बंगलादेशी बस्तुको आयातसंगै बढ्यो भन्सारको राजस्व

0
91

मेचीनगर |काँकरभिट्टा नाकाबाट पेट्रोलियम पदार्थबोक्ने टयाङ्करको संख्यामा बृद्घि र बंगलादेशमा उत्पादित वस्तुको आयात बढेका कारण मेची भन्सार कार्यालयको राजस्वमा समेत उल्लेखिय प्रगति भएको छ ।

भन्सारले चालु आर्थिकवर्ष २०७३/ ०७४ को जेठ महिनासम्ममा ५ अर्व ५६ करोड ६२ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिइएको भएपनि ५ अर्व ६९ करोड, ६४ लाख ३० हजार ९ सय ८९ रुपैयाँ वा लक्ष्यको तुलनामा २ दशमलव ३४ प्रतिशत बढी राजस्व संकलन गरेको कार्यालयले जनाएको छ । जेठमसान्त सम्ममा ५ अर्व ५५ लाख ३२ हजार रुपैयाँ लक्ष्य पाएको भन्सारले जेठ ११ गतेसम्ममा ३६ दशमलव २८ प्रतिशत राजस्व संकलन गरिसकेको छ । चालु आर्थिकवर्षमा भन्सारलाई विभागले राजस्व असुलीको लक्ष्य ६ अर्व १८ करोड रुपैयाँ दिइएको छ । ‘राजस्व असुलीले यसरीनै अग्रता लिइयो भने राजस्व राम्ररी पुग्छ ’ प्रमुख भन्सार अधिकृत भीमप्रसाद अधिकारीले भने—‘ चालु आर्थिवर्ष सकिन अब डेढमहिनाजति छ । ’

‘राजस्व बढ्ने मुख्य कारण पेट्रोलियम पदार्थ र बंगलादेशमा उत्पादित वस्तुको आयात बढ्नु नै हो ’ प्रमुख भन्सार अधिकृत अधिकारीले भने —‘ अघिल्ला आर्थिकवर्षमा भन्सारको कुल राजस्वमध्ये १५ देखि २० प्रतिशतमात्र पेट्रोलियम र बंगलादेशमा उत्पादन भएका यस्ता सामानले धानेको थियो । मेची अञ्चलका लागि कुल ३९ वटा पेट्रोलियम पदार्थ बोक्ने टयाङ्कर अहिले यो नाका भएर भित्रिन थालेसंगै चालु आर्थिकवर्ष २०७३÷ ०७४ को कुल राजस्वको ४० प्रतिशत पेट्रोलियम पदार्थले ओगटेको छ ।’ कार्यालयले भन्सार महसुल, अन्तशुल्क, मुल्य अभिवृद्घि कर शीर्षकमा राजस्व संकलन गर्ने गरेको छ ।

‘यसभन्दाअघि मेची अञ्चलभरिका लागि कुल ३२ वटामात्र यस्ता मालवहाक सवारी साधन आउने गर्दथे’ प्रमुख भन्सार अधिकृत अधिकारीले भने—‘चालु आर्थिकवर्ष २०७३/०७४ देखि थप ७ वटा छन्, यो नाका भएर पेट्रोलियम पदार्थको आयात बढेपछि राजस्वमा समेत उल्लेखिय प्रगति भएको हो ।’ यसैगरी बंगलादेशका उत्पादित वस्तुका आयातका कारण पनि भन्सारको राजस्व असुली सन्तोषजनक रहेको छ । बंगलालेशबाट आयातित पेयपदार्थ, खाद्य वस्तुलगायतले पनि कुल राजस्वको ४० प्रतिशत र बाकी २० प्रतिशत अन्यले ओगटेको प्रमुख भन्सार अधिकृत भीमप्रसाद अधिकारीले बताए ।

केहीवर्षअघि सम्म चालु आर्थिक वर्ष सकिन महिना दिन मात्र बाँकी हुदाँसम्म पुर्वकै ठुलो मेची भन्सार कार्यालय काँकरभिट्टालाई भन्सार विभागले दिएको वार्षिक राजस्व लक्ष्य पुरा गर्न धौ धौ पर्दथ्यो । सम्भावित राजनीतिक अन्योल र आन्दोलनको त्रासले व्यवसायी लगानी गर्न हच्किएका कारण केहीवर्षसम्म मेची भन्सारको लक्ष्य पूरा नहुने गरेको थियो । चेकजाँच र मुल्याङ्कनमा कडाई, चोरी पैठारी रोक्न नाकामा उच्च सतर्कता अप्नाउनु, लिलामी प्रक्रियालाई तीब्र पार्नु, वेरुजु असुलीलाई तीव्रता दिनुले पनि राजस्व असुली सन्तोषजनक रहेको प्रमुख भन्सार अधिकृत अधिकारीको भनाई छ ।

विभागले आयात निर्यातका विभिन्न वस्तुमा मुल्याङ्कन बृद्घि गरेपछि पूर्वी काँकरभिट्टा नाकाबाट लामो समयदेखि विभिन्न व्यवसाय गदैं आएका व्यवसायी पलायन भएको भन्सारले जनाएको छ । कार्यालयले लक्षित राजस्व पुर्याउन वेरुजु असुली र मुद्घा लिलामीका प्रक्रियालाई तीब्रता दिएको छ । यो नाका हुँदै खाना पकाउने ग्यास, मट्टितेल तयारी पोशाक, सुपारी, सिमेन्ट क्लिङ्गकर, हवाई स्प्रीड, सुती कपडा, खरानी स्ल्याग, चामल तथा कनिका, रंगीन टेलिभिजन, ग्लेज टाईल, लुब्रिकेटीङ्ग आयल मोबिल, मोटरका व्याट्री, प्लाष्टिकका प्याक गर्ने ट्युवहरुलगायतका बिभिन्न सामाग्री भारत तथा तेश्रो मुलुकबाट पैठारी भई आउने गरेका छन् । मुसुरो दाल, भेनीयर सिट, चोकर भुस, आलस, चिया, खयर कत्था, जडीबुडी फलामे संरचनाहरु, अदुवा, सुठो, सुंगुर, बेतताड, प्लाउड, क्राफ्ट पेपर, लगायतका बस्तुहरु नेपालबाट भारत तथा समुन्द्रपार निकासी हुने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here