भद्रपुरमा आइसियू सेवा सञ्चालन, पाउने भए सर्वराधारणले राहत

0
76

भद्रपुर | मेची अञ्चल अस्पतालको आइसियू सेवा विहीबारदेखि औपचारीक रुपमा सञ्चालनमा आएको छ । भौतिक पूर्वाधारको व्यवस्थापन भए पनि जनशक्ति परिचालन अभावमा सञ्चालन प्रभावित बनेको आइसियूको झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले विधिवतरुपमा उद्घाटन गरेका थिए । दुईवटा भेन्टिलेटरसहित चार वेडको आइसियू कक्ष सञ्चालनमा आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पिताम्बर ठाकुरले बताए ।

स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको १ करोड ९० लाख रुपैयाँ मध्ये करिब ८० लाख रुपैयाँको लागतमा आइसियू सञ्चालनमा आएको हो । झण्डै चारवर्ष अघि खरिद गरिएको आइसियू मेशीन आवश्यक जनशक्ति अभावमा अस्पतालको गोदाममा थन्किएको थियो । आवश्यक पर्ने दरबन्दी अनुसारका चिकित्सक उपलब्ध गराउने मन्त्रालयको आश्वासनपछि अस्पताल विकास समितिले आइसियू सञ्चालनको प्रक्रिया अघि बढाएको थियो । जिल्ला समन्वय समिति झापाले उपलब्ध गराएको १० लाख रुपैयाँबाट चार बेड क्षमताको आइसियू कक्ष तयार भएको थियो ।

पछिल्लो चरणमा स्वास्थ्य मन्त्रालयले थप २० लाख रुपैयाँ उपलब्ध गराएपछि आइसियू सञ्चालनमा आएको हो । चार दशकअघि स्थापना भएको अञ्चल अस्पतालमा आइसियू सञ्चालनका लागि मुख्यतःएनेस्थोलोजिस्ट डाक्टर अभावमा आइसियू सञ्चालनमा समस्या भएको डाक्टर ठाकुरले बताए । डाक्टर ठाकुरका अनुसार अहिले अस्पतालमा एनेस्थोलोजिस्ट डाक्टर जोशनलाल बज्रचार्य कार्यरत छन् । आइसियू सञ्चालनका लागि अहिले अस्पतालकै जनशक्ति परिचालन गरिएको डाक्टर ठाकुरले बताए । स्थानीय तहको निर्वाचन पछि थप जनशक्ति भर्ना गरिने छ ।

आइसियू कक्षमा पाँचजना मेडिकल अफिसर र केही नर्सिङ स्टाफ कार्यरत छन् । उनीहरुले पालैपालो सेवा दिने छन् । सरकारी अस्पताल भएपनि आइसियूमा बिरामी भर्ना भएर भेन्टिलेटरको आवश्यक परे प्रत्येक दिन २ हजार तथा भेन्टिलेटर प्रयोग नगरे एकहजार पाँचसय रुपैयाँ बुझाउनु पर्ने डाक्टर ठाकुरले बताए । उक्त मुल्य निजी अस्पतालको तुलनामा ५० प्रतिशतले कमि हो । अब केही दिनमै स्वासथ्य मन्त्रालयको परामर्शमा आइसियू कक्षमा अक्सिजन प्लान्टको व्यवस्था गरिने छ । ‘ स्वास्थ्य मन्त्रालयले बेहोस गर्ने उपकरण खरिदका लागि रकम दिएको छ ’ डाक्टर ठाकुरले भने—‘ अस्पतालमा यो उपकरण छ यो रकमले अक्सिजन प्लान्ट राख्न हामी स्वास्थ्य मन्त्रालयसंग परामर्श गरेर काम शुरु गर्ने तयारीमा छौ ।’ आवश्यकता अनुसारको जनशक्ति नभएका कारण अलपत्र परेको
आइसियू सेवा

स्वास्थय मन्त्रालय, अस्पताल विकास समिति, अस्पताल परिवारसहित आम मेची अञ्चलवासीको साथ सहयोगले धेरै भएपनि आइसियू सञ्चालनमा आएको मेडिकल सुपरिटेन्डेन्ट डाक्टर ठाकुरले बताए । सेवा सञ्चालन हुनु सवैका लागि खुशीको कुरा भएको उनको भनाई छ । यसअघि सरकारी अस्पताललाई सुविधासम्पन्न बनाउँदै लैजाने नीतिअनुसार स्वास्थ्य मन्त्रालयले विभिन्न उपकरणका लागि ५० लाख रुपैयाँ मुल्य उपलब्ध गराएको थियो ।

अञ्चलको सबैभन्दा जेठो सरकारी अस्पताल मेची अञ्चल अस्पतालमा आइसियू सञ्चालन नहुँदा सर्वसाधारण नजिकका निजी अस्पतालमा आइसियू र सिसियुको सुविधा खोज्र्दै जानुपर्ने बाँध्यता थियो । उनीहरु महंगो खर्चमा उपचार गराउन बाँध्य थिए । सरकारी अस्पतालमा आइसियू सञ्चालनमा आएपछि झापासहित पूर्वी पहाडी जिल्लाका बासिन्दालाई राहत मिलेको छ । यो अस्पताल झापासहित पूर्वी पहाडी जिल्लाका बासिन्दाको उपचारको प्रमुख थलोको रुपमा छ ।

निजी स्रोत परिचालन गरेर लागत खर्च जुटाउन अस्पताल विकास समिति प्रतिबद्ध भएर लागेको थियो । ५० शैयाको स्वीकृति पाएको अञ्चल अस्पताल आन्तरिक स्रोत व्यवस्थापन गरेर भए पनि अहिले एक सय २४ शैयामा सञ्चालित छ । झापाको सदरमुकामको यो सरकारी स्वास्थ्य प्रतिष्ठानमा २२ जना विशेषज्ञ चिकित्सकको दरवन्दी भएपनि ८ जना र ६ जना मेडिकल अफिसरको दरबन्दीमा ३ जनामात्र कार्यरत छन् । अस्पतालमा दरबन्दीअनुसार विशेषज्ञको व्यवस्था नहुँदा सामान्य रोगका बिरामी पनि भारतीय अस्पताल र नर्सिङहोममा धाउन बाध्य हुने गरेका छन् । मेची अञ्चलका २६ लाख जनताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने यस अस्पतालमा अहिले दैनिक एक–डेढ सय बिरामी आउँछन् । आफूले चाहेको र खोजेको जस्तो डाक्टर नभएपछि बिरामी अन्यत्रै जान्छन् । स्थापनाको ४० वर्ष भइसक्दा पनि मेची अञ्चल अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक छैनन् । दरबन्दीमा खटाइएका चिकित्सक पनि बस्न नमानेकै कारण यो समस्या आएको हो ।

अञ्चल अस्पतालमा डाइलसिस सेवा सञ्चालन गर्ने गरी तयारी तीव्र पारिएको छ ।
सरकारी अस्पताललाई पूर्वाधार र प्रविधियुक्त बनाउने सरकारको लक्ष्यअनुसार मन्त्रालयले मेची अस्पताललाई सहयोग उपलब्ध गराउन लागेको छ । दरबन्दीअनुसारका चिकित्सक भइदिएको भए यहाँका बिरामीले निजी अस्पताल र नर्सिङ होममा धाइरहनुपर्ने अवस्था नआउने स्थानीय रामलखन महत्तो बताउँछन् ।
जनसहभागिताका आधारमा ०३३ मा निर्माण भएको मेची अञ्चल अस्पताल पूर्वी नेपालको सबैभन्दा पुरानो स्वास्थ्य प्रतिष्ठान हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here