लागू औषध तस्करीमा महिला र बालबालिकाको प्रयोग बढ्दो

0
93

काँकरभिट्टा | पछिल्लो समय लागू औषधमा संलग्न कारोवारीहरुले महिला र बालबालिकालाई प्रयोग गर्न थालेका छन् । केही समयअघि दमक नगरपालिका—१४ बस्ने २५ वर्षीया अस्मिता भन्ने कोपिला तामाङलाई चारकेजी चरेशसहित इलाका प्रहरी कार्यालय काँकरभिट्टाको मुख्य ढोकाबाटै प्रहरीले पक्राउ गरेको थियो ।

काँकरभिट्टाबाट भारतको पानीट्याँकीतर्फ जादैँ गर्दा करिव चारलाख रुपैयाँ मुल्य बराबरको प्रतिबन्धित लागू औषधसहित उनलाई पक्राउ गरिएको घटना सेलाउन नपाउँदै सोमबार दमक नगरपालिका —९ बस्ने २० वर्षीया रुपा पाण्डे १५ ग्राम ब्राउन सुगरसहित काँकरभिट्टामा पक्राउ परेपछि यसमा संलग्न कारोवारीहरुले पछिल्लो समय महिलालाई प्रयोग गर्ने गरेको रहस्य खुलेको हो ।

भारतको पानीट्याँकीबाट काँकरभिट्टातर्फ आउदै गर्दा लागु औषध नियन्त्रण व्यूरो काँकरभिट्टा, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएका सादा पोशाकका प्रहरीले शंका लागि जेकजाँच गर्दा महिलाले बोक्ने हाते व्यागमा उक्त परिमाणको ब्राउन सुगर फेला परेको थियो । यी त थोरै मात्र यस्ता पात्र हुन । उनीहरु जस्ता धेरै महिलाको नाम प्रहरीसँग सुरक्षित छ ।
पक्राउ परेकी पाण्डेको वयानका आधारमा प्रहरीले मेचीनगर नगरपालिका —६ का २३ केशरमान राईलाई समेत नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार उक्त परिमाणको लागू औषध काठमाण्डौँ लैजान तयारीका साथ नेपाल भित्रयाइएको थियो । प्रहरीले दुवैलाई जिल्ला अदालत झापाबाट सात दिनको म्याद थपि अनुसन्धान शुरु गरेको छ ।

यसैगरी,मोरङ पथ्री शनिश्चरे—१ का ११ वर्षीय करण दास ५१ एम्पुल इञ्जेक्सनसहित काँकरभिट्टामा पक्राउ परे । उनलाई प्रयोग गरेका थिए सोहि ठाउाका एक व्यक्तिले दाहिने खुट्टामा बाँधेर ल्याउर्दै गर्दा उनी पक्राउ परेका हुन् । २ सय रुपैयाँ दिनेश शर्तमा उनलाई कारोवारीले प्रयोग गरेको प्रहरीले बताएको छ । मलाई दुईसय रुपैयाँ दिने भनेर खुट्टामा बाँधेर लागू औषध ल्याउन लगाएका हुन् उनको भनाई उद्धृत गर्दै एक जना प्रहरी अनुसन्धान अधिकृतले बताए । यसले पनि पुष्टि गर्छ लागू औषध ओसार पसारमा बालबालिकाको प्रयोग बढ्न थालेको । उनलाई पथरीबाट लिएर आउने र उक्त सामान ३ हजार रुपैयाँमा खरिद गर्ने सोहि ठाउँका १९ वर्षीय अजय लिम्बु पनि पक्राउ परेका छन् ।

पुरुष प्रहरीको बढी निगरानीमा पर्ने र महिला तथा बलबालिकालाई खासै चेकजाँच नगर्ने सोचका कारण कारोवारीले महिला तथा बालबालिकालाई प्रयोग गर्ने इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक टंकप्रसाद भट्टराईको भनाई छ । ‘बालबालिकालाई प्रहरीले खासै यादै गर्दैन भन्ने विश्वास छ कारोवारीलाई, त्यहि सोचेर पछिल्लो समय बालबालिकाको प्रयोग बढेको छ ’ प्रहरी नायव उपरीक्षक भट्टराईले भने—‘भारतका विभिन्न ठाउँमा पुगेर धेरै महिलाले लागू औषध सेवन गरी आउने भएपनि ओसार पसारमा खासै महिला संलग्नता देखिएको थिएन् । तर पछिल्लो समय ओसार पसारमा महिलाको संलग्नता एक्कासी बढेको छ ।’ उनीहरु ‘क्यारियर’का रुपमा परिचालित रहेको उनको भनाई छ ।

समाजमा विद्यमान समस्याको रुपमा रहेको लागु औषध दुव्र्यसनी तथा ओसार पसार रोक्न सरकारको नजर परिरहेको र यसलाई रोकथाम गर्न सरकारको मात्र मुख नताकी जनता आफै जागरुप हुन पर्ने लामो समयदेखि लागू औषध विरुद्ध विभिन्न काम गर्दै आएको नाइट चेस क्लव काँकरभिट्टाका अनुगमन अधिकृत गोविन्द न्यौपानेको भनाई छ ।

दुव्र्यसनमा फसेकाहरुले उपचार पाउनु उनीहरुको अधिकार हो तर कुलतमा फस्नु अधिकार भित्र नपर्ने उहाँ बताउँनुहुन्छ । लागुऔषध दुव्र्यसनी नेपालको मात्र साझा समस्या नभएर विश्वमा नै रहेको समस्या हो र दुव्र्यसनीलाई अपराधीको जस्तो व्यवहार नगरी उपचार गर्नु पर्ने एक पूर्व लागू औषध प्रयोगकर्ताको भनाई छ ।

लागूऔषध एैन २०३३ मा लागूऔषध उत्पादन, भण्डार, बेचबिखन तथा ओसारपसारमा संलग्नलाई दुईबर्षदेखि १५ बर्षसम्म कैद वा दुईलाख रुपैयाँसम्म जरिवाना तथा प्रयोगकर्तालाई एकमहिनाको कैद तथा दुईहजार रुपैयाँ जरिवानाहुने वा सुधार केन्द्र पठाउन सकिने कानुनी व्यवस्था छ ।

लागु पदार्थको प्रयोगबाट निस्कने परिणाम डरलाग्दो हुन्छ । यसले व्यक्ति आफै, परिवार, समाज, राजनीति, राष्ट्र र अन्तर्राष्ट्रियरुपमै खतरा पैदा गर्दछ । यसकारण पनि यसबाट बच्नका लागि सवैले बेलैमा ध्यान दिन जरुरी रहेको क्लबका पूर्व अध्यक्ष तथा स्वास्थ्यकर्मी दिलीप सुवेदी बताउछन् । उनी भन्छन् —‘रोग लागेर औषधि गर्नु भन्दा रोगको बाटो छेक्नु नै जाति भने झै यसको सेवनबाट हुने विभिन्न प्राणघातक रोग लागेर अकालमै मृत्यु वरण गर्नुभन्दा यसको सेवनदेखि टाढै बस्नु बुद्धिमानी होला । ’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here