शनिश्चरे डोजो च्याम्पियन

0
62

काँकरभिट्टा | १२ औं मेचीनगर स्तरीय दिक्षेन मगर मेमोरियल खुल्ला आमन्त्रित कराँते प्रतियोगिताको टिम च्याम्पियन अर्जुनधारास्थित शनिश्चरे डोजो बनेको छ ।

कराँते खेलाडी दिक्षेन मगरको स्मृतिमा मेचीनगर सितोरियो कराँते संघको आयोजना तथा काँकरभिट्टा डोजोको संयोजनमा हिजो सम्पन्न प्रतियोगितामा शनिश्चरे डोजोले प्रथम स्थान ओगट्न सफल भएको हो ।

२३ वटा डोजोको सहभागितामा काँकरभिट्टा सामुदायिक भवनको कवर्ड हलमा सञ्चालित प्रतियोगितामा विर्तामोडस्थित देवी डोजो दोस्रो र दमकस्थित दमक डोजो तेस्रो बनेका छन् ।

एक दिवशीय सो प्रतियोगिताको प्रथम, द्धितीय र तृतीय टिमलाई प्रदान गरिएको मेडल, ट्रफी तथा प्रमाण पत्र च्याम्पियन डोजोका प्रशिक्षक कुमार उप्रेती, द्धितीय बनेको डोजोका प्रशिक्षक रविन श्रेष्ठ र तृतीय बनेको डोजोका प्रशिक्षक रेशा लिम्बूले ग्रहण गर्नुभएको थियो ।

छात्रा समूहतर्फ एशियन रेफ्री कुमार उप्रेती र छात्रतर्फ एशियन कोच बद्री विष्टले निर्णायक संयोजकको भूमिका निर्वाह गर्नुभएको प्रतियोगितामा विभिन्न तौल समूहमा प्रथम, दोस्रो र तेस्रो स्थान हाँसिल गर्ने खेलाडीहरुलाई ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि समाजसेवी विमल आचार्यले उद्घाटन गर्नुभएको प्रतियोगताको उद्घाटन समारोहलाई विशेष अतिथि जिल्ला खेलकूद विकास समितिका उपाध्यक्ष भेषराज भण्डारी(प्रशान्त), समाजसेवी विष्णु प्रसाईं, पनिता ढकाल, कराँतेका अन्र्तराष्ट्रिय रेफ्री राजु महर्जन लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

झापाका विभिन्न डोजोसहित इलाम, बेलडाँगी भुटान र खर्साङ् डोजो भारतका खेलाडीले भाग लिएका उक्त प्रतियोगितामा २० देखि ५० केजी तौल समूहमा करिब ३ सय छात्र छात्राले प्रतिष्पर्धा गरेका कार्यक्रम संयोजक बमबहादूर श्रेष्ठ(शम्भू) ले जानकारी दिनुभयो ।

संघका नगर अध्यक्ष विष्णुकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत संघका जिल्ला अध्यक्ष मिलनराज प्रसाईं र सञ्चालन नगर उपाध्यक्ष केदार ढकालले गर्नुभएको थियो ।

मेचीनगर ७ घर भएकी १३ वर्षीया कराँते खेलाडी मगरको गत वैशाख ३ गते निधन भएको थियो ।

तपाईको प्रतिक्रिया: