सम्बृद्ध मेचीनगर मेरो लक्ष्य

0
109

विमल आचार्य सामाजिक क्षेत्रमा सक्रिय व्यक्ति हुन् । व्यवसाय, राजनीति र समाजसेवालाई एकैसाथ अघि बढाएका उनी आचार्य मेचीनगर क्षेत्रमा शालीन र भद्र व्यक्तिका रुपमा चिनिन्छन् । उनले त्रिचन्द्र कलेजबाट बीएसम्मको अध्ययन गरेका छन् । उनी ट्रान्सपोर्ट व्यवसायी पनि हुन् । उनी २०५४ सालमा भन्सार एजेन्टको रुपमा पनि क्रियाशील छन् । सानै उमेरदेखि नेपाली कांग्रेसको राजनीतिमा होमिएका उनी पछिल्लो पटक मेचीनगर नगरपालिकामा कांग्रेसका तर्फबाट मेयरको उम्मेद्वार छन् ।

१० औँ महाधिवेसनमा क्षेत्रीय कोषाध्यक्ष बनेका उनी ११ औँ महाधिवेसनमा जिल्ला सदस्य बने । १२ औँ महाधिवेसनमा महासमिति सदस्य तथा जिल्ला सदस्यको जिम्मेवारीमा रहेका उनी १३ औँ महाधिवेशनको जिम्मेवारी लिन सफल बने । पार्टीको मूल जरो बलियो भयो भने सिङ्गो पार्टी बलियो हुने धारणा राख्ने उनी अन्य पार्टी समर्थकका माझ पनि मिलनसार र सहयोगीको रुपमा चिनिन्छन् । उनै आचार्यसँग १४ गते सम्पन्न हुने दोस्रो चरणको स्थानीय तह निर्वाचन, मेचीनगरमा उनको उम्मेद्वारी र उनले अघि सारेका राजीनिक तथा सामाजिक प्रतिबद्धतामा केन्द्रित रहेर मेरो मेचीनगर डट कमका लागि गरिएको कुराकानीको सम्पादित अंश ः

मेचीनगरको मेयरमा तपार्इँको उम्मेद्वारी किन ?
मेचीनगरको समग्र विकासका लागि मेरो उम्म्द्वारी हो । पाँच वर्षभित्र मैले गरेका प्रतिबद्धता र अभियानलाई स्थापित गर्ने योजनाका साथ आएको छु । यी अभियानलाई पूरा गर्न सकेँ भने यस नगरपालिकाको सम्बृद्धि गर्ने कार्यको प्रारम्भ हुनेछ । मेरो पहिलो प्रथमिकता, शुन्यसहनशीलता र विकासको व्यवस्थित कार्यान्वयन हो । नगरको सम्बृद्धिको अभियान, आमसहभागिता अभिबृद्धि ,नयाँ राजनीतिक संस्कारको निर्माण र नागरिकलाई आत्मसम्मानको अनुभूति दिलाउनु मेरो कार्ययोजना हो । यसैलाई पूरा गर्न मेरो उम्मेद्वारी हो । पार्टीले त्यही जिम्मेवारी सुम्पेर मलाई जनताको सेवक बन्न मेचीनगरमा पार्टीको तर्फबाट उम्मेद्वारी बनाएको हो । म शासक कहिलै हुन सक्दिनँ, मेरो स्वभाव पनि त्यस्तो छैन । म मेचीनगरबासीको सच्चा सेवक बन्न उम्मेद्वार भएको हुँ ।

मेचीनगरको पहिलो आवश्यकता के हो ?
मेचीनगरको मात्र होइन, अहिलेको पहिलो आवश्यकता विकास नै हो । म नागरिक सहभागिता र विज्ञहरुको सल्लाहमा व्यवस्थित विकास योजना तयार गर्छु । नगरबासीलाई यही गर्ने विश्वास दिलाउन चाहन्छु । भ्रष्टाचारमुक्त प्रशासन र नागरिकप्रति जवाफदेहीता निर्माण नै विकासको लक्ष्य प्राप्त गर्ने मेरो मुख्य आधार हो । सभ्य र सुसंस्कृत समाजको निर्माणमा गरिबी बाधक बनेर आउने गर्दछ । यसर्थ, मेरो पाँच वर्षे कार्यकालमा आर्थिक रुपले पछि परेको विपन्न वर्ग, सबैकोे आर्थिक स्तर उकास्ने विषेश कार्यक्रम सञ्चालनमा ल्याउने सोचमा छु । मेरो कार्यकाल यस नगरको सम्बृद्धिको अभियान बन्नेछ । तसर्थ, रोजगारी र आयआर्जनका लागि प्राकृतिक स्रोतहरुको परिचालन, औद्योगिक योजना र व्यवसायिक क्रियाकलापको विकास, सम्बद्र्धन र तीव्र परिचालन गर्ने मेरो लक्ष्य रहेको छ । सम्भावनाहरुको खोजी र प्रयोगप्रति म सचेत भएर लाग्नेछु ।

नागरिक सहभागितालाई कसरी एकाकार गर्नु हुन्छ ?
नागरिकको सहभागिता बेगर कुनै पनि योजना पूरा हुन सक्दैन । विगतमा तयार गरिएका योजनामा नागरिकको सहभागिता न्युन देखियो । मैले कार्य गरिरहँदा झुपडीमा बस्ने निरक्षर नागरिकदेखि सबै दलका राजनीतिक अगुवासम्म, किसान, मजदुर, उद्योगी, व्यापारी–व्यवसायी, महिला, युवा, सामाजिक अगुवा, बुद्धिजिवी, जेष्ठ नागरिक र विभिन्न सामाजिक संघ संस्थाको सहभागितालाई फराकिलो बनाएर सबैको सहयोगमा कार्य गर्ने अठोट लिएको छु । विषेशगरी, समाजको बौद्धिक वर्ग र सामाजिक अगुवाहरुको सम्मान र सक्रिय सहभागितालाई मैले प्राथमिकतामा राख्नेछु । मेरो कार्यकाल स्थानीय तहमा सबै नागरिकको सहभागिताको राम्रो समय हुनेछ । नयाँ राजनीतिक संस्कृतिको विकास मेरो प्रयत्न हो । दलीय परम्पराको अहिलेसम्मको हाम्रो अभ्यास राजनीतिक खिचातानी, दाउपेच, आरोप र प्रत्यारोपमा आधारित छ । म राजनीतिमा समन्वय र सहकार्यको संस्कृतिको निर्माणको पक्षमा छु । नयाँ राजनीतिक संस्कृतिको विकास गर्दै अरुलाई पनि सम्मान गर्ने संस्कृतिमा जोड दिन म दृढ भएर लाग्नेछु ।

यसका लागि योजना चाहिन्न ?
जरुर चाहिन्छ, योजना बिना केही पनि हुँदैन । बजेटकै खोजी र व्यवस्थापनका लागि स्थानीय सरकार हो । मेरो पहिलो काम बजेटको स्रोत खोज्ने र उपयोग गर्ने नितिमा आधारित हुनेछ । यस नगरको विकास र सम्बृद्धिका लागि स्थानीय तहको बजेट मात्र पर्याप्त हँुदैन । स्थानीय तहको बजेट मात्र प्रयोग गर्ने परिम्पराको अन्त्य गर्न प्रयास गर्नेछु । तसर्थ, मेरो कार्यकालमा प्रदेश र संघको बजेटको अत्याधिक परिचालन र प्रयोग गर्ने योजनामा केन्द्रित रहनेछु । त्यति मात्र होइन, विदेशी दातृ निकायसँग समन्वयकारी भूमिका निर्माणमा जुट्ने छु । आर्थिक अनुदान तथा सहयोगको परिचालन गरेर यस नगरको सम्बृद्धि र उन्नति गर्ने सङ्कल्प लिएको छु । हरेक नागरिकलाई मेचीनगर नगरबासी हुनुमा गौरवको अनुभूति दिलाउने मेरो लक्ष्य हो ।

व्यवसायिक छवि भएको व्यक्ति राजनीतिमा कसरी सक्रिय हुनु भयो ?
राजनीति गर्नेले कुनै पनि व्यवसाय गर्नु हँुदैन भन्ने सोच विश्वमा नै फेल भइसक्यो । कुनै पनि नेता आर्थिक रुपले आफ्नो खुट्टामा उभिन सक्ने सक्षम र इमान्दार हुनुपर्छ । त्यसैले मेरो व्यवसायलाई प्रतिष्ठा र इमान्दारितासँग जोड्नेछु । मलाई यसका लागि राजनीति गर्नु पर्दैन । एउटा मानिस सबैभन्दा पहिला परिवारको सदस्य हो र त्यसपछि ऊ समाजको सदस्य । समाजको सदस्यको नाताले म सामाजिक कार्यहरुमा रुचि लिने गर्दछु । गरिब तथा असहायको शिक्षा, उपचार र विभिन्न कठिनाइहरुमा सहयोग गरेको छु । त्यसैले, म सामाजिक व्यक्तिका रुपमा चिनिने गर्दछु । तर, म राजनीतिक व्यक्ति पनि हुँ । त्यही राजनीतिक व्यक्ति भएकाले अहिले राजनीतिक रुपमा यो निर्वाचनको मैदानमा उत्रिएको छु । जहिले पनि राजनीतिलाई सामाजिक अभियानसँग गाँस्न सक्नु पर्दछ । सफल राजनीतिक सम्बन्ध, उच्च सामाजिक प्रतिष्ठा र असल राजनीतिक चरित्र भएको व्यक्तिको खोजी अहिले हुन थालेको छ । म त्यही भूमिका निर्वाह गर्ने प्रयास गरिरहेको छु ।

नगरबासीले तपाईलाई नै भोट हाल्नु पर्ने कारण ?
अहिले म हरेक मतदाताको घैरदैलोमा पुगेर मत मागिरहेको छु । मलाई हरेक मतदाताले फरक रुपमा बुझिरहनु भएको छ । अहिलेका सबै उम्मेद्वारभन्दा मभित्र केही कुरा फरक देखिएको हुनुपर्छ । सबै मतदा ताको साथ मलाई रहेको छ । मैले अहिलेसम्म राजनीतिक रुपमा कसैलाई नजिक र कसैलाई टाढाको व्यवहार गरेको छैन् । समस्या र अप्ठ्यारामा परेका सबै दलका मानिसलाई मैले सहयोग गरेको छु । विकास, सहभागिता र सम्बृद्धिका बारेमा म प्रष्ट अवधारणा बोकेर आएको छु । यसैकारण म अरुभन्दा फरक छु । मलाई भोट हाल्नु पर्ने यी कारण मुख्य भए पनि वीपीको समाजवादी चिन्तनबाट प्रेरित व्यक्ति हुँ, म । वीपीको आर्थिक समाजवादको नीतिलाई व्यहारमा उतार्ने प्रयास गर्नेछु । मलाई लाग्छ वीपीको समाजवादभन्दा अरु राजनीतिक वाद, सिद्धान्त मानिसको जीवनसँग जोडिने उत्कृट सिद्धान्त सायदै होला ।

नगर भित्रका जटिल समस्या ?
यहाँ समस्याको चाङ छ । तर, यस नगरका प्रमुख समस्या भनेका व्यवस्थित सुदृढ विकासका पूर्वाधारको अपूर्णता नै हो । ऐलनी जग्गा र जग्गा धनीपुर्जाको वितरण, निन्दा, हडिया नियन्त्रण, गरिबी, बेरोजगारी, सडक, विद्युत्त, स्वास्थ्य, शिक्षा र खानेपानी नै प्रमुख समस्यका रुपमा देखिएका छन् ।

मेचीनगरको पर्यटन विकास गर्न तपाईको योजना ?
पर्यटन विकासका सम्भावना बोकेको छ, यस नगरले । धार्मिक पर्यटन । कृष्णथुम्की, मिनि माउन्टेन, पातलगङ्गा जस्ता महत्वपूर्ण स्थल छन्, यहाँ । प्राकृतिक पर्यटन पनि त्यत्तिकै छ । सांस्कृतिक पर्यटनका रुपमा कोच, राजवंशी । किसान, धिमाल र अन्य जातिको संस्कृति विकास जरुरी छ । पर्यटन विकासका आधारहरुको व्यवस्थित योजना तयार गरेर यस नगरमा पर्यटन विकास गर्ने योजनाहरु मैले सार्वजनिक गरिसकेको छु । मेरो प्राथमिकताको सूचीमा यो विषय सबैभन्दा महत्वपूर्ण रहेको छ ।

तपाई मेयर बन्नुभयो भने मेचीनगरबासीले के पाउँछन् ?
विकास र सम्बृद्धिको अभियान । यही नाराको कार्यान्वयनका पक्षमा म दृढ भएर उभिएको छु । हामीले प्रतिबद्धत्ता व्यक्त गरेका यी कार्यहरुको पूर्णता नै नगरबासीको सम्मान र सम्बृद्धि हो । मेचीनगरबासी हुनुमा गर्व गर्ने परिस्थितिको निर्माण गर्न सक्नु नै भविष्यका सन्ततिलाई हामिले दिने अमूल्य उपहार हो । हामीले अठोट गरेको यो अभियानलाई पूरा गर्नुपर्छ ।

नगरका मतदातासँग तपाईको के अपेक्षा छ ?
नगरबासीको सम्मान र सम्ृबद्धिको अभियान मेरो मुख्य लक्ष्य हो र यस अभियानमा मलाई मेरो पार्टी तथा पार्टीका उम्मेद्वारलाई साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण आदरणीय मतदातामा हार्दिक अनुरोध गर्दछु । गर्व गर्ने परिस्थितिको निर्माण गर्न र सुन्दर र सुसंस्कृत समाजको निर्माणमा यहाँको बौद्धिक वर्ग, सामाजिक अगुवा, व्यवसायी तथा व्यापारी, किसान र मजदुर, पत्रकार एवम् नागरिक पङ्क्तिलाई विकासको अभियानमा पङ्क्तिबद्ध हुन आग्रह गर्छु ।

यी योजना पूरा गर्नु हन्छ त ?
गर्छु । तर, त्यसका लागि नगरबासीले वाद र विचारभन्दा माथि उठेर सहयोग गर्नुपर्छ । म कसैलाई पनि राजनीतिक आँखाले हेर्दिनँ । नगर हाम्रो घर हो, राम्रो नगर हाम्रो लक्ष्य हुनुपर्छ । हाम्रो मेचीनगर राम्रो र सम्बृद्ध मेचीनगर बनाउन सबैको सहयोग बिना सम्भव छैन । त्यसैले म आह्वान गर्छु । आउनुहोस् हाम्रो मेचीनगर बनाऔँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here