समान १३—१३ रन बनाए पनि टिमको जितका लागि पर्याप्त भएन । वुमन अफ द म्याच घोषित प्रियंका ठाकुरले ३ विकेट लिएकी थिइन् ।

त्यस्तै, छात्रतर्फको खेलमा मेची मोडल एकाडेमीले सूर्याेदय माविलाई ४ विकेटले पराजित गरेको छ । टस जितेर पहिलो ब्याटिंग गरेको सूर्याेदय १३ दशमलब ३ बलमा ९४ रन बनाई अलआउट भयो । उसका लागि उद्धव विष्टले १६ र सन्दिपले १२ रन बनाएका थिए । मेची मोडलका प्रज्वल थापाले ३ तथा विशाल भट्टराई, प्रतिक श्रेष्ठ र जितेन खातुनले समान २—२ विकेट झारे ।

९६ रनको विजय लक्ष्यसहित मैदान प्रवेश गरेको मेची मोडलले ९ दशमलब ५ ओभरमा ६ विकेटको नोक्सानीमा लक्ष्य पूरा गर्यो । उसका लागि किशन खातुनले १९ बनाएका थिए । सूर्याेदयका तर्फबाट उद्धव विष्ट र सुदिपले २ विकेट लिएका थिए । म्यान अफ द म्याच प्रज्वल थापा घोषित भए ।

मंगलबार छात्रातर्फ काँकरभिट्टा र तारापुञ्ज तथा छात्रतर्फ एसएस निकेतन र तारापुञ्जबीच प्रतिष्पर्धा हुने क्लबका अध्यक्ष विरु श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको विजेता र उपविजेताले मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता जेठ २२ गतेसम्म सञ्चालन हुनेछ ।

तपाईको प्रतिक्रिया: