‘७० नाघ्नुभयो, विश्राम लिनुस्’ : कांग्रेस युवा नेताको आवाज

0
135

काठमाडौँ — नेतृत्व परिवर्तनको मुद्दा उठ्न थाल्ने बित्तिकै कांग्रेस सभापति शेरबहादुर देउवा कहिले मलेसीयाका प्रधानमन्त्री महाथिर मोहम्मदको उदाहरण दिन्छन् त कहिले ज्योतिषले ७ पटक प्रधानमन्त्री हुने भविष्यवाणी गरेको प्रसंग ल्याउँछन् ।

 

राज्यका तीनै तह प्रदेश, स्थानीय र प्रतिनिधिसभाको निर्वाचनमा नराम्रो हार खाएपछि केही युवाको समूहले पार्टीभित्र नेतृत्व परिवर्तनको मुद्दा उठाइरहेका बेला सभापति देउवाले मलेसियामा ९२ वर्षीय महाथिरको सत्तारोहणको प्रसंग अभिरुचीपूर्वक सुनाउन थालेका छन्।

असार २९ गते ट्रेड युनियन कांग्रेसको उद्घाटन कार्यक्रममा यस्तै प्रसंग ल्याएर देउवाले आफू तत्कालै नेतृत्वबाट नहट्ने संकेत मात्रै दिएनन्, अबको दशक सम्मै सत्ता र पार्टी राजनीतिको केन्द्रबिन्दुमा आफू रहने संकेत समेत गरे।

उमेरको हिसावले देउवा ७३ वर्ष पुगेका छन्। महाथिर ९२ वर्ष। ६ दशक लामो मलेशियाको सत्तारुढ दललाई यी बयोवृद्ध नेताको विचारले पराजित गर्‍यो र ‘रिटायर्ड’ भइसकेका महाथिर राजनीतिमा ‘कमब्याक’ भए। ठिक विपरित देउवाको नेतृत्वमा पार्टीले तीनै तहका निर्वाचन हारेको छ। पुरातन शैलीका देउवामा पार्टीलाई पुर्नजागरण दिने कुनै नविन विचार र कार्यक्रम छैन। बरु उनलाई नेतृत्व छाड्न दबाव छ।

केही समय अघि कांग्रेस नेता बालकृष्ण खाँणले देउवा र अर्का वरिष्ठ नेता रामचन्द्र पौडेलसंगको भेटमा महाथिर कसरी सत्तामा ‘कमव्याक’ भए भन्ने प्रसंग सुनाएका थिए। कांग्रेसका यी दुई शीर्ष नेता महाथिरकै उमेरको हाराहारीमा नभएपनि नेपाली राजनीतिको नेतृत्व तहमा रहेका सबैभन्दा पाका नेता हुन्।

‘तपाईंहरुसँग अझै नयाँ विचार केही छ भने त्यसलाई ल्याउनुहोस् नत्र अब नेतृत्व हस्तान्तरण तिर लाग्नुहोस्,’ महाथिरको प्रसंगारे खाँणको संकेत थियो।

सभापति देउवा ७३ र पौडेल ७४ वर्षमा पुगेका छन्। पार्टीको आन्तरिक शक्ति संघर्षका दुई कित्तामा रहेर नेतृत्व लिईरहेका देउवा र पौडेल अझै विश्राम लिने योजनामा छैनन्। देउवा र पौडेलको छाहारीमा आफ्नो सुरक्षा देख्ने केही तप्का छन्, जसले यीनलाई चाहेर पनि विश्राम लिन दिन्नन्।

कांग्रेस नेता खाँण देउवा र पौडेल मात्रै होइन, पार्टीभित्र ७० बर्ष उमेर पुगेका नेताहरुले विश्राम लिनुपर्ने बताउँछन्। उनका अनुसार उमेर र क्रियाशीलताको आधारमा नेताहरुको बहिगर्मनका लागि एउटा मापदण्ड बनाउनु पर्छ।

‘उमेरमा ७० र क्रियाशिलताका आधारमा २० वर्ष केन्द्रीय सदस्य भएकाले विश्राम लिने प्रस्ताव पार्टीको विधानमा राख्दा राम्रो हुन्छ,’ खाँण भन्छन्, ‘उमेरमा ७० नपुगे पनि २० वर्ष केन्द्रीय कार्यसमितिको सदस्य भएमा स्वत: अवकाश पाउँछन्।’ यस्तो मापदण्ड लागु भएमा खाँण समेत अवकाशको सूचीमा पर्छन्।

उमेरले ५८ लागेका खाँण केन्द्रीय कार्यसमितिमा सदस्य भएको १९ वर्ष नाघेको छ। ‘म सम्मानपूर्वक अवकाश लिन तयार छु,’ उनले कान्तिपुरसँग भने, ‘अरु सबै तयार हुनुपर्छ।’ खाँणको भनाईलाई सँगै रहेका ७० वर्षिय मानबहादुर विश्वकर्मा र डिला संग्रौलाले समेत समर्थन जनाए।

कांग्रेसमा उमेर हदको कुरा यसपटक मात्रै चर्चामा आएको होइन। केही समयअघि कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमै नेता प्रदीप गिरीले ७० वर्षे उमेर हदको मापदण्ड राख्न प्रस्ताव गरे। तर, देउवाले ‘आफूलाई गेटआउट’ गर्न खोजेको अर्थमा लिए।

कांग्रेसका युवा नेता गगन थापाले जीवनको उर्जावान समयपछि राजनीतिबाट अलग हुनुपर्छ भन्ने मान्यता राख्दै ५५ वर्षमै आफू क्रियाशील राजनीतिबाट अलग हुने प्रतिवद्धता धेरै अघि राखेका हुन्। आफ्नो हकमा ‘रिटायर्ड’ हुने ५५ वर्षको हद तोकेपनि सबैका लागि यहिँ नै मापदण्ड बन्नुपर्छ भन्ने भनाई नरहेको थापाले बताए। नेता खाँणले राखकै प्रस्तावमा उनी सहमत छन्।

‘पार्टीमा प्रवेश र जिम्मेबारीबाट अवकास हुन पार्टीभित्र वैज्ञानिक व्यवस्थापन पनि जरुरी छ,’ थापाले भने, ‘कसरी बहिगर्मन गर्ने भन्ने कुरा व्यवस्थापन गर्न सकेनौ भने कोलाहल हुन्छ। समस्या आउँछ।’

उनका अनुसार कि त कांग्रेस बेलायतको पद्दतीमा जानुपर्छ, नभए निश्चित उमेरपछि ‘रिटायर्ड’ लिने व्यवस्था हुनुपर्छ। बेलायतमा पार्टी पराजित हुँदा नेतृत्वले राजनीतिबाट विश्राम लिने पद्दति छ। ‘बेलायतको बाटो हिड्न नसक्ने भए हाम्रो परिभेषमा ७० वर्ष पुगेपछि राजनीतिबाट विश्राम लिने उपाय नै उपयुक्त हुन्छ,’ थापाले भने, ‘निर्वाचन हार्दा र जति उमेर पुग्दा पनि छाड्न नपर्ने भए यो पार्टीमा नयाँ नेतृत्वको कहिल्यै उदय हुनसक्दैन।’

पहिलो पुस्ताले बाटो नछाडिदिने हो भने नेतृत्वको आकांक्षा राखेका कांग्रेसका दोस्रो पुस्ता सवैभन्दा पीडित हुने देखिन्छ। यो पुस्ताले १४ औं महाधिवेशनमा अवसर नपाएमा १५ औं महाधिवेशनमा पुग्दा सवैको उमेर ७० देखि ७५ सम्म पुग्छ।

नेतृत्वमा आउनका लागि दोस्रो पुस्तामा महामन्त्री सशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, शेखर कोइराला, रामशरण महत, विमलेन्द्र निधि लगायतका नेता अग्रसर छन्। एकपटक देउवा आफैं सभापतिको प्रतिस्पर्धा गर्ने तम्तयार गरेकाले संस्थापन पक्षमा नेतृत्वका लागि अन्य दावेदार छैनन्। तर, संस्थापनइतर पक्षबाट धेरै यस प्रतिस्पर्धामा देखिन्छन्। वरिष्ठ नेता पौडेल स्वयंको भित्री चाहना अन्तिमपटक सभापतिमै प्रतिस्पर्धा गर्ने छ। पौडेलको विकल्पमा शेखर, सशांक कोइराला र सिंह खरो रुपमा अघि बढेका छन्।

१४ औं महाधिवेशनमा अवसर नपाएमा सिंह १५ औं महाधिवेशनमा पुग्दा ७० पुग्छन्। शेखर ७५ पुग्छन भने सशाकं ६८ वर्षमा पुग्छन्। सिटौला र शेखर १४ औं महाधिवेशनमै ७१ वर्ष उमेरका हुने छन्।

‘दोस्रो पुस्तालाई अब समयको सुविधा छैन, त्यसैले पनि नेतृत्वका लागि रस्साकस्सी १४ औं महाधिवेशनमा प्रवल बन्ने संभावना छ’ कांग्रेसका एक नेता भन्छन, ‘१४ औं महाधिवेशनमा दोस्रो पुस्ताले अवसर पाएन भने त्यसपछि गगनको पुस्तामा आईपुग्छ।’

उमेरमा सत्तरी र केन्द्रीय कार्यसमितिमा २० वर्ष सदस्य भएको मापदण्ड लगाउँदा देउवा र पौडेलसहित दोस्रो पुस्ताका एक दर्जन बढी नेताहरु रिटायर्ड सूचीमा पर्छन्। यसो भयो भने तेस्रो पुस्ताका युवा नेताहरु नेतृत्वमा आउने संभावना बढ्छ। कांग्रेस केन्द्रीय कार्यसमितिमा अहिले तीन पुस्ताको प्रतिनिधित्व छ। पहिलो पुस्ताको नेतृत्व देउवा र पौडेलले गरेका छन्। त्यसपछि दोस्रो पुस्तामा ६० देखि माथिका नेताहरु हावी छन्। पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला ६९ वर्षमा पुगेका छन् भने रामशरण महत र शेखर कोइराला ६८ वर्षमा छन्। अर्जुनरनसिंह केसी, प्रदीप गिरी, नारायण खड्का, मानबहादुर विश्वकर्मा ७० पुगेका छन्। पार्टीमा कुलबहादुर गुरुङ सबैभन्दा ज्येष्ठ सदस्य हुन्। उनी ८३ वर्षमा छन्।

लगातार २० वर्ष र त्यसभन्दा बढी सदस्य हुने दुई शीर्ष बाहेक कुलबहादुर गुरुङ, बलवहादुर केसी, रामशरण महत, महेश आचार्य, अर्जुननरसिंह केसी, दीलवहादुर घर्ती छन्।

अर्का युवा नेता प्रदीप पौडेल ७० वर्षको उमेरमा धेरै मौका पाईसक्ने भएकाले त्यसभन्दा बढी राजनीतिमा क्रियाशील हुन नहुने बताउँछन्। ‘यो उमेरसम्म आईपुग्दा एउटा क्रीयाशील नेता केन्द्रीय सदस्यदेखि मन्त्री सम्मको सबै अवसर लिइसकेको हुन्छ, उसको देशव्यापी नेटवर्क बनेको हुन्छ। साधनस्रोत सबै हुन्छ,’ पौडेल भन्छन, ‘उसले छाडिदिएन भने तलका मान्छेले प्रतिस्पर्धा गरेर आउन कठिनाई हुन्छ।’

कान्तिपुरबाट साभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here