अमृतलाललाई एनएमसीको आर्थिक सहयोग

0
90

धुलावारी | नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि झापाले साहित्यकार एवम् पत्रकार अमृतलाल श्रेष्ठको उपचारका लागि सहयोग स्वरुप आर्थिक सहयोग गरेको छ । संस्थाका उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीका अनुसार संस्थाका सदस्यहरुलाई गम्भीर प्रकारका रोग लागेमा उपचारका लागि नगद २५ हजार रुपैयाँसम्म संस्थाले आर्थिक सहयोग गर्ने गरेको छ । लामो समयदेखि मृगौला फेल भएको कारण बाँच्नका लागि अझै सघर्ष गरिरहेका श्रष्टा श्रेष्ठलाई संस्थाले संस्थाको धुलावारी सेवाकेन्द्रबाट पाउने गरी आर्थिक सहयोग उपलब्ध गराएको उपाध्यक्ष उप्रेतीले बताए ।

चार दशकभन्दा लामो पत्रकारिता गरेका झापाका अग्रज पत्रकार श्रेष्ठ यतिबेला मृत्युसँग यसकारण संघर्ष गरिरहेका छन् कि उनले उपचारका लागि आर्थिक कठिनाइको सामना गरिरहनु परेको छ । ६ महिनादेखि उनको दुबै मृगौला फेल भएर उपचार भइरहेको छ । उपचार भन्नु पनि डायलासिस मात्रै । उपचारमा आर्थिक समस्या भएका कारण उनले विभिन्न क्षेत्रबाट आर्थिक सहयोगको अपेक्षा समेत गरेका छन् ।

‘मैले सरकारी सेवामा रहँदा पैसा र साथ सँगसँगै पाए तर, शरीरका दुबै मृगौला कामै नदिने गरी म थलिए पछि अब मेरो बिकल्प मृत्यु पर्खिनु बाहेक अर्काे विकल्प रहेन । चार दशकसम्म पत्रकारिता र साहित्यलाई सँगसँगै लिएर समाज परिवर्तनका सेवा गरेँ । तर, आज म मृत्युसँग लड्दै गर्दा साथ नपाउँदा दुःख लागेको छ ।’ संस्थाले आर्थिक सहयोग गरेकोमा खुशी व्यक्त गर्दै अवरुद्घ गलामा उनले भने—‘यो जीवन र मरणको दोसाँधमा रहेका बखत एनएमसी मेरा लागि अमृत भएर आयो ।’ सेवाबाट निवृत्त भएका बखत पाएको केही रकम पनि संस्थामै राखेको र त्यसैबाट प्राप्त व्याज रकमले विहान बेलुका हातमुख जोड्ने र उपचार गराउँदै आएको उनले बताए । अहिले उनलाई चरम आर्थिक अभाव भएको छ ।

असोजदेखि उनी निरन्तर मृगौलाको डाइलासिस गराउँदै आएका छन् उनले । हप्ताको दुई पटक डाइलासिस गराउनका लागि डाक्टरको सल्लाह भए पनि उनी रकम अभावकै कारण एक पटक मात्र गराउँछन् । विर्तासिटी अस्पताल विर्तामोडमा डाइलासिस गराउँदै आएका श्रेष्ठको हप्ताको ७ हजार खर्च हुने गरेको छ । अहिलेसम्म उनको उपचारमा ७ लाख भन्दा धेरै रकम खर्च भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here