१५ भदौं, झापा : नेपालाई कृषि प्रधान देश भनिए पनि कृषिजन्य वस्तुको लागि परनिर्भर बन्नु परेको छ । अहिले हरेक नेपालीको भान्सामा पाक्ने दाल, चाम र तरकारीदेखि जाड बनाउने कोदोका लागि पनि नेपालले भारतकै मुख ताक्नु परेको छ ।
पूर्वी नाका काँकरभिट्टाबाट कृषिजन्य वस्तुहरु अलैंची, चिया, अदुवा र अम्रिसोको निर्यात बढिरहेका बेला फर्सी भारतबाट ठूलो मात्रामा आयात हुने गरेको सरकारी तथ्याङ्क छ ।
मेची भन्सार कार्यालय काँकरभिट्टाको अभिलेखले कृषिजन्य बस्तुको निर्यात बढेको तथा क्षेत्रीय प्लान्ट क्वारेन्टिन कार्यालय काँकरभिट्टाको अभिलेखले पूर्वी पहाडी जिल्लमा उत्पादन हुने फर्सीको भारतबाट ठूलो मात्रामा आयात हुने गरेको पुष्टि गर्दछ ।
अघिल्लो आर्थिक वर्ष २०७८/०७९ को तुलनामा आर्थिक वर्ष २०७९/०८० मा अलैचीको निर्यात ४२ प्रतिशतले बढेको वा ३ अर्ब ४७ करोड ७१ लाख २४ हजार मूल्य बराबरको अलैची निर्यात वृद्धि भएको अभिलेख भन्सार कार्यालयसँग सुरक्षित छ । तर, कोदो र फर्सी भने भारतबाट बर्षेनी ठुलो परिमाणमा आयात हुने गरेको छ ।
मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले आर्थिक वर्ष २०७९/०८० मा ८ अर्ब २४ करोड १५ लाख १३ हजार रुपैयाँ मूल्य बराबरको ९९ लाख ३१ हजार ५०४ केजी अलैची पूर्वी नाका भएर भारत निर्यात भएको जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७८/०७९ मा सोही अवधिमा ४ अर्ब ७६ लाख ४३ हजार ८९ हजार मूल्य बराबरको ५२ लाख ८० हजार ४४३ केजी अलैची भारत निकासी भएको बताउँदैँ उहाँले गत आवको तुलनामा आर्थिक वर्ष २०७९/०८० मा अलैचीको निर्यात ४२ प्रतिशतले बढेको वा तुलनात्मक रुपमा ३ अर्ब ४७ करोड ७१ लाख २४ हजार मूल्य बराबरको अलैची निर्यात वृद्धि भएको जानकारी दिनुभयो ।
उता क्षेत्रीय प्लान्ट क्वारेन्टाईन कार्यालय काँकरभिट्टाका अनुसार आर्थिक वर्ष २०७९/०८० मा भारतबाट ७ करोड ५७ लाख २८ हजार मूल्यको चार हजार ७ सय ३३ मेट्रिक टन फर्सी आयात भएको छ । कार्यालयका सूचना अधिकारी चण्डेश्वर ठाकुरले यो अवधिमा फर्सी मात्र नभएर कोदो, फापर, खुर्सानी, घिरौला, लौका, करेला, तरुल, भिन्डी, सिमीलगायतका भान्सामा उपभोग हुने खाद्य बस्तु अपत्यारिलो मात्रामा भारतबाट आयात हुने गरेको स्पष्ट पार्नुभयो । आव २०७९/०८० मा पूर्वी नाका भएर ५१ करोड ३१ लाख २० हजार मूल्य बराबरको १६ हजार ३५ मेट्रिक टन कोदो भारतबाट आयात हुदाँ एक वर्षमा १९ करोड ८३ लाख ८४ हजार मूल्य बराबरको १२ हजार ३ सय ९९ मेट्रिक टन हरियो खुर्सानी भारतबाट भित्रिएको छ ।
सोही अवधिमा ३१ करोड ९८ लाख आठ हजार मूल्य बराबरको १९ हजार ९ सय ८८ मेट्रिक टन करेला, १८ करोड ७४ लाख ७२ हजार मूल्य बराबरको ११ हजार ७ सय १७ मेट्रिक टन भिन्डी र ८ करोड ९६ लाख ८० हजार मूल्य बराबरको ५ हजार ६ सय ५ मेट्रिक टन सिमी भारतबाट काँकरभिट्टानाका हुँदै आयात भएको कार्यालयको अभिलेखले देखाएको छ ।
आर्थिक वर्ष २०७९/०८० मा ३ अर्ब ४२ करोड ६९ लाख ५२ हजार मूल्य बराबरको १ करोड ६० लाख ७८ हजार ६३ केजी चिया निर्यात भएको थियो । गत आवको तुलनामा आर्थिक वर्ष २०७९/०८० मा तयारी चियाको निर्यात १६ प्रतिशतले वृद्धि भएको प्रमुख भन्सार अधिकृत रेग्मीले बताउनुभयो । यसैगरी, काँकरभिट्टान नाका भएर हुने चियाको निर्यात समेत वृद्धि भएको छ । ‘अघिल्लो वर्षको तुलनामा ५५ करोड २३ लाख ४२ हजार मूल्य बराबरको चिया निर्यात वृद्धि भएको छ’ प्रमुख भन्सार अधिकृत रेग्मीले भन्नुभयो—‘आर्थिक वर्ष २०७८/०७९ मा २ अर्ब ८७ करोड ४६ लाख १० हजार मूल्य बराबरको १ करोड १७ लाख १३ हजार ६ सय ५९ केजी चिया निर्यात भएको थियो ।’
आर्थिक वर्ष २०७९/०८० मा ६३ करोड ९२ लाख २९ हजार मूल्य बराबरको एक करोड ५५ लाख ४२ हजार ९ सय ३० केजी अदुवा र ८६ करोड ४३ लाख मूल्य बराबरको १ करोड १९ लाख ७३ हजार ९८० केजी अम्रिसो भारततर्फ निकासी भएको छ । यसले पूर्वीनाका भएर हुने अदुवा र अम्रिसोको निर्यात समेत बढेको स्पष्ट हुन्छ ।
अघिल्लो वर्षको तुलनामा ३० करोड २३ लाख ६ हजार मूल्य बराबरको अदुवा तथा ३३ करोड ६९ लाख २३ हजार मूल्य बराबरको १ करोड ४ लाख ५८ हजार ७० केजी अदुवा निर्यात भएको थियो । अदुवाको निर्यात ४७ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/०८० मा ८६ करोड ४३ लाख मूल्य बराबरको एक करोड १९ लाख ७३ हजार ९ सय ८० केजी अम्रिसो भारततर्फ निकासी भएको छ । अम्रिसोको निर्यात २७ प्रतिशतले वृद्धि भएको छ ।
प्रमुख भन्सार अधिकृत रेग्मीका अनुसार अघिल्लो बर्षको तुलनामा २३ करोड ५३ लाख १९ हजार मूल्य बराबरको अम्रिसो निर्यात वृद्धि भएको छ भने ६२ करोड ८९ लाख ८१ हजार मूल्य बराबरको १ करोड २४ लाख ४३ हजार २४५ केजी अदुवा निर्यात भएको थियो । पूर्वीनाका काँकडभिट्टाबाट एक वर्षमा ६ अर्ब २९ करोड ९१ लाख ४९ हजारको तरकारी र फलफूल आयात भएको थियो । जसमा ३ अर्ब ३५ करोड ९ लाख ८१ हजार मूल्यको ताजा तरकारी र २ अर्ब ९४ करोड ८१ लाख ६८ हजार मूल्यको फलफूल आयात भएको क्वारेन्टिन कार्यालयको तथ्यांकले देखाएको छ ।