२५ असार, मेचीनगर : कोशी प्रदेशमा चालु आर्थिक वर्ष २०८०/०८१ को साउन महिनादेखि आसर २३ गतेसम्म बाढी र पहिरोमा परेर २६ जनाको मृत्यु भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार यो अवधिमा ३ सय ९३ स्थानमा गएको पहिरो तथा बाढीका कारण उनीहरुले ज्यान गुमाएका हुन ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुचना अधिकारी प्रहरी नायव उपरीक्षक राप्रसाद तिमिल्सिनाका अनुसार प्रदेशका १४ वटा जिल्लाका विभिन्न ५९ ठाउँमा बाढीका कारण १८ र ३ सय ३४ ठाउँमा पहिरोमा परेर ८ जनाको मृत्यु भएको हो । पहिरोका कारण १४ र बाढीका कारण ३ गरी १७ जना घाइते भएका थिए । बाढीका कारण ३ वटा चौपाया मरेका छन् । पहिरो र बाढीका कारण १० करोड ९१ लाख ९५ हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरीएको छ ।
यो अवधिमा विभिन्न विपद्मा परेर प्रदेशभरिमा ६७ जनाको मृत्यु भएको कार्यालयको अभिलेखले देखाएको छ । १ सय ७८ जना घाइते भएका छन् । पहिरोमा परेर ८, बाढीका कारण १८, चटयाङ्का कारण ८, आगलागीका कारण २० र विभिन्न जंगली जनावारका कारण १३ गरी कुल ६७ जनाको मृत्यु भएको प्रहरीको अभिलेखले देखाएको छ । यस्ता विपद्मा परेकाहरुको उद्धारका लागि प्रदेशभरिमा १५ हजार २ सय १५ जना सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
५८ स्थानमा चटयाङ् पर्दा ८ जना मानिसकाृे मृत्यु र २९ जना घाइते भएको सुचना अधिकारी प्रहरी नायव उपरीक्षक तिमिल्सिनाले जानकारी दिनुभयो । यसैगरी, १ हजार ६ सय ९८ स्थानमा आग्लागीका घटना हुँदा २० जनाको मृत्यु भएको छ भने सोहि घटनामा परेर १ सय ३२ जना मानिस घाइते भएको कार्यालयको अभिलेखमा उल्लेख छ । विभिन्न जंगली जनावरको आक्रमणमा परी १३ जना मानिसको ज्यान गएको छ भने ५३ जना घाइते भएको कार्यालयको भनाई छ । अधिकाँशले हात्ती आक्रमणका कारण ज्यान गुमाएका छन् ।
प्रहरीका अनुसार ७ सय ३७ वटा घर बाढीका कारण प्रभावित भएका थिए । बाढी र पहिरोका कारणमात्र प्रदेशमा करीब १२ करोड २६ लाख १० हजार ५ सय रुपैयाँको क्षति भएको प्रहरीले अनुमान गरेको छ । बाढी र पहिरोका कारण १ सय ६३ वटा पशुपंक्षीको मृत्यु १० वटा घाइते भएको प्रहरीको भनाई छ । उद्धारका लागि १ हजार २ सय ९० जना प्रहरी परिचालन गरिएको थियो । उता चटयाङ्का कारण २८ वटा घरमा क्षति पुग्दा र २९ जना मानिस घाईते हुँदा र १ सय ३० वटा पशुपंक्षी मर्दा अनुमानित ९७ लाख ८९ हजार ३ सय रुपैयाँ बराबरको क्षति भएको छ । यसमा २ सय ४४ जना प्रहरी परिचालन गरिएको बताईएको थियो ।
आग्लागी घटनाका कारण ७ सय ४५ घर प्रभावित भएका छन् । ७ हजार ३ सय ५८ वटा पशुपंक्षीको मृत्यु र १ सय ८९ वटा घाईते हुँदा १ अर्ब ९ करोड ५८ लाख ६४ हजार ४ सय २५ रुपैयाँ बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ । यस घटनामा उद्धारका लागि ११ हजार ५६ जना प्रहरी परिचालन गरीएको थियो । विभिन्न जंगली जनावरले १ सय ५९ घरमा क्षति पुर्याउँदा १ करोड ५९ लाख ८५ हजार ६ सय ४० रुपैयाँको क्षति भएको छ । उद्धार तथा राहतका लागि १ हजार १ सय ८५ जना प्रहरी परिचालन गरीएको थियो । १ सय ८१ स्थानमा हावाहुरीका कारण ८ घरमा क्षति पुग्दा ६ जना मानिस र ६ जना पशुपंक्षी घाइते हुदाँ करीब ४ करोड ६६ लाख २५ हजार ३ सय रुपैयाँ क्षति भएको छ । हावाहुरीका कारण पीडितहरुको उद्धारका लागि ६ सय ९९ जना प्रहरी परिचालन गरीएको थियो ।

























