८ जेठ, मेचीनगर : मेचीनगर नगरपालिकाले जडीबुटी जन्य कन्दमुल सिमल तरुल बालीको विकास प्रवद्र्धन तथा संरक्षणमा विशेष जोड दिँदै सबै कृषकहरुलाई खेती गर्न आग्रह गरेको छ । बहुउपयोगी सिमल तरुलको उपयोगिता, महत्व तथा उद्योग र खेतीका बारेमा नगरपालिकाले यसका विज्ञसँग नगरका कृषक, कृषिसँग सम्बन्धित संघ संस्था सहकारीका प्रमुख प्रतिनिधि, जनप्रतिनिधिहरुलाई राखेर छलफल शुरु गरेको छ ।
दुईमहिना अघि नगपालिकाले जनप्रतिनिधि, कृषिक्षेत्रका सहकारी संस्था, कृषक समूहको उपस्थितिमा सिमल तरुलको व्यवसायिक उत्पादनका विषयमा विषय विज्ञ डाक्टर डा. बद्रीप्रकाश ओझाको सहजीकरणमा छलफल गरेको थियो । सोहि क्रममा मंगलबार समेत नगरपालिकाको सभाहलमा यहि विषयमा छलफल तथा अन्तरक्रिया गरेको छ ।
त्यस्तै, आइसक्रिम र ससेजमा पनि सिमल तरुलको पिठो हालिने भएपनि यो अर्कै कुनै नामले आयात हुने सायद कच्चा मासु वा आइसक्रिमको कच्चा पदार्थ भनेर आउँने भएकाले यसको भन्सारमा कुनै अभिलेख नभेटिने उहाँको प्रस्तुतीकरणले स्पष्ट हुन्छ । सिमल तरुल खासगरी सुक्खा र बन्जर जमिनमा खेती हुने भएकाले पूर्वका थुप्रै ठाउँमा यसको खेती हुँदै आएको बताईएको छ । नेपालको झापा मोरङ सुनसरी उदयपुर इलाम सर्लाही सिन्धुली धनुषा चितवन नवलपरासी दाङ बर्दिया कैलाली र कञ्चनपुर लगायत जिल्लामा खेती गरिदै आएका कारण पनि नेपालमा सिमल तरुल प्रशोधन उद्योग स्थापनाको डाक्टर ओझाले आवश्यकता औल्याउँनुभयो । नेपालमा प्रतिहेक्टर १५ टनसम्म उत्पादन भएको पाइन्छ । नेपालमा पुरानो बिउको प्रयोग, यसलाई त्यति वास्ता नगर्ने, मलजलको उचित व्यवस्थापन नभएका कारण कम उत्पादन भएको किसानहरुको अनुभव छ ।
अमेरिकी खाद्य तथा औषधी प्रशासनका अनुसार ३५ ग्राम सिमल तरुलमा ३१ ग्राम कार्बोहाइड्रेट पाइन्छ । दुई ग्राम रेसा पाइन्छ भने पोटासियम र क्याल्सियम क्रमशः हामीलाई दैनिक चाहिने मात्रामध्ये दुई र डेढ प्रतिशत पाइने उहाँको भनाई छ । ३५ ग्राम सिमल तरुलमा एक सय ३० क्यालोरी पाईने र सिमल तरुललाई भिटामिन सी र ईको राम्रो स्रोत मानिन्छ । यसमा प्रोटिन र फ्याट शून्य रहेकाले जुनसुकै स्वास्थ्य समस्या भएका मानिसले पनि सिमल तरुल खान मिल्छ ।
सिमल तरुल पोर्चुगल हँुदै १६ औ शताब्दीमा अफ्रिकन मुलुक र १७ औं शताब्दीमा भारतमा यो बाली भित्रएको अनुमान गरिएको छ । नेपालमा सिमल तरुल खेती सन १९६० को दशकतिर प्रवेश गरेको इतिहास छ । यो पहिलो विश्वयुद्धमा नेपालसम्म आइपुगेको विश्वास गरिन्छ । डाक्टर ओझाले आफुले अनुसन्धान गरे अनुसार इलामको चुलाचुली गाउँपालिकामा २०२४ सालमा एकजना लिम्बु वृद्धाले सिक्किमबाट नेपाल आउँदा एउटा लौरो टेकेर ल्याइएकी र उक्त लौरो इलामको पेल्टिमारीस्थित आफ्नो घरमा पुगेपछि यसै फालिदिइन् । पछि पुरिएर एक किसिमको सिमल जस्तो बिरुवा उम्रियो । अर्को वर्ष झन् ठूलो झाङ भयो । मानिसले उखेलेर हेर्दा तरुलजस्तो जरा भेटियो । खान मिल्ने हो कि होइन भनेर त्यत्तिकै फालिदिए । फेरि उम्रियो र ती महिलाको घरमा फैलियो । एक दुई वर्षपछि फेरि सिक्किमका आफन्तकोमा गएका बेला सिमल तरुलबारे छलफल भएपछि यो चिज खान मिल्ने जानकारी भयो । त्यसपछि पेल्टिमारीमा यो कन्दमूल फैलिएको इतिहास छ । हुनसक्छ, सोही स्थानबाट अन्य भागमा फैलियो ।
मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले कार्यक्रमको अध्यक्षता गर्दै सहभागी सवैलाई स्वागतसहित धन्यवाद समेत ज्ञापन गर्नुभयो । उहाँले सिमल तरुलको खेतीलाई बिस्तार गर्न सके मेचीनगर नगरपालिका क्षेत्रका कृषकहरु लाभान्वित हुने कुरामा आफू विश्वस्त रहेको बताउँनुभयो ।
नगर उपप्रमुख मीना पोखरेल उप्रेती, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीलगायतको उपस्थितिमा सम्पन्न छलफल तथा अन्तरक्रियामा मेचीनगर वडानम्बर ४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, नेपाल बहुउद्धेश्यीय सहकारी संस्था लि ‐एनएमसी) का प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेती, मेची कृषक बहुमखी सहकारी संस्थाका उपाध्यक्ष दुर्गाप्रसाद सापकोटा, विष्णु गौतम, फाल्गुणीकुमार दाहाल एकेन्द्र उप्रेतीलगायतले विभिन्न जिज्ञाशा राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अन्नतप्रकाश वस्तीले गर्नुभएको थियो ।