सहकारीको पहलमा चिया कारखाना स्थापना

0
83
ईलाम | सूर्योदय नगरपालिकाको फिक्कलमा रहेको इलामेली चिया उत्पादक सहकारी संस्थाले आफ्नै लगानीमा चिया प्रशोधन कारखाना स्थापना गरेको छ।
सहकारीले करोडौँको लगानीमा कारखाना स्थापना गरेको हो। निजी चिया कारखानाले किसानलाई हरियो चियाको मूल्यमा विभिन्न बहानामा ठगिरहेको अवस्थामा सहकारीले कारखाना स्थापना गरेपछि किसान हर्षित भएका छन्।
सुरुदेखि नै अर्गानिक चियाको प्रशोधन गर्ने लक्ष्यका साथ सहकारीले ६ करोडको लागतमा कारखाना स्थापना गरेको हो।
उक्त कारखाना सहकारीस्तरको नेपालकै सबैभन्दा ठूलो अर्थोडक्स चिया कारखाना रहेको संस्थाका अध्यक्ष कृष्णप्रसाद सुवेदी जानकारी दिए। ‘कारखाना निर्माणका लागि टी बोर्डबाट ७५ लाख र सहकारी विभागबाट  ६ लाख प्राप्त भएको छ’ सुवेदीले भने।
किसानले उत्पादन गरेको हरियो चियापत्ती कारखानामा बिक्री गर्छन, तर कारखाना सञ्चालकले यो र त्यो बहाना देखाउँदै किसानलाई लागतअनुसारको हरियो पत्तीको मूल्य दिएका छैनन्।
सामान्यतयाः दुई पात एक सुइरो भएको ६० देखि ८० प्रतिशतसम्म भएको चियालाई गुणस्तरीय चिया मानिन्छ। सिजनमा किसानले उक्त गुणस्तरको चियाको मूल्य अधिकतम ६ हजार प्रतिक्विन्टल पाएका थिए। तर इलामेली चिया कारखानाले प्रतिक्विन्टल १० हजारमा गुणस्तरीय चिया खरिद गरिरहेको अध्यक्ष सुवेदीले बताए।
किसानले चिया उत्पादन गर्छन् तर उनीहरूको पहुँचमा कारखाना हुँदैन। किसानको थोरैमात्र पुँजीले कारखाना बनाउनपनि सक्दैनन्। कारखाना बनाइहाले पनि गुणस्तरीय तयारी चिया नबन्दा बजारमा बिक्री नहुन सक्छ। त्यो समस्यासँग जुध्न नसक्नु र समस्याको समाधान नखोज्दा किसानले चियाको उचित मूल्य पाउन नसकेको कन्यामका चिया किसान रेवतीरमण पौडेल बताउछन्। ‘चियाखेती मात्र गर्ने तर प्रशोधन गर्न अरूलाई दिने गर्दा मूल्य नपाइएको हो’ पौडेलले भने। किसान आबद्ध भएको इलामेली सहकारी संस्थाले स्थापना गरेको कारखानाले अहिले धमाधम हरियोपत्ती प्रशोधन गरिरहेको छ ।
हरियो चियाको मूल्य कम पाइरहेको अवस्थामा दैनिक करिब पाँच हजार किलोग्राम हरियोपत्ती प्रशोधन गर्ने क्षमता भएको कारखानाबाट कृषकले राम्रो मूल्य पाउन थालेका छन्।
यसअघि किसानले पत्तीको मूल्य बढीमा प्रतिकिलो ६० रुपैंंयासम्म मात्र पाउँदै आएका थिए। सहकारीले कृषकलाई प्रतिकिलो हरियोपत्तीको मूल्य एक सय दिन थालेपछि कारखानामा पत्तीको चापसमेत बढेको छ। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here