४ चैत, झापा : जिल्लाका विभिन्न स्थानमा एकसाताको अवधिमा १५ ठाउँमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आगलागीका कारण १५ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । गएको (आइतबार) २६ फागुनदेखि (शनिबार) ३ चैत सम्ममा जिल्लामा भएका आगालागीमा परी पाँच वटा चौपाया मरेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार जिल्लाका १५ वटा पालिकाका विभिन्न ठाउँमा भएको आगलागी कारण धनमाल, भौतिक संरचना चौपाया, लत्ताकपडा गरगहनाल भाडावर्तनलगायतका सामाग्री डढेर १५ करोड ६१ लाख ९५ हजार ५ सय रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी, प्रवक्ता प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिनुभयो ।
एकसाताको अवधिमा अर्जुनधारा भद्रपुर, शिवसताक्षँी नगरपालिकाभित्र र गौरीगञ्ज, हल्दिवारी गाउँपालिका क्षेत्रमा दुई/दुईवटा, मेचीनगर नगरपालिकाक्षेत्र भित्र तीन तथा कन्काई नगरपालिका र झापा गाउँपालिकाक्षेत्रभित्र एक एकवटा आगलागीका घटना भएको प्रहरीले जनाएको छ । धेरैजसो घटना विद्युत सर्टका कारण भएको पाइएको छ ।
फागुन २८ गते बिहान ५ बजेदेखि मेचीनगर–१ ५ज्यामिरगढीमा रहेको देशकै ठुलो भगवती लेमिनेट्स प्लाइउड कारखानामा आगलागी भएको थियो । आगलागी नियन्त्रणका लागि आठवटा दमकल प्रयोग गरिएको र उद्योगको कच्चा पदार्थमा बढि क्षति पुगेको बताईएको छ ।
मेचीनगरक्षेत्रमा मात्र कारखाना, गोठघर र अन्य गरी तीन वटा संरचनामा आगलागी हुँदा १५ करोड ३२ लाख रुपैयाँको क्षति भएको प्रहरीले जनाएको छ । यो अवधिमा सवैभन्दा बढी आठवटा परालको कुन्युमा आगालागी भएको छ । यसैगरी, दुईवटा घर, एउटा भान्सा घर, दुईवटा गोठघर, एउटा फ्याक्ट्री, दुईवटा वन तथा अनय एकमा आगलागी भएको छ ।
अर्जुनधारा नगरपालिका क्षेत्रमा दुईवटा परालको कुन्यूमा आगालगी हुँदा ४० हजार रुपैयाँ, कन्काई नगरपािलकाक्षेत्रमा एउटा घरमा आगलागी हुँदा १० लाख रुपैयाँ,भद्रपुर नगरपालिकाक्षेत्रमा एउटा परालको कुन्यू र एउटा वनक्षेत्रमा आगालागी हुँदा ७० हजार रुपैयाँ, शिवसताक्षँी नगरपालिकाक्षेत्रमा दुईवटा परालको कुन्यूमा आगालागी हुँदा ११ हजार ५ सय रुपैयाँ, हल्दिवारी गाउँपालिकामा एउटा परालको कुन्यू र एउटा वनमा आगलागी हुँदा ५ हजार रुपैयाँ गौरीगञ्ज गाउँपालिकाक्षेत्रमा दुईवटा परालको कुन्युमा आगलागी हुँदा ५४ हजार रुपैयाँ र झापा गाउँपालिकामा एउटा घर, एउटा भान्सा घर र एउटा गोठघर ‐एउटै व्यक्तिको) मा आगलागी हुँदा १८ लाख १५ हजार रुपैयाँको क्षति भएको बताईएको छ । जिल्लाका अधिकाँश घरमा आगलागी हुँदा लत्ताकपडा, भाडा, अन्नपातसमेत पूर्णरुपमा जलेको प्रहरीको भनाई छ । विद्युत सर्ट, बालबालिकाले परालको कुन्यू नजीकै खेल्दा, परालको भुस बाल्दा,जंगलमा चुरोट खाएर जथाभावी मिल्काउने गरेका कारण अधिकाँश स्थानमा आगलागीका घटना भएको प्रहरीले जनाएको छ ।