१८ चैत, मेचीनगर : झापा जिल्लामा दुर्घटनाका कारण मृत्यु हुने आधाभन्दा बढी मोटरसाइकलसँग सम्बन्धित रहेको तथ्याङ्कले देखाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ को आठमहिनामा जिल्लामा मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३९ जना रहेको छ ।
चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा सवारी दुर्घटनामा मृत्यु भएका ५३ मध्ये ३९ जनाको मोटरसाइकल दुर्घटनाका कारण ज्यान गएको कार्यालयका प्रहरी नायव निरीक्षक पूर्ण गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार, चालू आवमा भएका दुर्घटनामा परी निधन भएकामध्ये ३९ जना स्वयम् मोटरसाइकल चालक र त्यसमा सवार रहेका थिए । मोटरसाइकल ठक्कर दिएर मृत्यु र घाईते बनाएका पैदल यात्रीको अभिलेख यसमा संलग्न नभएको कार्यालयले जनाएको छ ।
मोटरसाइकल आफैँमा मात्र होइन अरूका लागि पनि असुरक्षित सवारी देखिएको प्रहरीले जनाएको छ । मोटरसाइकल दुर्घटनामा पर्नेहरु २० देखि ४० वर्ष उमेरसमूहका रहेको कार्यालयले जनाएको छ । ‘मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाउने पनि कलिलै उमेरका बढी रहेका छन् ’ एकजना प्रहरीले भने —‘क्षमता भन्दाबढी चढ्ने अनि तीव्र गतिमा चलाउने गरेका कारण दुर्घटना हुने गरेर्का छ । अझ हेल्मेट नलगाई मोटरसाइकल चलाउदा यात्रा झन जोखिम हुने, मोटरसाइकल चलाउदा अनिवार्य हेल्मेट लगाउनु पर्ने भएपनि अधिकाँशले हेल्मेट प्रयोग गर्दैनन् ।’
उक्त अवधिमा भएका सवारी दुर्घटनामा ४ सय ६३ सवारी साधन परेका थिए । ती दुर्घटनामा २ सय ८८ वटा मोटरसाइकल परेको कार्यालयले जनाएको छ । सवैभन्दा बढी कात्तिक महिनामा मोटर साइकल चालक र सवार गरी १० जनाको मृत्यु भएको कार्यालयको अभिलेखले देखाएको छ । जस्मा ६१ वटा सवारी साधन दुर्घटना हँुदा ५० वटा त मोटरसाइकलमात्र छन् । कात्तिक महिनामा दशैं तिहारलगायतका ठूला चाडपर्व परेका कारण त्यो बढी दुर्घटना भएको प्रहरीको अनुमान छ । पौष महिनामा मोटर साइकल चालक र सवार गरी ९ जनाको मृत्यु भएको छ । जस्मा ४५ वटा सवारी साधन दुर्घटना हँुदा ३२ वटा त मोटरसाइकलमात्र छन् ।
भदौ र श्रावण महिनामा भएको मोटर साइकल दुर्घटनामा परी मृत्यु हुने त्यसमा सवार तथा चालकको संख्या ५÷५ जना रहेको छ । भदौंमा ५७ वटा सवारी साधन दुर्घटना हुँदा मोटरसाइकलको संख्या २७ र श्रावणमा ८७ वटा सवारी साधन दुर्घटना हुँदा मोटरसाइकलको संख्या ४९ रहेको कार्यालयले जनाएको छ । असोजमा २ मंसिरमा १, माघमा ३ र फागुनमा ४ जनाको मोटरसाइकल दुर्घटनामा परी निधन भएको छ । मोटरसाइकल दुर्घटनामा परी २ सय ५७ जना गम्भीर घाइते भएका छन् । ती सवै मोटरसाइकल चालक र त्यसमा सवार हुन् । त्यसै गरी ३ सय १६ जना सामानइ घाइते भएको प्रहरीसँग अभिलेख छ । अधिकांश मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुने गरेको छ । साँघुरो सडक, अत्याधिक सवारी चाप र तीव्र गतिका कारण दिनहुँ दुर्घटना हुने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । अझ प्रहरीको अनुपस्थित हुने क्षेत्रमा पुरै लापरवाही हुने गरेको छ । यस्तो समस्या ग्रामीणक्षेत्रका सडकमा धेरै रहेको प्रहरीको भनाई छ । चालक अनुमती पत्र बिना सवारी चलाउन नपाइने नियम भएपनि लाइसेन्स बिना सवारी साधन चलाएका घटना पनि प्रशस्त रहेका छन् । उनीहरु कारवाहीमा पर्ने गरेको प्रहरीको भनाई छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले ठाउँठाउँमा सवारी चेकजाँच, जनचेतनाका कार्यक्रमसँगै गति परीक्षणका लागि उपकरण मगाएर र विद्यालय–कलेजहरुका विद्यार्थीहरुलाई लक्षित गरी ट्राफिक जनचेतनाका कार्यक्रम पनि गर्दै आएको छ । मोटरसाईकल दुर्घटना भए शायदै मात्र मान्छे बाच्ने गरेको एक प्रहरी अधिकारी बताउँछन् ।जिल्लामा सवारी नियम उल्लंघन गर्नेमा पनि मोटरसाइकल नै रहेका छन् । कार्यालयले नियमित एवम् छड्के चेकजाँचका क्रममा सवारी साधनलाई कारवाही गर्नै गरेको छ।
सवारी साधनका आवश्यक कागजात नबोक्ने, क्षमता भन्दा बढि बोक्ने, जताभावी पार्किङ्ग गर्ने, हेल्मेट नलगाउने, डिजिटल हरन बजाउने मादक पदार्थ सेवन गरी सवारी चलाउने कारवाहीमा परेका हुन । सवारी चालकले गर्ने गल्तीको प्रकृति अनुसार जरीवाना गरिने कार्यालयले जनाएको छ । सवारी दुर्घटनामा कमि ल्याउन कार्यालयले बेला बखत जिल्लाका अलग अलग स्थानमा गरेको छड्के चेकजाँच गर्ने गर्दछ ।