अम्लिसोको निर्यात हरेक वर्ष बढ्दै

0
71

मेचीनगर | अन्य कृषि उत्पादनको आयात लगातार बढिरहेका बेला पुर्वी पहाडी जिल्लाको मुख्यः नगदेवालीको रुपमा रहेको अम्लिसो (कुचो) को माग भने भारतमा बढेको बढ्यै छ । पूर्वी काँकरभिट्टा नाका हुँदै भारततर्फ जाने अम्लिसोको निर्यात बर्षेनी बढ्दो मात्रामा रहेको क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको छ ।

नेपालमा उत्पादित अम्लिसो विशेषगरी भारतको पश्चिम बंगाल, गुजरात, मध्यप्रदेश राजस्थान, पञ्जाव, हरियाणा, आन्ध्र प्रदेश युपीलगायतका शहरमा खपत हुने गरेको कार्यालयका वरिष्ट क्वारेन्टाइन शुकदेव मैनालीले बताए । अनुसार वितेको आर्थिक वर्ष २०७४/२०७५ मा यो नाका हुँदै ४३ करोड २० लाख ३२ हजार रुपैयाँ मुल्य बराबरको १३ हजार ५ सय १ मेट्रिक टन अम्लिसो निर्यात भएको छ । अघिलो आर्थिक वर्ष २०७३/२०७४ मा १९ करोड २५ लाख ९७ हजार रुपैयाँ मुल्य बराबरको १२ हजार ४सय ४० मेट्रिक टन अम्लिसो निर्यात भएको वरिष्ठ क्वारेन्टाइन अधिकृत सुखदेव मैनालीको भनाइ छ । अम्लिसो निर्यात वापत प्रतिकेजी ३२ रुपैयाँ बुझाउनु पर्छ ।

नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङ पाँचथर, इलाम र झापाका केही स्थान तथा संखुवासभा, सिन्धुली, वनेपा, हेटौडा लमजुङमा उत्पादित अम्लिसो वार्षिक रुपमा अढाइदेखि तीन लाख वण्डल भारततर्फ निर्यात हुने गरेको नेपाली कुचो व्यवसायीहरु बताउँछन् । झापामा मात्र चार दर्जनभन्दा बढी कुचो व्यवसायी रहेको नेपाल अम्लिोसो कुचो व्यवसायी संघले जनाएको छ ।

व्यवसायीहरुले मंसीरदेखि चैत महिनासम्मलाई सिजनका रुपमा लिने गरेका छन् ।
झापाली कुचो व्यवसायीबाट प्रत्यक्ष अप्रत्यक्ष रुपमा सात हजारभन्दा बढीले रोजगारी पाएका छन् । यसले गर्दा धेरैलाई अवसर मिलेको छ । कुचो व्यवसायीले विभिन्न स्थानबाट काँचो अम्लिसो ल्याएर भण्डारण गर्ने, तीन चार घाम सुकाउने त्यसपछि दुई अढाई केजीको मुठ्ठा बनाई ५० केजीको बण्डल बनाएर निर्यात गर्ने गरेको व्यवसायीको भनाई छ । निर्यात वापत सरकारले कृषिजन्य वस्तु भएका कारण भ्याट छुट गरेको छ । निकासी प्रकृया कुनै झण्झटिलो नभएको तर बाटामा ढाँट राखेर लिने अनावश्यक करले व्यवसायीले आर्थिक व्ययभार खेप्नु परेको भएपनि अहिले त्यसको अन्त्य भएकाले व्यवसायीहरुले केही राहत महसुश गरेका छन् । एक जिल्लाबाट अर्काे जिल्ला लैजाँदा सम्बन्धित जिल्लामा निकासी वापत कर तिरे हुन्छ तर बाटैपिच्छे ढाँट तेस्याएर कर संकलन गरिने कार्यबाट शुरुमा हरेक व्यवसायी पीडित बन्नु परेको थियो ।

कुचोको निर्यात लगातार बढेको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष ०६७ /०६८ मा यसको निर्यात सबैभन्दा उकालो लाग्यो । सो वर्ष १२ करोड ९४ लाख ९ हजार रुपैयाँ मुल्य बराबरको १२ हजार ९ सय ४१ मेट्रिक टन निर्यात भएको अम्लिसो ०६८ /०६९ मा आइपुग्दा २६ हजार ८ सय ७ मेट्रिक टन वा २५ करोड ३० लाख ८२ हजार रुपैयाँ मुल्यको निर्यात भएको थियो । ०६८ /०६९ मा निक्कै माथि पुगे पनि ०६९ /०७० मा भने तल झर्यो । सो वर्ष ११ हजार ३ सय ३९ मेट्रिक टन वा ११ करोड १६ लाख २३ हजार रुपैयाँ बराबरको निर्यात भएको कार्यालयले जनाएको छ ।

०७० /०७१ मा १५ हजार २ सय ९५ मेट्रिक टन वा १४ करोड १३ लाख ८८ हजार रुपैयाँ मुल्यको अम्लिोसो कुचो निर्यात भएको थियो । आर्थिक वर्ष २०७१/२०७२ मा १२ हजार ६ सय ८ मेट्रिक टन वा १२ करोड ५५ लाख ९२ हजार रुपैयाँ तथा २०७२/ २०७३ मा २० हजार ५ सय ९७ मेट्रिक टन वा २९ करोड ७९ लाख ७० हजार रुपैयाँ मुल्य बराबरको कुचो निर्यात भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here