विर्तामोडमा अझै ११७४ परिवार शौचालयविहीन, खुला दिसामुक्त अभियानलाई तीव्रता

0
197

विर्तामोड । सन् २०१६ मा झापालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्न नसकिएपछि सन् ०१७ मा प्रतिबद्धता पूरा गर्ने गरी अभियानलाई तीव्र तुल्याइएको छ ।

खुला दिसामुक्त अभियानमा लागेका स्थानीय निकाय एवम् गैरसरकारी संघ–संस्थाहरु चेतनामूलक कार्यक्रम तथा विभिन्न योजनाहरु लिएर शौचालय निर्माण हुन नसकेका गाउँ, टोल, वस्तीहरुमा पुग्न थालेका छन् भने सरोकारवालाहरुसँगको छलफल र अन्तरक्रियालाई तीव्रता दिइएको छ ।

झापामा युएन ह्याविट्याटले स्थानीय निकायसँगको सहकार्य र दिसामुक्त क्षेत्र अभियानमा काम गर्दै आएका सामाजिक संस्थाहरुमार्फत यो अभियानलाई अघि बढाएको छ । विर्तामोड नगरपालिकामा युन ह्याभिट्याटको सहयोगमा मानव विकास केन्द्रले ०१७ का लागि अभियानका विभिन्न क्रियाकलाप गर्दै आएको छ ।

यसैक्रममा विर्तामोड नगरपालिकाका कार्यकारी अधिकृत खड्गबहादुर कार्कीको अध्यक्षतामा शुक्रबार केन्द्रले नगरस्तरीय सरसफाई अभियन्ता र सरोकारवालबीच भदौसम्ममा विर्तामोडलाई कसरी खुला दिसामुक्त क्षेत्र घोषणा गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेको छ ।

मानव विकास केन्द्रका कार्यक्रम संयोजक भरत कुसुवारले सञ्चालन गरेको कार्यक्रममा सहभागीहरुले विर्तामोडमा आर्थिक विपन्नताभन्दा पनि कुनै संस्थाले शौचालय बनाइदिन्छ कि भनी मुख ताक्ने प्रवृत्तिका कारण खुला दिसामुक्त क्षेत्र अभियानमा समस्या देखिएको बताए । वडा–वडामा गठन भएका सरसफाई तथा स्वच्छता समन्वय समितिका पदाधिकारीहरुले त्यस्तो समस्या औंल्याएका हुन् । उनीहरुले क्षमता भएर पनि शौचालय बनाउन अटेर गर्नेहरुको नगरपालिकाले प्रदान गर्ने आत्यावश्यक सेवा रोक्नुपर्ने भन्दै आर्थिक कारणले नै शौचालय बनाउन नसक्नेहरुका सन्दर्भमा भने विकल्प खोज्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा युएन ह्याविट्याटका झापा जिल्ला सहजकर्ता विनोदकुमार शर्माले नेपाली समाजमा खुला दिसा–पिसाव र फोहोरमैलाका कारण मानव स्वास्थ्य तथा आर्थिक क्षयीकरण भइरहेको उल्लेख गरे । उनले ह्याविट्याटले सरसफाई तथा स्वच्छता र खुला दिसामुक्त अभियानमा गरिरहेका क्रियाकलापका बारेमा पनि जानकारी गराए ।

विर्तामोडमा अहिले पनि ११७४ घरपरिवार शौचालयविहीन रहेको तथ्यांक मानव विकास केन्द्रका कुसुवारले प्रस्तुत गरे । चिया बगान, इँटाभट्टा तथा कारखानामा काम गर्ने मजदूर परिवार, अर्काको जग्गामा बसोबास गर्ने परिवार रहेको समितिका प्रतिनिधिहरुले उललेख गरे । कार्यक्रममा चेतनामूलक कार्यक्रमहरु सञ्चालन गरेर, अनुगमनलाई तीव्र पारेर, अन्य क्रियाकलाप गरेर ०१७ भित्र विर्तामोडलाई खुला दिसामुक्त बनाउने प्रतिवद्धता जाहेर गरेको कार्यक्रम संयोजक कुशवारले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here